गण्डकी

विकास खर्च ९० प्रतिशत पुग्छ : मुख्यमन्त्री गुरुङ

बजेट खर्चमा सुस्त गति लिएको कांग्रेसको टिप्पणी

इकागज |
पुस २१, २०७७ मंगलबार १९:२९ बजे

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको विकास खर्च बढ्ने दाबी गरेका छन् । प्रदेश सभाको विशेष अधिवेशनमा बोल्दै मुख्यमन्त्री गुरुङले प्रदेशमा यो वर्ष ९० प्रतिशतसम्म पुँजीगत खर्च बढ्ने बताएका हुन् ।

कोरोना महामारीमा पनि अरु प्रदेशको तुलनामा गण्डकीले उल्लेख्य आर्थिक बृध्दिदर हासिल गरेको उनको भनाइ थियो । ‘यो वर्ष हाम्रो पुँजीगत खर्च ९० प्रतिशतसम्म पुग्‍ने अर्थ मन्त्रालयको अनुमान छ,  कोभिडमा पनि अरु भन्दा हाम्रो आर्थिक बृध्दिदर उल्लेख्य छ,’ उनले भने । 


अर्थ मन्त्रालयले ल्याएको एकीकृत कार्यविधी अनुसार चल्दा प्रदेशका ३ सय ५४ बहुवर्षीय योजनाका लागि रकम पुग्‍ने उनले बताए । आगामी आर्थिक वर्षमा प्रदेशको बजेट खुम्चिन सक्ने भएपनि योजनाहरुका लागि रकम अपुग नहुने उनको धारणा थियो । ‘अहिले धेरै आय छैन, त्यसैले अर्को वर्ष हाम्रो बजेट कम हुन सक्छ,’ उनले भने, ‘तर बहुवर्षीय योजनाहरुका लागि भने रकम अपुग हुने छैन ।’

प्रदेशमा स्वास्थ्य सुधारका काम नभएको भनि ‘गलत प्रचार’ गरिएको भन्दै उनले आधारभूत परिवर्तनहरु भएको बताए । प्रदेशले स्वास्थ्यमा जनशक्ति र पूर्वाधार विस्तारको काम गरेको उनको दाबी थियो । ‘सबै जिल्ला अस्पतालहरु हेर्न जानुस्, उपचार गर्ने पूर्वाधार बनेका छन् । आमूल होइन, आधारभूत परिवर्तन गरेका छौं,’ गुरुङले भने । प्रदेशले काठमाडौंका मानिस पोखरा आएर उपचार गर्ने गरी योजना बनाएको मुख्यमन्त्री गुरुङको दाबी थियो । 

विशेष अधिवेशनमा बोल्दै नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेश सरकार कोरोनाकालमा रोग नियन्त्रण, रोजगारीका समस्या, महंगी लगायतका विषयमा असफल भएको बताए । यसअघि आफूहरुले पटकपटक प्रदेश सरकारलाई भेटेर सकारात्मक सुझाव दिँदापनि कार्यान्वय नभएपछि विशेष अधिवेशनको माग गर्नुपरेको बताए । 

‘सरकारले गरेका कामको अनुगमन गरौं भन्यौं, कोभिड महामारी, महंगी, बेरोजगारी रोक्न असफल भयो, प्रदेशले ध्यान दिन सकेन,’ नेता पोखरेलले भने, ‘हामी नियमित अधिवेशन कुर्न सकेनौँ किनकी जनताका मतको सुनुवाई गर्न ढिला हुँदै थियो ।’ प्रदेश सरकारले बजेट कार्यान्वयनमा निकै सुस्त गतिमा हिँडेको उनले बताए । गण्डकी प्रदेशले कानून धेरै बनाएपनि कार्यान्वयनको पक्षमा कमजोर देखिएको उनले बताए । प्रदेशका आयोग र प्राधिकरणलाई कार्यान्वयन भर्ती केन्द्र बनाउन खोजिएको उनको भनाइ थियो ।
 
राष्ट्रिय जनमोर्चा पार्टीका संसदीय दलका नेता कृष्ण थापाले सत्तारुढ दलको ‘मन फाटेपनि’ केन्द्रको सिको गर्दै असंवैधानिक कदम नचाल्न आग्रह गरे । संघीयतामा शक्ति पृथकीकरणको कुरा चर्को उठाइएपनि अहिलेको घटनाक्रमले त्यसलाई गलत तुल्याएको थापाले सुनाए । ‘संघीयतामा पूरा शत्तिः विकेन्द्रीत हुन्छ भनिन्थ्यो, अहिले त माथिबाट जे फाल्यो, त्यो झ्याम पारेका देख्दा त्यो गलत रहेछ भन्‍ने बुझ्दैछौं,’ थापाले भने, ‘जति मन फाटेपनि, च्यातिएपनि असंवैधानिक काम नगर्नुहोला ।’

प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष प्रचण्ड, माधव नेपाल लगायतका नेता आरोपप्रत्यारोपमा उत्रिनुले नेपालको राजनीतिक संस्कार के रहेछ भन्‍ने बुझाएको उनको टिप्पणी थियो । अहिलेको सरकाले जनअभिमतको कदर गर्न नसकेको र साम्राज्यवादको निसानमा पारेको थापाले थपे । 

जनता समाजवादी पार्टीका नेता हरिशरण आचार्यले नेपालमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति नआउँदा सम्म अस्थिरता रहिरहने बताए । देशमा मूल्य, मान्यता सकिएको र देशको रुपान्तरण सम्भव नभएको आचार्यले जोडे । ‘नेपालको राजनीतिको डुंगा तैरिएको छैन, डुबेको छ । अब्बल भनिएका क्रान्तिकारीले देशको रुपान्तरण हुन दिएनन्,’ उनको भनाइ थियो । 

गण्डकी प्रदेश सभाको विशेष अधिवेशन पुस २६ गते बस्‍ने गरी सकिएको छ । गत ३० मंसिरमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले कोभिड १९ को उपचार, नियन्त्रण, व्यवस्थापन, मूल्यवृध्दि, बेरोजगारी लगायतका विषयमा सरकारको जवाफ माग्दै विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष माग गरेका थिए । त्यसै अनुसार आज १ बजे विशेष अधिवेशन बोलाइएको थियो । विशेष अधिवेशनमा सरकार र प्रतिपक्षी मिलेर कोभिड नियन्त्रणका लागि संकल्प प्रस्ताव र अन्य सार्वजनिक जरुरीका मुद्दामा ‘सार्वजनिक महत्वका विषय’ ल्याउने तयारी गरेका छन् । 


Author

थप समाचार
x