टिकट नटुंगिँदै भोट माग्न घरघरै
पोखरा- नेकपा एमालेले कास्कीको रुपा गाउँपालिकाबाट हालकै अध्यक्ष नवराज ओझाले टिकट नटुंगिँदै भोट माग्न घरघरै पुग्न थालेका छन् । टिकटमा नाम सर्वसम्मतले सिफारिस भएपछि उनी भोट माग्न सक्रिय बनेका हुन् ।
ओझालाई अध्यक्षमा र उपाध्यक्ष लालसुब्बा गुरुङको नाम सर्वसम्मतले सिफारिस गरिएको छ ।
यससँगै सबै वडाका अध्यक्ष र सदस्यहरूको समेत सर्वसम्मत नाम सिफारिस गरिएको छ । नाम सिफारिस हुने बित्तिकै अध्यक्ष ओझाले आफूले पाएको सरकारी गाडी फिर्ता दिएर चुनावी प्रचारमा हिँडेका छन् ।
उनको नाम सिफारिस भए पनि पार्टीबाट टिकट टुंगिएको छैन । ओझाले उपाध्यक्ष गुरुङलाई समेत साथमै लिएर वडावडामा भेला र चुनाव प्रचार सुरु गरेका हुन् ।
एमालेले ओझालाई नै टिकट दिने लगभग सहमति छ । त्यसैले भोट माग्न हिँडेका हुन् । ‘सर्वसम्मत नाम सिफारिस भएकोले हामीलाई समस्या भएन । माथिबाट अरू नाम आउने सम्भावना खासै छैन,’ ओझाले भने, ‘हामी टिमसहित भोट माग्न हिँडेका छौं ।’ ओझाले यसअघिको निर्वाचनमा ८९५ मतान्तर सहित कांग्रेस उम्मेदवार प्रकाशमोहन खनाललाई पराजित गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया