गण्डकी

दाहाललाई चुनाव जितेर प्रधानमन्त्री बन्‍न रायमाझीको चुनौति

इकागज |
पुस ८, २०७७ बुधबार २१:१४ बजे

पोखरा : नेकपा ओली समूहका नेता टोपबहादुर रायमाझीले पुष्पकमल दाहाललाई चुनाव जितेर प्रधानमन्त्री बन्‍न चुनौति दिएका छन् । दाहाल जनताको मत लिन डराएको भन्दै रायमाझीको आरोप छ । 

बुधबार गण्डकी प्रदेशबाट मनोनित नेकपा केन्द्रीय सदस्यको भेलामा रायमाझीले यस्तो बताएका हुन् । ‘जनादेशमा जाने कुरामा उहाँहरू किन डराएको ? जनतामा किन विश्वास नगरेको ? जनताको मत जितेर प्रधानमन्त्री बन्‍ने आँट गर्नुहोस् कमरेड प्रचण्ड,’ उनले भने ।


नेकपा प्रचण्ड-माधव पक्षले माधव कुमार नेपाललाई अध्यक्ष बनाएको प्रति उनले कटाक्ष व्यक्त गरे । ओलीलाई अध्यक्षबाट हटाएर महाधिवेशनमा ओलीसँगै पराजित भएका नेतालाई अध्यक्ष बनाइनु हाँस्यास्पद रहेको उनको भनाइ छ । ‘विधि र पध्दतिको कुरा गर्ने माधव नेपाललाई अध्यक्ष हुन किन अप्ठ्यारो नलागेको ?’ उनले भने ।

आफ्नो स्वार्थका लागि हरेक ठाउँमा अस्तव्यस्तता सिर्जना गर्नु दाहालको पुरानो रोग भएको उनको भनाइ छ । ‘हरेक ठाउँमा भद्रगोल गर्नु प्रचण्डको रोग नै हो, त्यो त हामी भोगेर र व्यहोरेर आएको हो,’ उनले भने, ‘प्रधानमन्त्री ओलीज्युलाई पनि उनको भद्रगोल व्यवहारकै कारण जनादेशमा जानुको विकल्प थिएन, अन्यथा मुलुक अराजकतामा जाने थियो ।’ 

गण्डकी प्रदेशका मुख्यमन्त्री स्थायी कमिटि सदस्य पृथ्वीसुब्बा गुरुङले सबै नेताहरूले ओलीलाई विश्वास गर्नुपर्ने बताए । ओलीले देश विकासको खाका तयार गरेकाले उनको विश्वास गर्नुपर्ने उनको तर्क थियो । ‘सुखी नेपाली, समृध्द नेपालको स्पष्ट नीति, खाका र दृष्टिकोणकासाथ अगाडि बढेको राजनेतालाई विश्वासका साथ लागौँ,’ उनले भने । समृद्धि, लोकतन्त्र र राष्ट्रवादको नायक केपि ओली नै भएको भन्दै उनकै नेतृत्वमा देशको सपना पुरा हुने उनको विश्वास थियो । 

आफ्नै पार्टीको नेतृत्वको सरकार विरुध्दमा अविश्वासको प्रस्ताव लैजाने षडयन्त्रकारीहरुको योजना असफल भएको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बताए । 

नेता खगराज अधिकारीले आफूहरुले दुइतिहाई बहुमत ल्याउने र जनताले दाहाल–माधव समुहलाई आफ्नो मतद्वारा सजाय दिने विश्वास प्रकट गरे । नेकपा गण्डकी प्रदेशवाट प्रतिनिधित्व गर्ने पुराना र नयाँ मनोनित केन्द्रीय सदस्यहरूको विशेष भेला काठमाडौंमा भएको थियो । भेलाको अध्यक्षता युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले गरेका थिए । भेलामा भूमि व्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्री पद्मा अर्यालले स्वागत मन्तव्य राखेकी थिइन् । 


Author

थप समाचार
x