गण्डकी

आँधीमूल हैन आँडीमूल

आँडीमूलमा दलित, मगर, गुरुङले मन्दिर बनाए, पुजारी मगर छन्, सबै जातिको उत्तिकै आस्था छ ।

अनिष भट्टराई |
फागुन १५, २०७७ शनिबार १०:११ बजे

पोखरा : पृथ्वी राजमार्गबाट केहीमाथि सानो वनको बिचबाट सिँढी बनाइएको छ । बार्दलीसहित गोठ बाटोमा भेटिन्छन् । आँबुखैरेनी सत्रसय फाँटबाट उकालो लाग्नेबित्तिकै सुनिन्छ चराचुरुङ्गीको चिरबिर । केहीमाथि गएपछि देखिन्छ बस्ती । 

बाटामुनि छन् घरहरू । निर्माणाधीन बाटो धुलाम्मे छ । धुलोले घरका नीला टिन खैरो देखिन्छन् । जताततै बाटैबाटा बनाइएका छन् । सत्रयसबाट ३ दशमलव ३ किलोमिटर पार गरेपछि शान्त, धुलोले नछोपेको, शीतल ठाउँ पुगिन्छ । समुद्री सतहबाट ६ सय मिटरमाथिको आँडीमूलमा एउटा एउटा मन्दिर छ । ठूलो मन्दिरभित्रै ३ वटा स–साना मन्दिर छन् । मन्दिर तल पोखरी छ । पोखरीबाट २२ धारा निकालिएका छन् । 


‘एक आमाछोरी गोरु चराउन गएछन् । चराउँदै जाँदा छोरी तिर्खाइछन् । छोरी तिर्खाएपछि आमा पाती घारी कटेर छोरीका लागि पानीमुल खोज्दै हिँडिन् । एक कुनामा आमाले पानी रसाएको देखिछन् । अनि छोरीलाई मगर भाषामा भनिछन्, ‘आँ डी ।’ मगर भाषामा डी भनेको पानी हो । त्यसैले पछि बोल्दै जाँदा यो ठाउँको नाउँ आँडी मूल हुन पुग्यो । आँधी नै आए पनि जोगाउने ठाम पनि भन्छन् अनि यसलाई ।’ यो कथा सुनाएर आँडी मूलको मन्दिरमा भेटिएका जोगबहादुर थापा मगरले ।

तल पोखरीमा पानी छल्किरहन्छ । माछाहरू आफ्नै गतिले पौडिरहँदा जोगबहादुरले पनि यही ठाउँको कथामा डुबुल्की लगाए । उनको दिन आँडीमूलमै बित्छ । बिहान ६ बजे आँडीमूल आइपुग्छन् । मन्दिरमा दियो बाल्छन्, कसेर बडार्छन् । केहीबेर पोखरीका माछा हेर्छन् । मन्दिर पूर्वपट्टिको मैदानमा सुसेली हाल्दै बस्छन् । भक्तहरू आएपछि फेरि मन्दिर जान्छन् ।  


बिहान दियो जलाएदेखि आरती नगरेसम्म घर फर्किँदैनन् । जोगबहादुरको यस्तो दिनचर्यामा २१ वर्ष बित्यो । जिन्दगीका ५८ हिउँदबर्खा गरिसकेका उनको जीवनको उर्वर उमेर यही मन्दिरमै बितेको छ । ‘पैसा त कहिले पाउँछु, कहिले पाउँदिनँ, कहिले त आरती गर्ने तेल आफ्नै खल्तीको पैसाले किन्नुपर्छ,’ उनले सुनाए । 

आँडीमूलको नाम कसरी रह्यो भन्नेबारे उनले आफूले जानेजति बुझाउने प्रयास गरे । आँडीमूलको बारेमा इतिहास सुनाइसकेपछि उनले फेरि भने, ‘यो मन्दिरको इतिहास अर्कै छ नि, मैले त ठामको मात्रै भनेको हो ।’ मनकामना देवीकी दिदी त्यो ठाउँ हुँदै मामाघर जाँदा बाघले आक्रमण गरेर मर्दा माछाले केही भाग खाएपछि उनी कालदेवीको रूपमा त्यहाँ स्थापित भएको किम्वदन्ती उनले सुनाए । ‘यो देवीले त सबै भोग खाइदिन्छिन्, कुखुरा, खसी सबै,’ जोगबहादुरले भने ।
 
आँडीमा एउटा मन्दिर हालसालै बनेको छ भने दुई मन्दिर केही पुराना छन् । त्यहाँका ३ मन्दिर आँडीका सबै समुदाय मिलेर बनाएका रहेछन् । अन्तिमपटक बनाइएको मन्दिर २०५२ सालमा ईन्द्रबहादुर मास्की मगरले बनाएको शिलालेख छ । पुराना भनिएका मन्दिर स्थानीय २ महिलाले बनाएको बताइन्छ । सुरुमा पाकुली दमिनीले त्यहाँ मन्दिर बनाइदिएको जोगबहादुरले बताए । पाकुली दमिनीको निधन भइसकेको र आफू मर्ने बेलामा कोही नभएकाले मन्दिर बनाएर स्वर्ग गएको जोगबहादुर विश्वास गर्छन् । ‘भुजेल, मगर, गुरुङ, दमाइ सबैले बनाएको हो, पहिलाबाट नै सबैजना मन्दिर छिर्न पाउँथे, दमाइले नै बनाएसि रोक्ने कुरा नि आम्थेन,’ जोगबहादुरले सुनाए । 

मन्दिर परिसरमा एउटा रुखको ठुटो छ । सुरुमा मन्दिर नहँुदा स्थानीयले रुखमा पूजा गर्थे । अहिले त्यहाँ गोरखा, लमजुङ, स्याङ्जाबाट दर्शनार्थी पुग्छन् । शनिबार भक्तहरूको घुइँचो लाग्छ । ४/५ वटा बसमा भक्तजन आउने गरेको जोगबहादुरले बताए । ‘अहिले त पूरै परिवर्तन भइसक्यो, पहिला त पातीपाती हुन्थ्यो,’ जोगले भने । 

पातीको ठूलो झाडी थियो । गाउँलेले शनिबार/शनिबार पाती काटेर बाटो सफा त गर्थे । तर सत्रसयबाट नै हिँडेर जाँदा बाघ र अरु वन्यजन्तुको डर हुन्थ्यो । एक्लै हिँड्न प्राय गाउँले डर मान्थे । अहिले गण्डकी प्रदेशको आर्थिक मामिला तथा कानुन मन्त्रालयको बागडोर सम्हालिरहेका हरिबहादुर चुमान यसै ठाउँका हुन् । युवावस्थामा हुँदा चुमानलाई लाग्थ्यो कि, ‘यहाँ बाटो बनाउन सके त ठाउँ नै कायापलट हुन्छ ।’ 

चुमानले जिल्ला विकास समितिमा ८/९ वर्ष पार्टी प्रतिनिधि भए । आफूले त्यति बेला विकासभन्दा पनि संरक्षणको काम गरेको बताउँछन् । ‘त्यो बेला बजेट पनि धेरै हुन्थेन, विकासको काम त भएनन्, संरक्षण गर्‍यौ,’ उनले सुनाए । 

खड्गबहादुर विश्वकर्मा पर्यटनमन्त्री हुँदा आफूले निकै जोडबल गरेर बजेट पारेको चुमान सम्झन्छन् । बाटो बनाउन आफूले निकै पहल गरेपछि बजेट प्राप्त भएको र त्यसैले बाटो चिनिएको उनले सुनाए । ‘यो बाटो २ रुपैयाँले चिठिएको (चिनिएको÷निर्माण गरिएको) हो, अहिले यस्तो अवस्थामा ल्याइपुर्‍यायौं,’ उनले भने । 

मन्त्री चुमानले भने झैं बाटो २ रुपैयाँले चिठिएको चाहिँ होइन । उनको यो ठट्टा थियो । ‘२ रुपैयाँमात्रै भए पनि हाल्दिनु भनेर धेरै कर गरेपछि काम भएकाले २ रुपैयाँले चिठेको भनेको हुँ,’ उनले सच्च्याए । 

अहिले भने गाउँपालिका आफैंले बाटो कालोपत्र गर्ने योजना अनुसार त्यहाँ काम भइरहेको छ । अघिल्लो वर्ष सम्झौता भएअनुसार गाउँपालिका आफैंले बाटो बनाइरहेको हो । ३ लाख १५ हजारको रुपैयाँको लागतमा अकला सहकारी टोलबाट आँडीमूल जोड्ने काम अहिले भइरहेको छ । 

आँधीमूल हैन आँडीमूल 
आँडीमूलमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले बिहीबार स्थानीयसँग अन्तक्र्रिया गरेको थियो । ‘आँडीमूलको विकासमा सञ्चारको भूमिका’ अन्तक्र्रियामा वडा पदाधिकारी, स्थानीय, पर्यटनकर्मी आँडीमूलको नाम अपभ्रंस गरिएकोमा चिन्तित देखिन्थे । आँडीमूललाई आँधीमूल भनेर प्रचार गरिएकोमा उनीहरूको रोष थियो । 

आँबुखैरनी गाउँपालिका–१ का वडाध्यक्ष किसन थापाले सरकारी अभिलेखमा ठाउँको नामलाई सच्याउन आग्रह गरे पनि पूरा नभएको सुनाए । आँडीमूलको नाम केबल ठाउँको नाममात्र नभएर मगर जातिको भाषा, ठाउँको इतिहाससँग पनि जोडिएकाले ठाउँको नामलाई सच्च्याइनुपर्ने उनको माग थियो । 
  
पर्यटनकर्मी हरिसिंह गुरुङले आँडीमूललाई आँडीमूल नै भनेर प्रचार गरिनुपर्ने सुनाए । ‘ठाउँको जुन विशेषता हो, त्यही अनुसार प्रचार गरिनुपर्छ, अझ आँबु गण्डकीको मुख्यद्वार भएकाले यसले पछि राम्रो प्रचार पाउनुपर्छ,’ उनले भने । 

तर आँडीको संरक्षणमा स्थानीय तह केही कमजोर देखिन्छ । त्यहाँ नेटवर्कको समस्याले पर्यटकहरू आजित बन्छन् । जानेबाटो निर्माणाधीन भए पनि कामको गतिले अहिलेसम्म रफ्तार समाउन सकेको छैन । अझै ७५० मिटर बाटो कालोपत्रे हुन बाँकी रहेको पालिकाका प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरलले बताए । प्रदेश सरकारले आँडीलाई गण्डकीका प्रमुख ११० पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको छ । अब मूलको संरक्षण गरेर आँडीको प्रचारमा सहयोग गर्ने सोही निर्वाचन क्षेत्रबाट विजयी भएका आन्तिरक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले वाचा गरे । 

शिक्षक कमल सापकोटाले गीतमार्फत आँडीको बयान गरे । आँडीको संरक्षण र विकासमा उतिसाह्रो ध्यान सरकारी तहले नदिएको उनले गीतमार्फत सुनाए । 
हिँडेर गए लाग्छ पौने घन्टा 
आएपछि मन जाँदैन अन्त 
चारैतिर डाँडैकाँडाबीचमा सानो खोंच 
यो ठाउँको प्रवद्र्धनमा जगाऔं अब सोच
यताउता माछी खेल्ने ताल 
यति सुन्दर सम्पदालाई जोगाऔं सालसाल


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x