कास्कीमा थपिए करिब १० हजार मतदाता
थप ५ मतदान केन्द्र सिफारिस
पोखरा : वैशाख १७ र २७ गते हुने भनिएको प्रतिनिधि सभा चुनावका लागि मातहतका कार्यालयहरूले तयारी थालेका छन् । जिल्ला निर्वाचन कार्यालय कास्कीले मातादाता नामावली अध्यावधिक गर्ने, मतदानकेन्द्र र सहायक नाम दर्ता अधिकारी तोकेको छ ।
कास्कीमा ५ मतदान केन्द्र थप्न निर्वाचन आयोगलाई सिफारिस गरेको छ । जिल्लामा मतदाता बढेसँगै ५ मतदान केन्द्र थप्न सिफारिस गरिएको निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । ‘मतदाता बढेसँगै हामीले मतदान केन्द्र थप्न सिफारिस गरेका छौं, आयोगले अन्तिम निर्णय लिन्छ,’ न्यौपानेले भने ।
कास्कीमा मतदाता संख्या बढेको छ । अद्यावधिक तथ्यांक अनुसार कास्कीमा ९९४२ जना मतदाता बढेका हुन् । कास्कीमा १ लाख ४० हजार ७ सय ६१ महिला, १ लाख २४ हजार ६ सय ३१ पुरुष र ४ तेस्रोलिंगीसहित २ लाख ६५ हजार २ सय ९६ जना मतदाता छन् । २०७४ को निर्वाचनमा कास्कीमा २ लाख ५५ हजार ४ सय ५४ जना मतदाता थिए ।
निर्वाचन कार्यालय कास्कीले मंगलबार राजनीतिक दल र सरोकारवालासँग छलफल गरेको छ । कार्यालयले नेकपा, कांग्रेस, राप्रपाका प्रतिनिधि, नागरिक समाज, प्रहरी र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिसँग अन्तरक्रिया गरेको हो । नेकपाका तर्फबाट ओलीसमूहका दामोदर वैरागी, नेपाली कांग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाट र राप्रपाको गणेश ढकाल उपस्थित थिए । अन्तक्र्रियामा नेकपा नेता वैरागीले चुनावमा जान आफूहरू उत्साहित भएको बताए ।
कांग्रेस नेता रानाभाटले आफूहरू अदालतको निर्णय कुरिरहे पनि चुनाव प्रचारप्रसारमा जुटिसकेको बताए । प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले कास्कीमा निर्वाचन लक्षित सुरक्षायोजना बनाउने काम भइरहेको बताए । चन्द नेतृत्वको प्रतिबन्धित नेकपा र अरुबाट खतरा रहेकाले आफूहरू अहिले सुरक्षा योजना बनाउन लागिपरेको सुनाए ।
जिल्ला निर्वाचन कार्यालय कास्की प्रमुख भिमसेन कार्कीले आफूहरू राज्यको निर्णय अनुसार काममा लागेको बताए । उनले २०७७ पुस ५ सम्ममा १८ वर्ष पुगेकाले आगामी निर्वाचनमा मतदान गर्न पाउने जानकारी दिए ।
५५ जनाले त्यागे नेपाली नागरिकता
सामान्यत विदेशमा स्थायी बसोबास पाएपछि नेपालीले नेपालको नागरिकता त्याग्छन् । त्यहाँको स्थायी बसोबास प्रमाणपत्र लिननेपालको नागरिकता त्यागिन्छ । कास्कीमा पनि २०७४ पछि ५५ जनाले नागरिकता त्यागेको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताएका छन् ।
पुस ५ सम्म ५५ जना कस्केलीले नागरिकता त्यागेको उनले बताए । सहायक प्रमुख जिल्ला अधिकारी गुरुप्रसाद ढकालका अनुसार विदेशमा पढ्न जाने विद्यार्थी बढेपछि नागरिकता त्याग्ने क्रम बढेको हो । ‘गैरआवासीय नेपालीले नागरिकता त्याग्ने गरेका छन्,’ ढकालले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया