गण्डकीमा टाइफाइडविरुद्धको खोप शुभारम्भ
पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशमा टाइफाइड खोप अभियानको शुभारम्भ गरेका छन् । पोखराको अमरसिंह माविमा बिहीबार आयोजित कार्यक्रममा मुख्यमन्त्री पोखरेलले आगामी वैशाख १८ गतेसम्म चल्ने टाइफाइड खोप अभियान शुभारम्भ गरेका हुन् ।
सो अवसरमा मुख्यमन्त्री पोखरेलले अन्य १२ खोपले सफलता पाएजस्तै टाइफाइडमा पनि सफलता पाउने विश्वास व्यक्त गरे । उनले यस अभियानबाट प्रदेशका १५ महिनादेखि १५ वर्ष उमेर समूहका ५ लाख ६० हजार २ सय २७ बालबालिकाहरुलाई बालबालिका लाभान्वित हुने उल्लेख गरे ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मधुमाया अधिकारी गुरुङले नेपालले पहिलोपटक टाइफाइड रोगविरुद्धको खोप अभियान सुरु गर्न लागेको जानकारी दिइन् । कोभिडविरुद्धको खोप अभियानमा गण्डकी प्रदेशले सफलता हासिल गरेजस्तै टाइफाइड रोगविरुद्धको खोप अभियानलाई पनि सफल बनाउने प्रतिबद्धता जनाइन् । पोखरामा शुभारम्भपछि प्रदेशका ११ वटै जिल्लामा खोप सुरु हुनेछ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मान्यता दिइसकेको र औषधि विभागबाट स्वीकृति प्राप्त गरी नेपाल भित्रयाइएको खोपको ९६.९५ प्रतिशत प्रभावकारिता र सुरक्षित भएकाले ढुक्क भएर लगाउन अभियानका प्रादेशिक संयोजक एवं पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका बालरोग विशेषज्ञ डा. रामचन्द्र बास्तोलाले आग्रह गरे। खोप लगाएकाहरुलाई खोप लगाएको स्थानमा दुख्ने, ज्वरो आउने, वान्ता हुने, पखला लाग्ने जस्ता प्रभाव देखिएपनि आत्तिहाल्नुपर्ने अवस्था नहुने उनको भनाई थियो ।
यो खोप १ सय २ डिग्री फरेनहाइटभन्दा माथि ज्वरो भएका बिरामी, गर्भवती महिला, एचआईभी संक्रमितहरु र क्षयरोगका बिरामीले लगाउन नहुने डा. बास्तोलाले जानकारी दिए । यो सँगै कोभिड भ्याक्सिन लगाएको १४ दिनपछि मात्र टाइफाइड भ्याक्सिन लगाउन उनको सुझाव थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया