गण्डकी

राज्यका सबै अंगहरूमाथि प्रश्नचिन्ह उठ्‍यो : पौडेल

इकागज |
कात्तिक १५, २०७८ सोमबार १३:५७ बजे

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले राज्यका सबै अंगहरूमाथि प्रश्नचिन्ह उठेको बताएका छन् । सोमबार नेपाल प्रेस युनियन धनुषाले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता पौडेलले राज्यका सबै अंगहरूमाथि प्रश्नचिन्ह खडा भएको बताएका हुन् ।

संसद्‌‌ संवैधानिक निकाय, अदालत र राजनीतिक पार्टीहरूले आफ्नो भूमिका प्रभावकारी रुपमा खेल्न नसकेको उनले बताए । राजनीतिक पार्टीहरू जनताको भरोसाको केन्द्र भएपनि पार्टीहरूले आफ्नो भूमिकालाई प्रभावकारी बनाउन नसकेको उनको भनाई छ । उनले कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउन तथा प्रजातन्त्रको दरिलो सम्वाहक बनाउन आफु लागि पर्ने पनि बताउनुभयो । देशमा पार्टी व्यवस्थित रुपमा चल्नुपर्ने, संवैधानिक निकायहरू व्यवस्थित रुपमा चल्नुपर्ने र अदालत पनि मर्यादामा रहनुपर्ने उनले बताए ।


‘आज संसद्‌ चल्न नसकेर अस्ति भर्खरै संसद्‌ स्थगित भएको छ । अदालतको त्यो अवस्था छ । अरु संवैधानिक निकायहरू त्यस्तै हालतमा छन् । राजनीतिक पार्टीहरूको त्यो हालत छ । आज राजतन्त्र गइसकेपछि राजनीतिक पार्टीहरू नै नेपाली जनताको भरोसाको केन्द्र हुन् । तर राजनीतिक पार्टीहरूको अवस्था के छ ? कम्युनिष्ट पार्टीको हालत हामीले देखिहाल्यौँ । त्यत्रो दुई तिहाइ बहुमत ल्याएर पनि त्यो चकनाचुर भएर गइराखेको छ' उनले भने । 

'नेपाली कांग्रेसले पनि जुन किसिमको भूमिका निर्वाह गर्नुपर्ने हो त्यो नसकेकोमा म आफैँ पनि स्वीकार गर्छु । नेपाली जनतालाई भरोसाको केन्द्र बन्ने भूमिका कांग्रेसले अझैपनि निर्वाह गर्न सकिरहेको छैन । त्यो नसकेको कुरा मलाई चिन्ता छ । म कांग्रेसलाई कसरी नेपाली जनताको भरोसाको केन्द्र बनाउने, कसरी यो प्रजातन्त्रको दरिलो सम्वाहक बनाउने, कसरी लोकतन्त्रलाई मजबुद गराएर लोकतन्त्रको वारेस कांग्रेसलाई बनाएर र यो मुलुकमा लोकतन्त्रलाई सुनिश्चित गर्ने' उनले भने 'यसका संस्थाहरू त्यही अनुसार फङ्सनमा आउनुपर्‍यो । पार्टीको सञ्चालन, अधिवेशनहरू व्यवस्थित रुपले चलेको हुनुपर्‍यो । देशको संवैधानिक निकायहरू व्यवस्थित रुपले चलेको हुनुपर्‍यो । राज्यसत्ता सिस्टममा चलेको हुनुपर्‍यो । देशको अदालत एउटा मर्यादामा रहेको हुनुपर्‍यो । आज यि सबै कुराहरूमा कहिँ न कहिँ प्रश्न उठिरहेको अवस्था छ ।’

वरिष्ठ नेता पौडेलले आफुले अहिले लोकतन्त्रको एजेण्डालाई बोकेर हिडेको बताए । वर्तमान समयमा आर्थिक विकास र सामाजिक विकासको बाटोमा जानुपर्ने आवश्यकता रहेको भएपनि राजनीतिक मुद्दामै अल्मल्लिनु परेको भन्दै उनले प्राप्त राजनीतिक परिवर्तन र व्यवस्थालाई सुनिश्चिता दिनका लागि काम गर्नुपर्ने उनले बताए ।

‘मेरो एजेण्डा नै लोकतन्त्र हो । अहिले मेरो एजेण्डा नै लोकतन्त्र हो । फेरीपनि लोकतन्त्र एजेण्डा बनाउनुपर्नुमा यसमा मलाई दुख छ । किनभने लोकतन्त्रको एजेण्डाको मुद्दालाई छिनोफानो गरेर त्यसलाई एउटा सुनिश्चिततामा गयौँ भनेर अब हामी आर्थिक विकास र सामाजिक विकासको बाटोमा जानुपर्ने थियो' उनले भने 'हामी अझैपनि राजनीतिक कुराकै टुंगोमा अल्मल्लिनुपर्ने यो दु:खद कुरा हो । तरपनि अब यसमा हिम्मत हार्नु हुँदैन । हामी राजनीतिक व्यवस्थाको छिनोफानो भइसकेको कुरालाई सुनिश्चितता, यो आएको परिवर्तनलाई जोगाउने काम, आएको परिवर्तन र आएको व्यवस्था, यो व्यवस्थालाई सुनिश्चितता दिने काममा अहिले हामीले काम गर्नुपरेको छ ।’

उनले नेपालको व्यवस्था अस्थिर हुनाको बिडम्बना नेपालले भोगिरहेको बताए । वर्तमान राजनीतिक प्रणाली र व्यवस्थालाई संस्थागत गर्नुपर्नेमा उनको जोड छ ।


Author

थप समाचार
x