'कोभिड निको भएर फर्किँदा जागिर गुमिसकेछ'
म्याग्दी : कोरोना भाइरसबाट सङ्क्रमित भएर होम आइसोलेशनमा बसेका म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरस्थित प्रभु बैंकको शाखामा कार्यरत एक कर्मचारीको जागिर गुमेको छ । एक्सलेन्ट सेक्युरिटी प्रालिमार्फत प्रभु बैंकको सो शाखामा सुरक्षा गार्डका रूपमा काम गर्दै आएका अन्नपूर्ण-६ का ४१ वर्षीय शिव बरुवालको जागिर खोसिएको हो ।
ज्वरो र रुघाखोकी देखिएपछि गाउँपालिकाको स्वास्थ्य शाखामार्फत गत पुस १ गते पिसीआर परीक्षण गर्न उनले स्वाब दिएका थिए । 'पुस ५ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि बैंक र सेक्युरिटी कम्पनीलाई जानकारी गराएर १४ दिन आइसोलेशन बसेको थिए,' उनले भने, 'कोरोना जितेर बैंकमा आउँदा अर्कैलाई राखिसकेका रहेछन् ।'
रोग निको भए पनि जागिरलाई निरन्तरता दिन र कोरोना बीमाको रकम दाबी प्रक्रियामा कम्पनीले बेवास्ता गरेको बरुवालले गुनासो गर्नुभयो । 'टोल, छिमेकमा कोरोना सङ्क्रमित भनेर दुर्व्यहार सहनुपर्यो', उनले भने, 'आइसोलेशन बस्नु पर्दा जागिर गुमेकामा झनै पीडा थपिएको छ ।'
बैंकमा काम गर्ने क्रममा नै कोरोना सरेको हुनसक्ने बरुवालको अनुमान छ । रोजगारीको खोजीमा उनले चार वर्ष मलेसियामा काम गरेका थिए । बरुवालको परिवारमा बाबुआमा, श्रीमतीसहित तीन छोरी र दुई छोरा छन् । कम्पनीले मासिक रु १८ हजार तलब दिने गरेको थियो । जागिर गुमेपछि बरुवाललाई घरव्यवहार चलाउन समस्या भएको छ ।
प्रभु बैंकको अन्नपूर्ण शाखाका प्रमुख विनोद केसीले सुरक्षागार्डको नियुक्ति, तलब, भत्तालगायत सबै जिम्मेवारी सम्बन्धित कम्पनीको भएको बताउए । काठमाडौमा रहेको एक्सलेन्ट सेक्युरिटीका कृष्ण गुरुङले बरुवाललाई जागिरबाट ननिकालेको जिकिर गरे । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया