जसले राख्यो देशको कीर्तिमान : अन्ध गल्छीबाट शिखरसम्म, घर बेचेर चढेका थिए हिमाल
पोखरा : गत साता सामाजिक सञ्जालमा एक भिडियो भाइरल बन्यो । भिडियोमा हिमाल आरोहणको एउटा समूह नेपालको राष्ट्रिय गान बजाएर चुचुरोमा पाइला राख्दै गरेको देखिन्थ्यो । हातमा हात, अँगालोमा अँगालो हालेर हिँडेका उनीहरुलाई देख्दा जोकोही नेपालीको रगत तातो बन्छ, मनमनै गर्वान्वित बनाउँछ ।
नेपालका १० जना हिमाल आरोहीको समूहका लागि त्यो पल खास थियो । अझ खास थियो, सम्पूर्ण नेपालीका लागि । विश्वकै दोस्रो अग्लो शिखर माउन्ट केटुमा नेपालीहरुले झन्डामात्र फहराएनन्, विश्वमा नेपालीको अर्को चिनारी फहराए । निर्मल पुर्जा नेतृत्वको आरोही दलले चिसो मौसममा केटु हिमाल चढ्ने पहिलो टोलीको रुपमा कीर्तिमान लेखाए ।
सन् १९८३ मा पहिलोपटक ‘विन्टर एसेन्ट’को प्रयास भएको थियो । एन्डरेज जवाडा र क्यानडेली नागरिक ज्याक्स ओलेकको टोलीले हिउँदमा केटु आरोहण गर्न खोजे पनि सकेको थिएन । ‘म हामीलाई यसबारे दु:खी हुनुपर्ने कारण देख्दिनँ किनकी त्यस्तो अकल्पनीय ठाउँमा हामीले गर्न सक्ने सबै गरेका थियौं,’ जवाडाले भनेका थिए ।
हिउँदमा केटु आरोहण गर्न त्यसपछि ५ पटक प्रयास भए । तर कुनै प्रयास सफल भने हुन सकेन । विश्वका १४ अग्ला शिखरमध्ये ८ वटा शिखर नेपालमा छन् । नेपाललाई ‘होम अफ एट थाउजेन्डर्स’ भने पनि विदेशी आरोहीले नेपालीलाई उति सम्मान दिँदैनथे । १४ शिखर ६ महिनामा चढेर विश्व कीर्तिमान बनाएका निर्मललाई यो कुराले बिझाइरहन्थ्यो । तब त उनले हिमाल आरोहणमा देशकै नाम राख्न योजना बनाए । त्यो थियो- हिउँदमा केटु आरोहण ।
निर्मल नेतृत्वको १० सदस्यीय टिमले गत ३ माघमा माउन्ट केटु चढ्यो । तर यही वर्ष केटु चढ्न जाने उनको योजना थिएन । अर्को वर्ष गएको भए उनलाई करोडौं रुपैयाँको प्रायोजन आउने कुरा थियो । तर उनलाई डर थियो, ‘अर्को वर्षसम्म अरुले नै पहिला चढिदियो भने ?’
निर्मलले ६ हप्ता लगाएर हिमाल चढ्ने पर्मिट लिए । उनको टोलीमा अन्य ६ जनाका लागि पनि उनी आफैंले खर्च गर्ने योजना बनाए । उनको आरोहण टोलीमा मिङ्मा डेबिट शेर्पा, मिङमा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, पेमचिरी शेर्पा, दाबातेम्बा शेर्पा थिए । निर्मल आफैंले उनीहरुको खर्च व्यहोर्ने गरेर हिमाल आरोहणमा निस्किए । ‘किन स्वार्थी हुने ? जति स्वार्थ गरे पनि एक्लै र समूहमा भएको काम फरक हुन्छ । अहिले पोलिटिकल इस्टेब्लिटी छैन, हामी तर एकता छाड्दैनौं,’ उनी भन्छन् । साढे २ करोड रुपैयाँ उनी आफैंले हाले । उनको टोलीले २१ औँ दिनमा आरोहण गरेर कीर्तिमान बनायो ।
केटुलाई किलर माउन्टेन भनिन्छ । गर्मी मौसममा मात्रै केटु आरोहणमा हरेक ४ मध्ये १ जनाको मृत्यु हुने गरेको छ । हिउँदमा त अझै बढी । माइनस ६५ डिग्री तापक्रममा आफू भन्दा गह्रुँगो भारी बोकेर हिमाल चढ्नु कति सहज होला ? त्यसको भुक्तमान निर्मलकै टोली हो । ‘यो भाइ ५४ किलो छ, उसले आफूभन्दा दोब्बर भारी बोकेर हिमाल चढ्छ, कति सहज छ आर्फै बुझ्नुस्,’ आफ्नो अनुभव सुनाउँदा मिङ्मा डेबिडलाई देखाउँदै निर्मलले भने, ‘५ मिनेटमात्रै एक्सपोज भयो भने, हिउँले खान्छ, किन आइस् गधा भन्ने सोच नि आउँछ ।’
क्याम्पमा पुगेर एकता
निर्मलको टोली त्यति बेला केटुका लागि निस्कियो जति बेला अर्का कीर्तिमानी आरोही मिङ्माजी शेर्पा ३ जना भएर आरोहणमा निस्केका थिए । दाबातेन्जिङ शेर्पा र किलुपेम्बा शेर्पालाई लिएर मिङ्मा पनि केटुमै थिए । सुरुमा उनीहरुले एकअर्कालाई ‘कम्पिटिटर’ माने । जब उनीहरु चढ्दै थिए, सेकेन्ड क्याम्पमा पुग्दा हिउँपहिरो गयो । उनीहरु ९ जनाकै सामान उडाएर तल पुर्याइदियो । उनीहरु फेरि एकपटक केही तल झरेर आफ्नो सामान बोकेर हिँड्नुपर्ने भयो ।
निर्मलको टोली केबल देशको नाम राख्न केटु शिखर पुग्न चाहन्थ्यो । मिङ्माजीको टोलीको उद्देश्य पनि उही थियो । किनकी केटुबाहेक १३ वटा शिखरमा हिउँद आरोहणको कीर्तिमान विदेशीको नाममा छ । उक्त घटना पछि उनीहरुलाई मिल्नुपर्छ भन्ने लाग्यो । त्यसपछि उनीहरु मिलेर शिखरसम्मको यात्रा गरे ।
‘हामी पर्सनल फेमका लागि गएका थिएनौं, उहाँहरु पहिला कम्पिटिटरजस्तो हुनुभो, पछि भावना एउटै भएपछि किन छुट्टै जानु भनेर मिल्यौं,’ निर्मल सुनाउँछन्, ‘हामी सुरुमै मिलेर गएको भए २ हप्तामै शिखर पुग्थ्यौं ।’ चढ्दै जाँदा शिखर नजिकिँदो थियो । उनीहरु को पहिला पुग्ने भन्नेमा स्वार्थी बन्न चाहेनन् । १० मिटर वरै रोकिए । अनि अँगालो हालेर राष्ट्रिय गान गाउँदै उनीहरु शिखर पुगे र राखे देशको नाम । ‘सबैले बराबर भारी बोकेका छौं । सबैले बराबर जोखिम बोकेका छौं, सबैको परिवार छ । त्यसपछि सबै सँगै चढौं भन्ने भयो ।’ निर्मलले सुनाए ।
अन्ध गल्छीबाट शिखरसम्म
निर्मल पुर्जाको जन्म म्याग्दीको दानामा भएको हो । विश्वकै गहिरो गल्छी कालीगण्डकीको छेवैमा उनको जन्मथलो हो । निर्मल आज संसारका १४ वटै ८ हजार माथिका शिखर पुगेका छन् । यो झट्ट जादुले भएको होइन । यसका लागि निर्मलले पसिना बगाएका छन् । निर्मल भन्छन्, ‘सफलता कोइन्सिडेन्ट होइन । मिहिनेत गर्नुपर्छ, कति आँसु, कति रगत बगाउनुपर्छ ।’
बाल्यकालमा निर्मलको एउटै सपना थियो- ब्रिटिस आर्मी बन्नु । निर्मलको बाल्यकाल चितवनमा बित्यो । होस्टेल बसेर पढेका उनी आर्मी नै बन्न चाहन्थे । यसका लागि उनले कम सकस झेल्नुपरेन । होस्टेलमा हुँदा आफू राति २ बजे उठेर दिनहुँ २५ किलोमिटर दौडेरपछि भर्ती भएको सुनाउँछन् । १८ वर्षमै उनी भर्ती भए ।
सन् २००३ मा ब्रिटिस आर्मीमा भर्ती भएका पुर्जा २००९ मा ब्रिटिस आर्मीको स्पेसल बोट सर्भिसमा प्रवेश गरे । त्यो समूहमा पर्ने निर्मल एक्ला नेपाली हुन् । ब्रिटिस आर्मीमै रहँदा उनले २०१२ डिसेम्बरमा सगरमाथाको आधार शिविरसम्म घुम्न आए । उनलाई त्यो अनुभव आश्चर्यजनक लाग्यो र हिमाल आरोहण गर्ने इच्छा जाग्यो । उनले सर्वप्रथम ६११९ मिटरको लोबुचे आरोहण गरे । २०१९ सम्म ब्रिटिस फोर्समै रहेका निर्मललाई नयाँ काम गर्ने इच्छा जाग्यो । उनले ६ महिनामा विश्वका ८ हजार मिटरमाथिका १४ शिखर चढ्ने भन्दै काम छाडे । ‘मलाई त सबैले पागल भएछ पनि भने, मैले पैसा नभएपछि घर बेचेर चढ्न गएको हुँ, आफ्ना लागि त्यस्तो निर्णय लिन सक्दिनथेँ, देशका लागि भनेर म गएँ, र चढेँ पनि,’ निर्मलले इकागजसँग भने ।
धौलागिरिबाट प्याराग्लाइडिङ गर्ने धोको
निर्मलले चढेर कीर्तिमान राख्न सक्ने जति सबै हिमाल आरोहण गरिसकेका छन् । अबको उनको धोको के छ त ? भन्ने इकागजको प्रश्नमा भन्छन्, ‘म धौलागिरिबाट प्याराग्लाइडिङ गरेर पोखरा ल्यान्ड हुन चाहन्छु ।’ धौलागिरिबाट प्याराग्लाइडिङ सुरु गर्न सरकारले मद्दत गरे सुरुमा आफैँ हाम फाल्ने उनको धोको छ । तर सरकारले जुन काममा पनि हुँदैन भन्ने प्रवृत्ति रहेकाले आफ्नो यो सोच पूरा हुनेमा उनी आफैलाई शंका छ । ‘जेमा पनि नो-नो भन्ने तरिकाले हुँदैन, एक्सट्रिम स्पोर्टसको हब बनाउन पनि सकिन्छ, प्याराग्लाइडिङ मात्रै सुरु भयो भने पनि धेरैको जीवन बदलिन्छ,’ उनी भन्छन् ।
पोखरा पर्यटन परिषद्ले आरोहण टोलीलाई सम्मान गरेको छ । पोखरा पर्यटन परिषद्ले उनीहरुलाई सोमबार नागरिक सम्मान तथा अभिनन्दन गरेको हो । उनीहरुलाईलाई सोमबार पोखरामा नगर परिक्रमा गराइएको थियो । आरोहीहरुलाई पोखरा विमानस्थलमा स्वागत गरिएको थियो । त्यसपछि पृथ्वीचोक, महेन्द्रपुल, चिप्लेढुंगा, न्युरोड, जिरो किलोमिटर हुँदै लेकसाइड परिक्रमा गराइएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया