गण्डकी

संसदीय समितिमै जाँदैनन् मन्त्री

असोजमा मागेको प्रतिवेदन अझै पुगेन

अनिष भट्टराई |
माघ २१, २०७७ बुधबार १३:४ बजे

फाइल तस्‍बिर

पोखरा : ‘मन्त्रीहरू यो समितिमा आउनै नहुने हो ? हामीले सधैं हारगुहार गर्नुपर्ने ? संसदीय  समितिमा डाकेपछि उहाँहरू आउनै पर्छ,’ मंगलबार गण्डकी प्रदेश सभाको प्रदेश मामिला समितिको बैठकमा नेकपा सांसद कृष्णबहादुर थापा कड्किए । थापा बोल्नुअघि राष्ट्रिय जनमोर्चाका सांसद तथा समिति सभापति कृष्ण थापाले सोही आसयमा आफ्नो धारणा राखे ।

‘समितिको पदेन सदस्यमा मन्त्रीहरू हुनुहुन्छ, तर उहाँहरू बैठकमा आउनुस् भन्दा नआउने, दिन तोकेर आउनैपर्छ भनेर बाेलाउ,’ उनले भने, ‘नत्र लोकतन्त्रको मर्म समस्यामा पर्छ ।’ 


अघिल्ला बैठकहरूमा मन्त्रीहरू गयल भएकोप्रति समिति सदस्यहरू रुष्ट देखिए । प्रदेश मामिला समितिको अधिकार क्षेत्रमा ३ मन्त्रालय छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामाजिक विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय समितिको अधिकार क्षेत्रका मन्त्रालय हुन् । 

तर समितिको मंगलबारको ३०औं बैठकमा समिति सदस्यहरूले मन्त्रीहरूले समितिलाई ‘कम आँकेको’ टिप्पणी गरे । उनीहरूको भनाइमा मन्त्रीले संसदीय समितिको निम्तालाई अटेर गरेका मात्रै छैनन्, निर्देशनलाई पनि वेवास्‍ता गरेका छन् । 

असोजपछि पहिलोपटक बसेको बैठकमा सबै सदस्यले समितिको काम प्रभावकारी हुन नसकेको सुनाएका थिए । नेकपा सांसद कृष्णबहादुर थापाले संसदीय समितिका निर्देशनलाई सरकारले प्रभावकारी ढंगले कार्यान्वयन गर्न नसकेको बताए । समितिले ‘फिल्ड अनुगमन’ गरेर प्रतिवेदन बुझाए पनि प्रदेश सरकार सकारात्मक हुन नसकेको उनको भनाइ थियो । 

‘संसदीय समितिलाई कम आँकियो, समितिले प्रतिवेदन बुझाए पनि प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन,’ उनले भने । प्रदेश सरकारको अवधि छोटिँदै जाँदा प्रदेश मामिला समिति गतिशील हुन नसकेको उनको गुनासो थियो । 

डेढ वर्षमा प्रदेश मामिला समिति अरु समिति भन्दा गतिशील भएर काम गर्नुपर्ने र पछि काम देखाउन सक्नुपर्ने उनको टिप्पणी थियो । संसदीय समितिमा मन्त्रीहरू अनुपस्थित भएकाले उनीहरूसँगै समय मिलाएर बैठकमा बोलाइनुपर्ने नेकपा सांसद मित्रकुमारी गुरुङको भनाइ थियो । 

प्रदेश मामिला समितिको मंगलबारको बैठकले फागुन २ गते सामाजिक विकास मन्त्री नरदेवी पुनलाई समितिमा डाक्ने निर्णय गरेको छ । ३ गते आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानलाई बोलाइने भएको छ । प्रदेशमा कोरोना खोपको भण्डारण र खोप कार्यक्रमको अवस्था बुझ्‍ने र स्थलगत अनुगमन गर्ने निर्णय पनि बैठकले गरेको छ । समितिको बैठकमा नेकपा सांसद ईन्द्रधारा विष्टले उक्त कुरा उठाएका थिए । 

बैठकले चालु आर्थिक वर्षमा बजेट कार्यान्वयनको अवस्थाबारे अनुगमन गर्ने निर्णय गरेको छ । ‘३ मन्त्रालयका २/२ योजनाबारे अनुगमन गरौं, सम्बन्धित मन्त्रालयलाई खबर गरौं,’ समिति सभापति कृष्ण थापाले भने । बैठकले प्रदेशमा महिला र बालबालिकाको अवस्थाबारे अन्तक्र्रिया गर्ने कार्यक्रम पनि तय गरेको छ । बजेट अनुगमन र अन्तक्र्रियाको मिति पछि तय गरिने समितिले जनाएको छ । 

मन्त्रालयले बुझाएनन् प्रगति विवरण 
प्रदेश मामिला समितिको असोज ६ मा बसेको बैठकले मन्त्रालयहरूको वार्षिक प्रगति विवरण माग गर्ने निर्णय गरेको थियो । अधिकार क्षेत्रमा पर्ने ३ मन्त्रालयको प्रतिवेदन मागेको ४ महिना पुगिसक्दा पनि सामाजिक विकास मन्त्रालयको प्रतिवेदन पाउन सकेको छैन । 

सामाजिक विकास मन्त्रालयलाई ताकेता गर्दा पनि मन्त्रालयबाट प्रतिवेदन नआएको समिति सभापति कृष्ण थापाले बताए । ‘मन्त्रीज्यूसँगको भेटमा पनि मैले प्रतिवेदन आएन नि भन्दै कुरा राखेको थिएँ, नपठाएपछि पठाएनन् भन्नै पर्‍यो,’ थापाले भने ।  

समितिका सचिव रवीन्द्र घिमिरेले पत्र पठाएपछि पटकपटक सम्झाइरहे पनि प्रतिवेदन नआएको बताए । ‘एकपटक पत्र काटेपछि फोनमा सम्झाइरहेका छौं, अहिलेसम्म पठाउनु भएको छैन,’ उनले भने । 

गण्डकी प्रदेश सरकारकी सामाजिक विकास मन्त्री नरदेवी पुन भने आफूलाई जानकारी नआएकाले ढिला भएको बताइन् । प्रदेश मामिला समितिले आफूलाई जानकारी नगराएको र सचिव पनि नयाँ भएकाले ढिला भएको उनको दाबी छ । ‘मलाई जानकारी गराइएन, सचिव पनि नयाँ हुनुहुन्छ, मैले प्रतिवेदन पेस गर्न भन्छु, प्रतिवेदन समितिमा जान्छ,’ उनले भनिन् । 

पहिलो गाँसमै ढुंगा 
प्रदेश सभा सचिवालयमा मंगलबार संसदीय अनुगमन समितिको पहिलो बैठक डाकिएको थियो । प्रदेश सभाको विशेष अधिवेशनले स्वीकृत गरेको संकल्प प्रस्ताव अनुसार बनेको समितिको पहिलो बैठक बस्‍ने तय थियो । प्रदेश सभाले कोरोना महामारी, महँगी, बेरोजगारी तथा बजेट कार्यान्वयनको अवस्थाबारे अनुगमन गर्ने गरी समिति बनाएको थियो । उक्त समितिको कार्यविधि बनाउनेबारे पहिलो बैठक बोलाइएको थियो । 

बैठकमा ५ सांसद उपस्थित थिए । नेकपाका मायानाथ अधिकारी, मित्रकुमारी गुरुङ, चन्द्र बुढा, कांग्रेसका मणिभद्र शर्मा कँडेल, जनता समाजवादीकी धनमाया लामा पोखरेल उपस्थित थिए । तर राष्ट्रिय जनमोर्चाका प्रतिनिधि खिमविक्रम शाही नआउँदा बैठक स्थगित भएको हो । 

नेकपा सांसद मायानाथ अधिकारीका अनुसार अर्को बैठक माघ २७ गतेका लागि बोलाइएको छ । ‘हामी उपस्थित थियौं, कोरम पुगेको थियो, दलीय प्रतिनिधित्व नभएपछि बैठक स्थगित गर्‍यौं,’ उनले भने । 

संसदीय अनुगमन समिति बनाउन प्रदेश सभाका दलहरूको सर्वदलीय सहमतिमा संकल्प प्रस्ताव लगिएको थियो । कोरोना महामारी नियन्त्रणका लागि संकल्प प्रस्ताव र महँगी, बेरोजगारी एवं बजेट कार्यान्वयन बारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव सदनमा लगिएको थियो । 

बर्खे अधिवेशन सकिएर बन्द रहेको सदनमा यिनै विषय उठाउने भन्दै मंसिर ३० मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादीले विशेष अधिवेशनको माग गरेका थिए । 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x