गण्डकी

भिमादमा उम्मेदवार सिफारिस गर्न नै मतदान

इकागज |
चैत २९, २०७८ मंगलबार १५:४० बजे

फाइल फोटो

काठमाडौँ - नेकपा एमाले भिमादनगर कमिटीले आसन्न स्थानीय तह निर्वाचनमा प्रमुख पदको उम्मेदवार छनोटका लागि मतदान गरेको छ । 

प्रमुख पदका लागि आठ जना आकाङ्क्षी भएपछि भिमाद नगर कमिटीले आज मतदानमार्फत् दुई जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो । 


मतदानमार्फत् भिमाद नगर कमिटीका अध्यक्ष इमानबहादुर थापा र दधिराज सुवेदी प्रमुख पदका उम्मेदवारका लागि सिफारिस भएका छन् । 

थापाले ५७ र सुवेदीले ५८ मत प्राप्त गरेका छन् । वर्तमान नगरप्रमुख मेखबहादुर थापाले ३६ मत प्राप्त गरे । 

यसैगरी उपप्रमुखमा शारदा खनाल, नारायणी गैह्रे र चन्द्रावती श्रेष्ठ सिफारिस भएका छन् । 

एमालेको विधान बमोजिम प्रमुख र उपप्रमुखमा क्रमशः दुई पुरुष र एक महिला उम्मेदवार सिफारिस गर्नुपर्ने प्रावधान थियो । 

सबै उम्मेदवारबीच छलफल भएपनि सहमति नभएपछि मतदानमार्फत् उम्मेदवार सिफारिस गरिएको बताइएको छ 

घिरिङ गाउँपालिकामा पनि उम्मेदवार सिफारिसका लागि मतदान भएको छ । एमालेले मतदानमार्फत् अध्यक्ष र उपाध्यक्षका उम्मेदवार सिफारिस गरेको छ । 

अध्यक्षमा दश जना आकाङ्क्षी भएपछि गाउँ कमिटीले मतदानमार्फत् उम्मेदवार टुङ्गो लगाएको हो । 

अध्यक्षका लागि वर्तमान अध्यक्ष रनबहादुर राना र होमबहादुर थापा सिफारिस भएका छन् । 

उपाध्यक्षमा भने वर्तमान उपाध्यक्ष सरस्वती सिग्देल सिफारिस हुन सकिनन् । उपाध्यक्षका लागि दुर्गा थापा, सुकमाया गुरुङ र राधा अधिकारी सिफारिस भएका छन् । रासस
 


Author

थप समाचार
x