गण्डकी

प्रदेशमा मुख्यमन्त्रीको आह्वान

‘संघको सिको होइन, सहकार्य गरौं’

अनिष भट्टराई |
पुस ११, २०७७ शनिवार ७:२७ बजे

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा सहकार्यको सरकार चलाउन आह्वान गरेका छन् । नेकपा दुई समूहमा विभाजित भइसकेको अवस्थामा मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशमा सहकार्यको सरकार चलाउन विपक्षी समूहसँग आग्रह गरेका हुन् । अहिले बहकिने बेला नभएको भन्दै प्रदेशले आफ्नो विकास रोकिने गरी संघको सिको गर्न उनको भनाइ छ । 

राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशले आयोजना गरेको प्रदेश स्तरीय युवा भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले सहकार्यका लागि आह्वान गरेका हुन् । ‘संघले जे सुकै गरे पनि हामी त्यस्तो नगरौं । यही नेकपामै रहेर प्रदेश सरकारलाई अघि बढाऔं,’ उनले भने ।


गुरुङले संस्थापन पक्षको भन्ने वैधानिक लडाईमा आफ्नो समूहको पल्लाभारी हुने दाबी गरे । गुरुङले वैधानिकताको लडाइँमा आफूहरूको पल्लाभारी हुनेबित्तिकै विपक्षी समूहको भकारी रित्तिने बताए । ‘कानुनी रुपमा हामी संस्थापन पक्ष हौं । दोस्रो अध्यक्षले नेतृत्व गरेको पार्टी मुलपार्टी बन्न सक्दैन,’ मुख्यमन्त्री गुरुङले भने, ‘कुन पार्टी मुलधारको भन्ने वैधानिक लडाइँमा हाम्रो पल्लाभारी हुन्छ । हामीले सूर्य चिह्न पाउनेबित्तिकै उताको भकारी रित्तिन्छ ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले जनमतका लागि निर्वाचनमा जानु सबैभन्दा लोकतान्त्रिक र संवैधानिक भएको बताए । सरकारले पाएको जनादेश अनुसार काम गर्न नपाएपछि जनतामा जानु लोकतान्त्रिक भएको जिकिर गरे । ‘काम गर्न नपाएपछि संसद विघटन गरेर जनतामा जाने काम संसारको सबैभन्दा लोकतान्त्रिक र संवैधानिक हो,’ उनले भने, ‘विश्वको संसदीय शासन प्रणाली अनुसार काम गर्न नपाएपछि जनतामा जानुको विकल्प थिएन ।’

सदन विघटनलाई असंवैधानिक भन्नेहरू ‘स्वघोषित संविधानविद्’ भएको उनको भनाइ थियो । प्रधानमन्त्री ओली काम गर्न नपाएपछि जनतामा गएर संसदीय शासन प्रणलीमा चलेको उनको जिकिर थियो । ‘सरकारलाई जुन रुपले घेराबन्दी गरियो, संसदीय दललाई नेतलाई थाहै नदिई जस्केलाबाट अविश्वासको प्रस्ताव लानेकै कारण प्रधामन्त्रीले त्यसो गर्नुभयो,’ उनले भने ।

‘प्रतिनिधि सभा विघटन गरेर राजालाई बुझाएको होइन, नेपाली सेनाको जर्नेललाई बुझाएर सैनिक शासन लागु गर भनेको कदापि होइन,’उनले भने, ‘सरकार बनाउने जिम्मा सार्वभौम जनतालाई दिइएको हो ।’ दाहाल समूहले जनादेश अनुसार प्रधानमन्त्रीलाई काम गर्न नदिएर जनादेशको अपमान गरेको उनको जिकिर छ ।

पार्टीको विधानमा बहुमत, अल्पमत नभई सहमतिको आधारमा काम गर्ने व्यवस्था राखिए पनि दाहाल समूहले विधान मिचेर बहुमत, अल्पमतको कुरा ल्याएको गुरुङको भनाइ थियो । ‘हामी विधान अनुसार नै चलेका छौं, विधान मिचेको उहाँहरूले हो’ उनले भने ।  नेपाली कम्युनिस्ट इतिहासको एक्लो नेता ओली भएको गुरुङको भनाइ छ । चीनको कम्युनिस्ट आन्दोलनलाई माओत्सेतुङले नेतृत्व गरेको र त्यसलाई देङ साओ पिङले अगाडि बढाएको सन्दर्भ जोड्दै गुरुङले ओलीले नेपाली कम्युनिस्ट आन्दोलनको अगुवाइ गरेको बताए । ‘नेपाली देङ साओ पिङ ओली हुन्, माओ र पिङले गरेको काम ओलीले गरेका छन्,’ गुरुङको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले नेतृत्व हस्तान्तरणको क्रम सुरु गरे पनि ‘खान पल्केका’ले विरोध गरेको मुख्यमन्त्री गुरुङको भनाइ थियो । ‘घुमीघुमी बाँडीचुँडी खान पल्केकाले नेतृत्व हस्तान्तरणको कुरा किन मान्थे ?,’ गुरुङले भने । दाहाल समूहका नेताहरू कसैको भुमरीमा परेको उनको भनाइ छ । ‘भुमरीमा पानी परेझैं, उहाँहरू कसको भुमरीमा परेर यस्तो गर्नु भएको हो ?,’ उनको प्रश्न थियो ।

ओलीले नेतृत्व गरेको सिंगो कम्युनिस्ट आन्दोलनमा जनताको समर्थन रहेको उल्लेख गर्दै उनले नेता ओलीको देशभक्तिपूर्ण आन्दोलनमा जनताको साथ रहेको दाबी गरे । उनले पार्टीले थालेका अभियान र धरातल बलियो भएकाले निर्वाचनमा जित सुनिश्चित भएको उल्लेख गरे । विगतको समीक्षा गर्नुभन्दा युद्ध जित्ने अभियान थाल्न निर्देशन दिँदै उच्च मनोबलका साथ जनतामा जान युवालाई आग्रह गरे ।

निवर्तमान प्रतिनिधि सभा सदस्य खगराज अधिकारीले प्रदेशमा अस्थिरता निम्त्याइए नयाँ ‘फेस’ ल्याइने बताएका छन् । शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको सन्दर्भ जोड्दै उनले प्रदेश सभाहरू विघटना हुन सक्ने आशय प्रकट गरे । उनले भने, ‘उनीहरू (दाहाल–नेपाल पक्ष) ले के बुझ्नुपर्छ भने प्रदेशमा पनि अस्थिरता निम्त्याउन खोजियो भने हामी प्रदेशमा पनि नयाँ फेस ल्याउन सक्छौं, एकैपटक संघ र प्रदेशको निर्वाचनमा जान सक्छौं ।’

दाहाल–नेपाल समूहले सूर्यको फन्को मारे पनि सरकार बनाउन नसक्ने बताए । प्रधानमन्त्री ओलीइतर समूहले माक्र्सवादको सिद्धान्तलाई भुलेको उनको आरोप थियो । माक्र्सवादीका रुपमा दाहाल–नेपाल समूहले पद, पैसा र परिवारका लागि आफ्ना सिद्धान्त त्यागेको उनले उल्लेख गरे । ‘माक्र्सवादले फुटको विरोध गर्छ, राष्ट्रिय एकताको पक्षपोषण गर्छ, तर उहाँहरू भने आफ्नो सिद्धान्त छाड्नुभो,’ उनले थपे, ‘आफ्नो पद, पैसा र परिवारका लागि सिद्धान्त त्याग्ने कहिल्यै माक्र्सवादी बन्न सक्दैन ।’

अहिले पार्टीमा आफूहरूको पक्षमा केही व्यक्ति कम भए पनि विचारको कमी नभएको उनको भनाइ थियो । ‘हामी मदन भण्डारी, पुष्पलाल, निरंजन गोविन्दबाट प्रशिक्षित छौं, हाम्रो संख्या कम होला तर विचार कम छैन, हामी विचारले धनी छौं,’ उनले जोडे । अहिले पार्टी फुट्यो भन्ने हल्ला गरिए पनि पार्टी फुटेको नभई गलत प्रवृत्तिहरू बाटामा छुटेको उनको धारणा थियो । अब कम्युनिस्टहरू गलत चिन्तन र प्रवृत्तिसँग जुधेर नयाँ विचार बनाउने मार्गमा रहेको उनको जोड थियो । 
अधिकारीले विपक्षी समूहलाई बेलैमा चुनावी गतिविधिमा लाग्न सुझाए । ‘हारेपछि चिटिङ भो, भन्नुभन्दा बेलैमा चुनावको तयारीमा लाग्नुहोस्, बरु चुनाव जितेर प्रधानमन्त्री बन्नुहोस्,’ उनले थपे, ‘डमी दलको नेता बन्नुभन्दा चुनाव जितेर नेता बन्नुहोस् ।’

प्रधामन्त्री ओली नेतृत्वको सरकारले गुमेका नेपाली भूमागलाई नक्सामा अंकित गरेर  विदेशीलाई राष्ट्रियता देखाएको उनको तर्क थियो । यदि ओलीको सट्टा अरु नेता भएको भए नाकाबन्दीमै घुँडा टेक्ने बताए । शुक्रबार माइतीघर मण्डलामा दाहाल–नेपाल समूहका नेताले विरोध गरेकोमा कटाक्ष व्यक्त गरे । ‘अरु भएको भए पहिल्यै घुँडा टेकिसक्थे, विदेशीको भरमा चल्नेले किसानसँग अंकमाल गर्नेलाई टक्कर नदिए हुन्छ,’ उनले भने, ‘माइतिघर मण्डलामा पलेटी कस्नेले बुझ्नुस्, केपी ओली राजनेता हो ।’

अधिकारीले माधवकुमार नेपालले देशलाई घात गरेको आरोप लगाए । उनी विधि विधानलाई मान्ने भए महाधिवेशनबाटै ओलीलाई हटाउन सक्नेभए पनि तिकड्म गरेर अहिले हटाउन खोजेको बताए । प्रधानमन्त्री ओलीले आफ्नो सम्पत्ति राष्ट्रियकरण गरेको भन्दै माधव नेपाललाई आफ्नो सम्पत्ति राष्ट्रियकरण गर्न चुनौती दिए । ‘कोटेश्वरको घरको मोह छाडेर के तपाइँले आफ्नो सम्पत्ति राष्ट्रियकरण गर्न सक्नुहुन्छ ?’ उनले प्रश्न गरे । 

नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले अख्तियारका नवनियुक्त प्रमुख प्रेम राईलाई भ्रष्टाचारमा मुछिएका सबैलाई जेल हाल्न ‘खुट्टा नकमाउन’ सुझाएका छन् । अख्तियार, सेनामा आफ्नो मान्छे राख्नुपर्ने लबिङ गर्नेमाथि विशेष नजर राखेर कारागारमा पु-याउन अब आँट गर्नुपर्ने उनको भनाइ थियो । ‘अख्तियारमा, सेनामा आफ्नो मान्छे कसले खोज्छ ? जसले गलत गरेको होस् । त्यस्तालाई खुट्टा नकमाइ जेल कोच्नुस्, युवाको साथ रहनेछ,’ उनले भने ।

अहिले ओली सरकारले अख्तियारका पूर्वप्रमुख दीप बस्नेत, पूर्वसांसद विजयकुमार गच्छदार, सुन काण्डका दोषीलाई कार्वाही गर्ने हिम्मत गरेको बताए । ओम्नी प्रकरणमा प्रधानमन्त्रीलाई जोडिनु असान्दर्भिक भन्दै उनले भ्रष्टाचारीलाई ओलीले नै कार्वाही गरेको बताए । विदेशीको शक्ति लगाएर प्रचण्ड, गच्छदारले चुनाव जित्ने सामथ्र्य राखे पनि उनीहरूमाथि कार्वाही हुनुपर्ने उनको भनाइ थियो ।

बस्नेतले दाहाल–नेपला पक्ष विदेशीको इशारामा चलेको आरोप लगाए । प्रचण्डकै कारण नेपालको विकास २ दशक पछाडि सरेको र अहिले उनले पार्टीमा गुटबन्दी गरेर विदेशीको इशारामा चल्न खोजेको उनको आरोप थियो । ‘उहाँहरूका कारण नेपाल्ी विकास २ दशक पछि पर्योे, अहिले विदेशीसँग मिलेर नेपाली लोकतन्त्रमाथि बम विष्फोट गर्न खोज्नुभएको छ, त्यसलाई केपी ओलीले रोकेका छन्,’ उनको भनाइ थियो । 

नेकपा एमाले सिद्धार्थ गौतम र नेकपा गौतम बुद्ध भएको भन्दै दुवै भन्नुनै एक रहेको उनले बताए । उनले नेकपा एमालेको तत्कालिन पार्टी कार्यालय बल्खु र चुनाव चिह्न सूर्यमा नजर नलगाउन धम्की दिए । ‘कार्की व्याङ्क्विट नै तपाइँहरूको ठाउँ हो, बल्खु, सूर्य चिह्नमाथि नजर नलगाउनु्,’ उनले भने । प्रधानमन्त्री ओलीले प्रचण्डलाई कार्वाही गरेको एक दिनमै उनीहरू सडक झरेको भन्दै व्यङग्य गरे । माइतीघर मण्डलामा प्रचण्ड, माधव नेपाल लगायतका नेता बसेको भन्दै उनले भने, ‘१ दिनमै सडकमा झर्नुभएछ, अब सडकछाप अध्यक्ष, प्रधानमन्त्री, राष्ट्रपति बन्नुहोस्’ उनले भने । ‘सडकमा हात्ति नहिँड्दा कुकर भुकेको’ भन्दै उनले आफूहरुको शक्ति प्रदर्शन पनि गरेको बताए ।

ओलीलाई अलोकप्रिय भन्नेहरूले चुनावमार्फत आफ्नो लोकप्रियता देखाउन सक्नुपर्ने उनको तर्क थियो । ‘हसिँया हतौडा लिएर लोकप्रियता देखाउनुहोस्, चुनौती छ,’ उनले भने । बिहीबार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधामन्त्री ओलीलाई तनहुँ आएर चुनाव लड्न दिएको चुनौतीलाई उनले हाँस्यास्पद रहेको बताए । ‘कस्ता कस्ता कता गए, मुसाका छोरा दरबार भनेझैं १७ पटक हारेर पनि अझै मै हुँ भन्ने ?’ उनले भने । 

भेलामा युवा संघका पूर्वनेताहरूले अब प्रचण्डलगायतका नेता जेल चलान हुने बेला आएको बताए । युवा संघका पूर्वकेन्द्रीय सचिव बच्चन सिंहले प्रचण्ड अब जेल जानुपर्ने बेला आएको बताए । ‘जनता, देशलाई घात गर्ने उहाँलाई अब जेल कोच्नुपर्छ,’ उनले भने ।

यस्तै युवा संघको पूर्वउपाध्यक्ष माधव बाँस्तोलाले प्रचण्ड, माधव लगायतका नेताले आफूलाई चिनाउनु पर्ने बेला आएको भन्दै कटाक्ष गरे । ‘आज यता छौं भन्दै जानुभो, तपाइँहरूको अन्तिम गन्तव्य जेल हो,’ उनले भने, ‘कन्डक्टरले गाडीको फलाम समातेर दुर्घटनाबाट जोगाएँ भन्नु र माधव कमरेडले पार्टी बचाएँ भन्नु एकै हो ।’ भेलामा गण्डकी प्रदेश सभा सदस्य राजीव पहारी, नेकपा कास्कीका अध्यक्ष कृष्ण थापा, राष्ट्रिय रमेश पौडेल लगायतका नेता बोलेका थिए ।


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x