गण्डकी

गाउँको विकासका लागि समानुपातिक बजेट : मुख्यमन्त्री पोखरेल

इकागज |
माघ ५, २०७८ बुधबार ७:२ बजे

फाइल तस्बिर

गलकोट- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गाउँको विकासका लागि समानुपातिक बजेट विनियोजन गर्ने योजनामा प्रदेश सरकार रहेको बताएका छन् । उनले कोरोना भाइरस सङ्क्रमणविरुद्धको अभियानमा सबै जुटेर लाग्नुपर्ने बताए । 

नेपाली कांग्रेस बागलुङले मङ्गलबार आयोजना गरेको भेटघाट कार्यक्रममा मुख्यमन्त्री पोखरेलले अघिल्लो सरकारले बजेट ल्याएकाले केही स्थानमा धेरै र केहीमा थोरै विनियोजन भएको पाइएको उल्लेख गर्दै आगामी दिनमा समानुपातिक बजेट विनियोजन गरिने बताए । आफ्नो नेतृत्वको सरकार परिस्थितिले निम्त्याएको हुँदा सोचेअनुसार काम हुन नसकेको र आगामी वर्ष सबै क्षेत्रलाई समेट्ने गरी बजेट ल्याउने उनको भनाइ थियो । 


बागलुङको सर्वसिद्धिधाम पञ्चकोटको अवलोकनसमेत गरेका मुख्यमन्त्री पोखरेलले त्यसको विकासका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए । कोरोनाको तेस्रो लहरबाट बच्न सबै नागरिक सचेत हुन उनले आग्रह गर्दै केही महिनाभित्र सबैलाई कोरोनाविरुद्धको खोप लगाइने बताए । रासस


Author

थप समाचार
x