गण्डकी

अलपत्र सडक : दुई वर्षमा भएन चौध सय मीटर कालोपत्रे !

इकागज |
फागुन ५, २०७७ बुधबार ९:२३ बजे

फाइल फोटो

बेनी : म्याग्दीको सदरमुकाम बेनी बजारको मङ्गलाघाटबाट हाडेभिर हुँदै  बगरफाँट जोड्ने एक हजार ४०० मिटर सडक कालोपत्र गर्ने योजना दुई वर्षमा पनि सकिएको छैन । सम्बन्धित कार्यालयले पर्याप्त बजेट व्यवस्थापन गर्न नसकेको यो आयोजना ठेकेदारको लापरवाही र ढिलासुस्तीले अलपत्र परेको हो ।

बेनी नगरपालिका-७ मङ्गलाघाटबाट वडा नं २ को हाडेभिर हुँदै बगरफाँट जोड्ने सडक कालोपत्रमा भएको ढिलासुस्तीले नागरिकलाई सास्ती भएको मङ्गलाघाटका सुवासकुमार श्रेष्ठले बताए । “सडकको धुलोले हरेक पटक बेनी बजार गएर फर्किएपछि नुहाउनु र कपडा धुनुपर्ने हुन्छ”, उनले भने, “साँघुरो सडक छेउमा थुपारिएका निर्माण सामग्रीले आवतजावतमा समस्या र दुर्घटनाको जोखिम बढाएको छ ।” 


सडक विस्तार र कालोपत्र गर्न बेनी नगरपालिकाको कार्यालय अगाडिबाट मङ्गलाघाट जाने सडकमा यसअघि गरिएको कालोपत्र उप्काइएको थियो । नयाँ कालोपत्र गर्न ढिलाइ गर्दा म्याग्दीको पश्चिमी भेगको नाकामा पर्ने मङ्गलाघाटको सडकको धुलो र हिलोले स्थानीयवासी प्रभावित भएका छन् ।

हाडेभिर-बगरफाँट भकिम्ली, सिङ्गा र बरङ्जालाई सदरमुकाम बेनीसँग जोड्ने सडकको नाका हो । हाल शहरी विकास मन्त्रालयको सघन शहरी विकास डिभिजन कार्यालय बागलुङले सञ्चालन गरेको यो योजना देव एण्ड सायर-बिएन-त्रिशक्ति जेभीले रु पाँच करोडमा ठेक्का लिएको थियो । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७५ माघ २२ गते सम्झौता गरेका ठेकेदारले हालसम्म रु दुई करोड मात्र भुक्तानी लगेको कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनीयर प्रभाकर कर्णले बताए ।  

विसं २०७७ माघ २२ गतेसम्म म्याद रहेको आयोजनाका ठेकेदारले विगत एक वर्षदेखि काम गरेका छैनन् । एक हजार ४०० मिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेकामा मङ्गलाघाटको तल्लो बजार क्षेत्रमा करिब २०० मिटर सडक ढलान भने २०७५ साउनमै गरिएको निर्माण कम्पनीका प्रतिनिधि नारायण जिसीले बताए ।  

“लकडाउनले रोकिएको कालोपत्र गर्ने कामलाई चैत महिनाभित्र सक्न प्लान्ट स्थापना गर्न लागिएको छ”, उनले भने, “यसअघि गरिएको कामको समेत भुक्तानी पाएको छैन । यसपालि पनि रु ८० लाखमात्र बजेट विनियोजन भएको छ ।”

यो सडकमा गर्ने भनिएको अक्सपाल्ट प्रविधिको कालोपत्रका लागि गर्मी मौसम आवश्यक पर्छ । चिसोमा सेटिङ हुँदैन । “नाली बनाउने, सडक फराकिलो र पर्खाल लगाउने काम सकिएको छ”, सिभिजनल इञ्जिनीयर कर्णले भने, “बेस र सवबेससमेत राखिसकेका छन् । छ महिना म्याद थप गर्न प्रक्रिया अघि बढाइएको छ ।” 

ठेक्काअनुसार गर्नुपर्ने कामको परिणाम पुर्याउन भेरिएसन अर्डर भिओ भइरहेको छ । सघन शहरी कार्यालय, प्रशासन, नगरपालिका र ठेकेदारबीच गत महिना भएको छलफलमा माघ महिनाभित्र अक्सपाल्टको प्लान्ट स्थापना गर्ने सहमति भए पनि अहिलेसम्म कार्यान्वयन नगरेका बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताए । रासस
 


Author

थप समाचार
x