गण्डकी

विधान विपरीत कार्य गर्नेलाई कारबाही हुन्छ : सभापति शर्मा

इकागज |
चैत १४, २०७८ सोमबार १८:४९ बजे

पोखरा - नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विधान विपरीत कार्य गर्नेलाई कारबाही गरिने बताएका छन् । 

आगामी वैशाख ३० गते हुने स्थानीय तहलाई लक्षित गरी नेपाली कांग्रेस तनहुँको व्यवस्थापन र प्रदेश कार्यसमितिको आयोजनामा आज दमौलीमा आयोजित प्रशिक्षण एवं अन्तरक्रियामा सभापति शर्माले कांग्रेस कार्यकर्ता अनुशासनमा बस्नुपर्ने बताए । 


पार्टीको हित विपरीत कार्य गरेमा तत्कालै कारबाही गरिने बताउँदै उनले भने, `पार्टीको विधान विपरीत कोही पनि जानु हुँदैन, विधान विपरीत भएको पाइए तत्कालै कारबाही गर्छौँ ।`

शर्माले कांग्रेस पुरानो शक्ति भएको उल्लेख गर्दै आफूलाई नभनी अर्काका लागि भनेर लड्नुपर्ने बताए । उनले स्थानीय तहको निर्वाचनमा पार्टीलाई जिताउन सबै एकढिक्का भएर लाग्नुको विकल्प नभएको उल्लेख गरे । 

कार्यक्रममा कांग्रेस तनहुँका सभापति जितप्रकाश आले, पूर्वसभापति रघुनाथ पौडेल, गण्डकी प्रदेश सदस्य शान्तिरमण वाग्ले, जिल्ला सचिव लक्ष्मीभक्त खनाल लगायतले पार्टीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए । रासस


Author

थप समाचार
x