गण्डकी

किनारका मान्‍छे हामी...

‘सुगमको दुर्गम अर्थात् पोखराको कर्णाली’

अनिष भट्टराई |
माघ १८, २०७७ आइतबार १२:५२ बजे

पोखरा : माघको ठण्डी । सिरेटोले आँत चिसाउँछ । तर पनि पोखरा २२ पात्लेका क्षेत्र गुरुङ बिहानको सिरेटाेसँगै नउठी धर पाउँदैनन् । ‘चिसो भो’ भनेर सिरकभित्र गुट्मुटिएर सुत्‍ने उनलाई छुट पनि छैन । उबडखाबड ढुंगाले छापिएको बाटो हुँदै फेवाताल किनार पुग्छन् । बाहिरबाट आउनेलाई ती सिँढी झर्न/चढ्न निकै असजिलो हुन्‍छ । तर उनलाई त्यसको कठिनाइ छैन, बानी परिसक्यो । सिधा बाटोमा हिँडेझैं आफ्नै चालमा अघि बढ्छन् ।

५ बजे बिहान फेवाताल किनार, जहाँबाट गुरुङको दिन सुरु हुन्‍छ । फेवा किनारमा पुगेर जाल फ्याँक्छन् । छचल्किएको पानीसँगै माछा मार्छन् । अर्को किनारमा उनी जस्तै माझी छन् । उनीहरूलाई हेर्छन्, फिस्स हाँस्छन् अनि गुनगुनाउँछन्, ‘माझी दाइ पोखरा फेवातालको..., आज त मेरै जालमा माछा धेरै पर्ला !’ अघि भन्‍छन्, ‘कहाँ जालास् मछिली मेरै ढडिया !’ चिसो बिहानमा त्यसरी किनार पुगे पनि कहिले माछा पर्ने त कहिले नपर्ने गुरुङ सुनाउँछन् ।


‘कैले १०/१२ किलो नै पर्छ नि जालमा, त्यसरी माछा परेसि बल्ल मजा आउने हो, कैले त आधा किलो नि पर्दैन,’ हाँस्दै गुरुङ भन्‍छन् । पात्ले डाँडामा रेस्टुरेन्ट चलाउने गुरुङ एक्ला हुन् । उनको दैनिकी माछा मार्न बिहानै जाने, घर फर्कने, अनि रेस्टुरेन्टमा सहयोग गर्नुमै बित्छ । साली र श्रीमतीले रेस्टुरेन्टमा काम गर्छन्, उनी वेटरको काम गर्छन् । ‘साली अनि बुढीले चलाउँछन्, म त हेल्पर मात्रै बस्छु,’ उनी भन्‍छन् ।

गुरुङले रेस्टुरेन्ट चलाउन लागेको एक वर्ष मात्रै भयो । त्यसअघि उनी कुखुरा पाल्थे । तर उनलाई कुखुरा पालन फापेन । पात्ले र पोखरा लेकसाइड जोड्ने पक्की सडकको अभावमा उनले कुखुरा पालन बन्द गर्नुपर्‍यो । डुंगामा यात्रा गर्दा दाना, चोकर ल्याउन र कुखुरा लेकसाइड पुर्‍याउन असहज भएपछि क्षेत्रले त्यो पेसा त्याग्नु पर्‍यो । ‘सुरुको लटमा एकदम फाइदा भकै हो, पछि तालमा ४ क्यारेट कुखुरा पर्‍यो अनि डिलरले नि हेर्दिएन, अनि त्यो छाड्दिएँ,’ उनी सम्झन्‍छन् ।

०००
बिहानको ७ बज्दै थियो । लामबद्ध भएर ८/९ जनाको टोली फेवाताल किनारमा आयो । काँधमा थियो दूधका बाल्टिन । बाँसको सापो बनाएर काँधमा दुईतिर दूधकार बाल्टिन हल्लाउँदै झर्नेको समूहमा थिए, लक्ष्मी बराल । बराल (४९) दूध बेचेर नै आफ्नो घर चलाउँछन् । दिनमा उनले १५/१६ लिटर दूध बेच्छन् ।

 दूध लिएर सहकारी जाँदै देवीलाल बराल । तस्बिर : इकागज

१ भैंसी र २ गाईमात्र पालेका बरालको समय तिनैको ख्याल राख्दैमा बित्छ । घाँस काट्न जंगल पस्‍नु, गोबरसोत्तर गर्नु र आफ्ना ‘डियाँ’लाई कुँडोपानी गर्दा उनले खेती किसानीमा त्यति धेरै समय लगाउन पाउँदैनन् । ‘बाली त बाँदर, मृगले राख्दैनन्, बरु दूध बेचेर नै बढी आम्दानी हुन्‍छ, त्यतै दुःख गरिन्‍छ,’ उनी भन्‍छन् । दूध बेच्‍न पनि सजिलो भने छैन । पक्की बाटो छैन । पामे निस्कने बाटो बढी घुमाउरो, बिग्रेको हुँदा २ घन्टा भन्दा बढी यात्रा गर्नुपर्छ । बाटो नहुँदा लक्ष्मी र पात्लेका सबै दुग्ध व्यवसायी डुंगाबाटै दूध लेकसाइड पुर्‍याउँछन् । डुंगामा ४५ मिनेटमै लेकसाइड पुगिन्‍छ । ‘दूध संवेदनशील वस्तु हो, धेरै राख्यो भने फाट्न सक्छ, यसैले डुंगाबाट नै दूध लैजान्‍छौं,’ लक्ष्मीले भने ।

लक्ष्मीले आफूजस्तै अन्य दूध व्यवसायीका लागि सहकारी खोलेका छन् । सहकारीलाई नाम दिएका छन्- ‘फेवा जनजागृति दुग्ध व्यवसायी सहकारी संस्था लिमिटेड ।’ दूध लेकसाइडसम्म पुर्‍याउन गाउँलेले गाउँकै शालिकराम बराललाई खटाएका छन् । शालिकराम दिनहुँ ८ बजे तालमा आफ्नो डुंगा खियाउँदै लेकसाइड पुग्छन् । ३२ जनाको दूध उनले ९ बजेभित्र नै लेकसाइड पुर्‍याउनुपर्छ । ‘छिटोछिटो ल्याउनुस् न, अहिले ढिला भो भने गाली खान पर्छ,’ डुंगामा दूधका बाल्टी छिटो राख्‍न उनी आग्रह गर्छन् ।

दूध ओसारेबापत शालिकरामले महिनामा १० हजार रुपैयाँ पाउँछन् । आफूले पनि दूध बेच्छन् । घरमा ६ गाईभैंसी पालेका छन् । यसले नै उनलाई गुजारा चलाउन सहयोग गरेको छ । ८ वर्ष भयो, शालिकरामले दूध ओसार्न लागेको । दूधमात्र होइन उनले गाउँलेले आफ्ना छोराछोरीका लागि पठाउने तिउन/तरकारी पनि बोक्नुपर्छ । देवीलाल बराल (५६) बोत्तलमा दूध र प्लास्टिकमा काउली, बन्दा र खुर्सानी बोकेर शालिकरामको डुंगा नजिकै आइपुगे । ‘छोराको हाताँ लाइदेऊ है, दूध तरकारी उसलाई दिनु,’ शालिकरामलाई देवीलाल भन्‍छन् ।

०००
रित्तो छ गाउँ । तालपारि गाउँमा ससाना बालबालिका र वृद्धवृद्धा मात्र छन् । युवा र माध्यमिक तहका विद्यार्थी तालवारि नै बसेर पढ्छन् । बाटोको सुविधा नहुँदा विद्यार्थी अनि काममा लागेका युवा गाउँमा बस्दैनन् । गाउँका बारी बाँझा छन् । केवल गाउँलेको पलायनले होइन । बाहिरका आएर गाउँका जग्गा किनेर राखेका छन् । गाउँकै सँग धेरै जमिन पनि छैन । बेचेर पोखरा झर्न पनि सक्दैनन् । ‘पहिला ८०/९० घरधुरी थिए, अहिले सबै गइसके, हामी जग्गा बेचेर जाउँ भने  पनि छैन,’ स्थानीय छविलाल बराल सुनाउँछन् ।

 फेवा किनारमा दूध संकलन गर्दै गाउँले । तस्बिर : इकागज

प्राथमिक तहसम्मको विद्यालय नजिकै छ । १ घन्टाको बाटोमा । क्रिस गुरुङ विद्यालयसम्म जान आफ्नी ‘मिस’ कुरिरहेका छन् । एक्लै जान सक्दैनन्, वनको बाटो छ । ‘बाघ आउँछ, एक्लै जान डर लाउँछ, मिस आएसि सँगै जानी हो,’ उनी भन्‍छन् । ताल तर्न नसक्ने विद्यार्थी माध्यमिक तह पढ्न साढे २ घन्टा पैदल हिँडेर पुम्दीभुम्दीको शुक्रराज माध्यमिक विद्यालय पुग्छन् । बाक्लो वनको बाटो हुँदै ६/७ विद्यार्थी मात्र जान्‍छन् । ८ बजे घरबाट निस्किनुपर्छ उनीहरूलाई ।

‘सुगमको दुर्गम’ 
महानगरमै परेर यो गाउँ विकासभन्दा टाढा छ । स्थानीय भन्‍छन्, ‘हामी त सुगमको दुर्गम’ र ‘पोखराको कर्णाली’ भयौं ।’ बाटो, विद्यालय नहुँदा उनीहरू महानगरभित्रै भए पनि महानगरबासी नरहेको टिप्पणी गर्छन् । छविलाल बरालले आफूहरूलाई सरकारले उपेक्षा गरेको गुनासो गरे । ‘हाम्रो पहुँच ठूलासँग भएन, ठूलाहरू गाउँ फर्कन्‍नन्, जनघनत्व हेरेर प्रतिनिधिहरू चल्छन्, जहाँ ठुलो बस्ती त्यहीँ सक्रियता,’ उनले भने ।

पामे जोड्ने ट्र्याक गाउँले आफैँले खोलेका हुन् । तर, यसको मर्मतसम्ंहारमा पनि महानगरले ध्यान दिन सकेको छैन । ‘हामीले नै श्रम, पैसा उठाएर खोल्यौं, उनोरले हेर्दिदैनन्, बोलवालाको मात्र चल्ने भो यहाँ,’ छविलालले भने । पात्लेबाट नजिकको हेल्थपोस्ट पुग्‍न २ घन्टा पैदल हिँड्नुपर्छ । वडा कार्यालय नजिकको हेल्थपोस्टसम्म जान गाउँलेलाई हिँड्नुको विकल्प छैन ।

विकासमा सरकाले उपेक्षा गरे पनि ताल पुरिँदै गएकोमा भने उनीहरू चिन्तित छन् । छविलाल भन्‍छन्, ‘पुरिँदै गरेको ताल बचाइदिनुस्, हामी बाटो माग्दैनौँ, स्कुल माग्दैनौँ, हेल्थपोस्ट माग्दैनौँ ।’ फेवा ताल वर्षेनि पुरिँदै जाँदा पात्ले तल दलदल बनेको छ । डुंगा नै अड्कने डर गाउँलेलाई छ । उनले ताल किनार क्षेत्र दलदल भइसकेको ताल पुरिँदा पनि सरकारले केही गर्न नसकेको गुनासो गरे ।

पोखरा महानगरपालिका २२ पात्ले । तस्बिर : इकागज

पोखरा २२ का वडाध्यक्ष मित्रलाल बराल वडा ठूलो हुँदा समस्या आएको बताउँछन् । वडा ठूलो भए पनि महानगर र प्रदेशबाट सोही अनुपातमा बजेट नआउँदा समानान्तर विकास गर्न नसकिएको वडाध्यक्ष बरालको तर्क छ । चालु आर्थिक वर्षमा वडाबाट पात्लेको बाटो मर्मतका लागि १ लाख रुपैयाँ बजेट परेको छ । महानगर र प्रदेशबाट भने पात्ले क्षेत्रको विकासका लागि कुनै बजेट नपरेको उनले सुनाए । वडाबाट अधिकांश बसाइँसराइ गरिसकेकाले पात्लेका लागि बोल्नेको पनि कमी भएको वडाध्यक्ष बरालले बताए ।

‘अब यहाँका सबै बाहिर गइसके, रहेकाहरू बोल्न सक्दैनन्, आओ, बजेट माग गरो भने पनि कोही सक्दैनन्,’ उनले भने, ‘म ७० वर्ष भएँ, यहीँ जन्मिएँ, हुर्किएँ, मलाई यसको माया छ नि, तर बजेट धेरै आउँदैन, कसरी काम गर्न र ?’ आफूले पात्लेको अवस्था बुझे पनि बजेट धेरै नआउनले त्यसको विकासमा काम गर्न नसकेको उनी स्वीकार्छन् ।


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x