गण्डकी

पोखरामा कांग्रेसबाट मेयरका लागि १८, उपमेयरका लागि १० जना आकांक्षी

इकागज |
बैशाख ४, २०७९ आइतबार १६:४३ बजे

वैशाख - नेपाली कांग्रेसबाट पोखरा महानगरपालिकाको मेयरमा १८ र उपमेयरमा १० जनाले आन्तरिक उम्मेद्वारी दिएका छन् । कांग्रेस पोखरा महानगर समितिले आइतबार ४ बजेसम्म इच्छुकहरूलाई उम्मेदवारी दर्ता गराउन निर्देशन जारी गरेको थियो ।

सोही निर्देशन अनुसार मेयरका लागि १८ जनाले आवेदन दिएको कांग्रेस पोखरा महानगर समितिका सचिव गणेशबहादुर थापाले जानकारी दिए । भने उपमेयरमा १० जनाले आकांक्षा व्यक्त गरेको छन् । मेयरमा गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा ममिला मन्त्री विन्दुकुमार थापासहित सुदीपमोहन भट्टराई, डा. परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्माचार्य, कृष्णबहादुर केसी, बाबुराम आचार्यले आवेदन दिएको उनले बताए । यस्तै, सरस्वती गुरुङ, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्रनारायण बिजुक्छे, विश्वशंकर पालिखे, किशोरदत्त बराल, बाबुराम गिरी, गणेशबहादुर भट्टराई, कोपिला रानाभाट, किरण केसी, विश्व घिमिरे र ऋषि सापकोटाले उम्मेद्वारी दिएको थापाले बताए ।


यस्तै उपमेयरका लागि माया बराल कार्की, लक्ष्मी पाण्डे, आनन्दी राणा कार्की, रंगिला आचार्य, टिकाकुमारी गुरुङ, दिपक मल्ल, मिलन थापा, चिनु गुरुङ, शिव केसी र गोविन्द नेपालीले उम्मेदवारी दर्ता गराएका छन् । आवेदन दिनेहरूमध्येबाट पार्टीले मेयर र उपमेयरका उम्मेद्वार चयन गर्नेछ । आकांक्षी मध्येबाट केन्द्रलाई सिफारिस गर्ने नामको टुंगो बैठक बसेर लगाउने थापाले जानकारी दिए । ‘पहिला हाम्रो बैठक बस्छ त्यसपछि कसरी जाने के गर्ने टुंगोमा पुग्छौं,’ उनले भने, ‘महानगर समितिमा उम्मेद्वार छनोट उपसमिति पनि छ यसैबाट छनोटको काम अघि बढ्छ ।’


Author

थप समाचार
x