गण्डकी

पर्यटन

पोखराको ‘छाना’ महापुरुष डाँडा

अनिष भट्टराई |
चैत ८, २०७७ आइतबार ८:२३ बजे

पोखरा : नीलो आकासमा माछापुच्छ्रेको हिउँ टलक्क टल्किन्छ । देब्रेतिर अन्‍नपूर्ण हिमशृंखला र दाहिनेतिर भेडाबारी, लाहाचोक, घाचोक । सीधा अगाडि हेर्ने हो भने देखिन्छन्, स–साना घरका लामबद्ध टिनका छानाहरु । बिहानीको उज्यालो घाममा कुनै टिन चम्किन्छन् त कुनै सुनौला देखिन्छन् । 

पोखराको मुख्यचोकबाट हेर्दा निकै अग्लो देखिने काहुँडाँडा पनि यहाँबाट पुड्को देखिन्छ । नागबेली बाटा र ससाना थुम्काहरु माछापुच्छ्र्रेको काखमा बसेर हेर्दा जो कोहीको मन हर्षित हुन्छ । 


पोखरा महानगर–१६ अर्मलाकोटको महापुरुषडाँडाबाट देखिने दृश्य हो यो । डाँडामा एउटा गोठको भग्नावशेष छ । घरमा एक साधुले तपस्या गरेको र उनकै नाममा डाँडाको नाम ‘महापुरुष’ राखिएको स्थानीय बताउँछन् ।

 ‘यहीँ बस्ने, खाने अनि पोखरा, हिमाल हेरेर तपस्या गरेकाे र पछि हराएकाे भन्‍ने जनविश्वास छ । उहाँ महापुरुषकै नाममा यो डाँडा छ,’ स्थानीय कर्ण गुरुङ भन्छन् । 

अर्मलाकोटबाट करिब सवा दुई घन्‍टाकाे उकालो हिँडेपछि महापुरुष डाँडा पुगिन्छ । अर्मलाकोटबाट केही माथिसम्म मात्र गाउँलेले सिँढी छापेका छन् । बाँकी बाटो निर्माणकै चरणमा छ । 

समुद्री सतहबाट दुई हजार एक सय ४० मिटर उचाइमा रहेको महापुरुष पोखराकै अग्लोमध्येको एक डाँडा हो । तर पोखराकै ‘छानो’ भएपनि यो ठाउँले उति साह्रो चर्चा भने पाउन सकेको छैन । गण्डकी प्रदेशसभा सदस्य कृष्णबहादुर थापा भन्छन्, ‘अग्लो हो भने अग्लो भनेर प्रकाशन नै गरौं, अब यो ठाउँमा पर्यटक ल्याउन जे गर्नुपर्छ त्यही गर्ने हो ।’

महापुरुष डाँडा तलको अर्मलाकोटमा गाउँलेले घरबास सञ्चालन गरेका छन् । गुरुङ जातिको बाहुल्य रहेको अर्मलाकोटमा बेलुका गुरुङ भाषाका गीतहरु सँगै रोधी गाइन्छ । 

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङलाई अर्मलाकोटमा रोधी बस्ने धोको छ । शिवरात्रिमा आयोजित सांस्कृतिक कार्यक्रममा पनि उनी गाउँलेसँगै गुरुङ भाकामा नाचे । उनको धोको भने अझै मरिसकेको छैन । अब उनलाई हरेक वर्ष अर्मलामा पुग्ने धोको छ । ‘म अब हरेक वर्ष यहाँ आउनेछु, यो मेरो आफ्नै घर हो, घरमा बल्ल फर्किएँ, निकै भावुक छु,’ उनले भने । 

गाउँको पल्लो छेउमा एउटा पुरानो घर छ । ढुंगाले छापिएको आँगन । घरको छानो पनि ढुंगाले नै छाइएको छ । खाँबाहरू पुराना बनेका छन् । सानो दैलोबाट भित्र दलिन राखिएको छ । भित्रै आगो सल्काइने हुँदा भित्ताहरू कालो बनेका छन् । भर्‍याङ चढेर माथि गएपछि मकै देखिन्छन् । 

स-साना तीन वटा झ्याल राखिएको छ । झ्यालबाट घामका केही मात्रै किरण छिर्छन्, त्यसकारण घरको आँटी प्राय अँध्यारो रहन्छ । धन्सार र घर आमनेसामने पारेर बनाइएको छ । धन्सारको भने ढोका ठुलो छ । ‘डियाँ’का लागि घाँस, पराल त्यहीँ राखिन्छ । 

यो घर त्यही हो, जहाँ अहिले नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ बसेका थिए । पोखरा महानगर–१६ अर्मलामा रहेको यो घर अहिले पनि दुरुस्तै छ । पञ्चायतकालमा भूमिगत हुँदा किरणले पहिलो पटक ‘सेल्टर’ लिएको घर शेरा गुरुङको हो । 

अहिले पनि घर उभिएकै छ, तर घरका मान्छे छैनन् । छन् त केवल यादहरु । किरण गुरुङ ४ दशकपछि शिवरात्रिको छेको पारेर त्यो घरमा पुगे । घरले उनलाई नोस्टाल्जिक बनाइदियो । उनी त्यो घरमा बस्दाताका यादबारे धाराप्रवाह लगाउँदै थिए । 

मन्त्री गुरुङले अर्मलाको विकासमा सहयोग गर्ने वाचा गाउँलेलाई गरे । अहिले बाटोको समस्या रहेपनि बाटोको स्तरोन्नति छिट्टै गरिने उनको प्रतिवद्धता थियो । केही समयअघिसम्म अर्मलामा टेलिकमको एउटा टावर पनि थिएन । 

अहिले भने त्यहाँ नेपाल टेलिकमको टावर राखिएको छ । र बाँडिएको छ निःशुल्क सिम कार्ड । गुरुङहरुको समाधिस्थल गाउँनिरै छ । समाधिस्थलको संरक्षण र अर्मलाको होमस्टेको प्रवर्द्धन गरिनुपर्ने मन्त्री गुरुङको इच्छा थियो । 

मन्त्री किरण गुरुङले आफ्नो गाउँ घुमेपछि स्थानीयमा पनि आशा छाएको छ । अब अर्मलाले रुप फेर्ने स्थानीयको आशा छ । कर्ण गुरुङ भन्छन्, ‘मन्त्रीज्यूले आफ्नै गाउँ भनेर अपनत्व लिनुभएको छ, अब गाउँ फेरिन्छ, विकास त भइरहेकै छ ।’

गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिवसमेत रहेका अर्मलाका स्थानीय तेज गुरुङ गाउँमा हाई अल्टिच्युडको खेल प्रवर्द्धन गर्न सकिने बताए । मन्त्री गुरुङले यसमा आफूहरुलाई सहयोग गर्ने उनको अपेक्षा थियो ।

पोखरालाई सहजै अर्मलाकोट-महापुरुष डाँडासँग जोड्न केबलकार पनि राख्न सकिने उनको भनाइ थियो । ‘केबलकार पछि ल्याउन सकिएला, अहिले बाटो राम्रो बनाउने बित्तिकै यहाँ पर्यटकहरु बढिहाल्छन्,’ उनले भने ।
 
 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x