गण्डकी

चर्को शुल्कले अस्पताल जान मान्दैनन् कोभिड संक्रमित

कास्कीमा आइसोलेसन भरिदैँ, अन्य जिल्लामा खाली

अनिष भट्टराई |
कात्तिक १८, २०७७ मंगलबार ७:५४ बजे

पोखरा : पोखरा-१५ की ७८ वर्षीया महिला निमोनिया भएपछि फिस्टेल अस्पतालमा उपचारका लागि गइन् । उनमा उपचारका क्रममा कात्तिक ८ गते कोभिड-१९ संक्रमण पुष्टि भयो । कोभिड पुष्टि भएपछि अस्पतालले राख्न नमानेको भन्दै उनका आफन्तले सोही दिन चरक मेमोरियल अस्पताल लगे ।

अस्पतालमा लगेपछि पैसा जम्मा गरे । पैसा जम्मा गरेपनि उनलाई भेन्टिलेटरमा राख्न अस्पतालले आनाकानी गर्‍यो । अस्पतालमा भर्ना भएकी ती महिलाको भोलिपल्ट राति ११ बजे अस्पतालमा उपचारका क्रममा निधन भयो ।


ती महिलामा कोरोना पुष्टि भएपछि घरका अन्य सदस्यको परीक्षण गर्दा उनका ८१ वर्षीय पतिमा पनि कात्तिक १२ गते कोरोना पुष्टि भयो । ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको २ दिन पछि उनको होम आइसोलेसनमै मृत्यु भयो । दीर्घरोगी रहेका उनलाई पनि आफन्तले अस्पताल भर्ना गर्न चाहेका थिए । तर पत्निमा कोरोना संक्रमण पुष्टि भएपछि गरिएको व्यवहार देखेर अस्पताल लगेनन् ।

आफन्तले पैसाको समस्याले भन्दा पनि अस्पतालले देखाउने व्यवहारका कारण अस्पताल नलगेको बताउँछन् । ‘चरकमा भर्ना गर्न पैसा तिर्‍यौं, पैसा तिरेपनि भेन्टिलेटरमा राख्न गाह्रो मानिरहे, त्यो व्यवहारले गर्दा उहाँ (८१ वर्षीय पुरुष संक्रमित)लाई लगेनौं,’ मृतकका आफन्त पर्नेले भने ।

अस्पतालमा गाह्रो परेर लगेका बेला अस्पतालले सोचे जस्तो व्यवहार नगर्दा संक्रमित बनेका पुरुषलाई योजनाबद्ध रुपमै अस्पताल नलगिएको ती आफन्तको भनाइ छ । ‘दीर्घरोगी हुनुहुन्थ्यो, घरमै ख्याल राख्ने सल्लाह गर्‍यौं,’ उनले भने, ‘अस्पतालमा गाह्रो नपरी कोही जाँदैन, पैसा तिर्दा पनि राम्रो व्यवहार भएन ।’

मृत्यु पछिको शव व्यवस्थापन प्रक्रियाले समेत परिवारलाई अर्को समस्या थपिदियो । ९ गते राति ११ बजे मृत्यु भएकी ती महिलाको शव १८ घन्टा पछिमात्रै व्यवस्थित गरियो । दसंैको दिन बेलुका ५ बजे मात्रै शवलाई व्यवस्थापनका लागि लगियो । ‘शव व्यवस्थापन प्रक्रिया कमजोर देखें, दसैंको दिन एउटा ड्राइभर नभएको भन्दै शवलाई ५ बजेसम्म त्यसै राखियो,’ मृतकका आफन्तले भने । भनेको बेलामा आइसोलेसन नपाएको र कोभिड भन्ने बित्तिकै अस्पतालले राख्न नखोज्दा प्रदेशमा भयावह अवस्था आउने उनी बताउँछन् ।

असोक मसान्तमा कुल कोरोना संक्रमितको संख्या ५ हजार ५ सय १ रहेको गण्डकी प्रदेशमा अहिले ७ हजार ८ सय ६३ जनामा संक्रमण पुष्टि भएको छ । ४२.५ प्रतिशतको हिसाबले कोरोना संक्रमितको संख्या बढिरहेको छ । गण्डकी प्रदेशमा सबैभन्दा बढी कोरोना देखिएको जिल्ला कास्कीमा झन् कोरोना संक्रमितको संख्या आकासिएको छ ।

असोज मसान्तसम्म १ हजार ४ सय ८३ जनामा संक्रमण पुष्टि भएको कास्कीमा सोमबारसम्म २ हजार ७ सय २२ जना संक्रमित छन् । कास्कीमा संक्रमणको दर उकालो लाग्दा आइसोलेसन अभाव र निजी अस्पतालको चर्को शुल्कले संक्रमित घरमै बस्न बाध्य छन् ।

पोखरामा आइसोलेसन सेन्टर भरिँदै छन् । सोमबारसम्मको तथ्यांक हेर्दा पोखरा महानगरमा रहेका ३ आइसोलेसनमा ११ बेड मात्र खालि छन् । पोखरा महानगरमा स्वास्थय विज्ञान प्रतिष्ठानमा ४० बेड, सरुवा रोग अस्पतालमा ४८ बेड तथा कृषि तालिम केन्द्र मालेपाटनमा ४२ गरी १ सय ३० बेडको आइसोलन सेन्टर छन् । स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा ३० संक्रमित छन् । सरुवा रोग अस्पतालमा ४७ संक्रमित र ४२ बेडको कृषि तालिम केन्द्रको आइसोलेसनमा ४८ जना संक्रमित छन् ।

जिल्ला स्वास्थ्य कार्यालय, कास्कीका प्रमुख बाबुराम आचार्यका अनुसार कास्कीमा आइसोलेसनमा बेड संख्या १ सय ४१ छ । पोखरा महानगरले भरतपोखरीमा ५० बेडको आइसोलेसन थप गरेको छ । तर आइसोलेसन सेन्टरको अभावमा आइतबार बेलुकासम्म १ हजार ३२ संक्रमित होम आइसोलेसनमा बसेका छन् ।

लक्षण नदेखिएका बिरामी, मध्यम लक्षण भएका बिरामी र घरमै बस्न इच्छा गर्नेलाई होम आइसोलेसनमा राख्ने व्यवस्था छ । तर पोखरामा कति संक्रमित डेरामा बस्छन्, सुविधा कति पुगेको छ÷छैन भन्ने जानकारी महानगर र जिल्ला स्वास्थ्य कार्यालयलाई नै छैन ।

कास्कीमा आइसोलेसन नपाएर बाध्यताले होम आइसोलेसनमा बस्दा प्रदेशका अन्य जिल्लामा भने आइसोलेसन खाली प्राय छन् । अन्य जिल्लामा आइसोलेसनमा बस्नेभन्दा आफ्नै रुचिले होम आइसोलेसनमा बस्ने गरेका छन् । स्याङ्जामा ७ वटा आइसोलेसन सेन्टर छन् । २ सय ३२ बेडका ती आइसोलेसनमा अहिले केबल ३७ जना बसेका छन् । १४ संक्रमित होम आइसोलेसनमा छन् ।

तनहुँमा रहेका ७ आइसोलेसन सेन्टरमा अहिले ७८ संक्रमित छन् । १ सय ५८ बेडका ती आइसोलेसन खाली जस्तै रहँदा जिल्लाका २ सय १४ संक्रमित होम आइसोलेसनमा बसेका छन् । म्याग्दीमा रहेका १ सय ५ बेडका आइसोलेसनमा केबल २४ जना छन् । १६ जना होम आइसोलेसनमा छन् ।

नवलपरासीमा आइसोलेसन सेन्टरमा बस्नेको तुलनामा होम आइसोलेसनमा बस्नेको संख्या अत्याधिक छ । १७ जना आइसोलेसन सेन्टरमा बस्दा ४ सय २६ जना होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन् । नवलपरासीमा ५ आइसोलेसन सेन्टरमा २ सय ७२ बेड रहेको छ ।

पर्वतमा २६ जना होम आइसोलेसन र ७ जना आइसोलेसन सेन्टरमा छन् । पर्वतमा अहिले १ सय २८ बेडको अस्थाई कोरोना अस्पतालका नाममा आइसोलेसन चलाइएको छ । बागलुङमा १ सय ११ बेड क्षमताको आइसोलेसन रहेपनि ११ जना मात्रै आइसोलेसन सेन्टरमा छन् । ३६ जना घरमै बसेका छन् ।

लमजुङमा ३ जना आइसोलेसन सेन्टर र ३१ जना होम आइसोलेसनमा बसेका छन् । त्यहाँ १ सय ५० बेडको आइसोलेसन सञ्चालित छ । गोरखामा १ सय २१ बेडको आइसोलेसन रहे पनि २ संक्रमित मात्रै आइसोलेसनमा छन् । मनाङ र मुस्ताङका सबै आइसोलेसन खाली छन् ।

आइसियु-भेन्टिलेटर कति ?
प्रदेशमा आइसियु र भेन्टिलेटरको संख्या अहिलेको अवस्थालाई पर्याप्त छ । तर निजी अस्पतालमा आइसियु, भेन्टिलेटर खाली हुँदा सरकारी अस्पतालमा आइसियु भेन्टिलेटरको संख्या अझैपनि कम छ । प्रदेशभित्र ३ सरकारी अस्पतालमा २४ वटा  आइसियु र १७ भेन्टिलेटर छन् । तीमध्ये ७ वटा मात्रै आइसियु र ९ भेन्टिलेटर मात्रै खाली छन् । कास्कीमा रहेको सरकारी अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ वटा मात्रै आइसियु खाली छन् ।

कास्कीको सरकारी अस्पतालमा खाली रहेका आइसियुको संख्या कम हुँदा निजी अस्पतालमा भने आइसियु बेड अत्याधिक मात्रामा खाली छन् । पोखराका १२ निजी अस्पतालमा ९३ वटा आइसियु र ३७ भेन्टिलेटर खाली छन् । 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x