गण्डकी

बागलुङमा दलहरूलाई उम्मेदवार छान्नै सकस

इकागज |
बैशाख ४, २०७९ आइतबार २०:१५ बजे

फाइल फोटो

बागलुङ - नेकपा (एमाले) बागलुङको दुई साताअघि सदरमुकाममा गत चैत २४ र २७ गते बसेको बैठकले पालिकाको उम्मेदवार टुङ्गाउने निर्णय गर्‍यो । तर तोकिएको समयावधिमा काठेखोला गाउँपालिका–५ मा मात्र सर्वसम्मत उम्मेदवार छानिए । वडाध्यक्षमा हिमबहादुर क्षेत्रीको नाम सिफारिस भयो । 

त्यसयता एमालेले केही वडामा बाहेक अन्यमा उम्मेदवार छान्न सकेको छैन । पालिकामा त झन् उम्मेदवार चाँडै टुङ्गिने छाँटकाट छैन । 


एमालेका बागलुङ नगरअध्यक्ष धनबहादुर परियारले नगरप्रमुखमा ६ आकाङ्क्षीको नाम जिल्ला कमिटीमा पठाइने जानकारी दिए ।  

`सोमबारसम्म नाम पठाउँछौँ, जिल्ला कमिटीले सिफारिस गर्छ, प्रदेशले निर्णय गर्छ`, उनले भने, `नगरका १४ वडामध्ये ६ मा वडाध्यक्षका उम्मेदवार सर्वसम्मत चयन भएका छन् ।` नगरप्रमुखमा उनीसँगै गीता शर्मा, गणेश थापा, शिव सापकोटा, कुमार खड्का र राम शर्मा आकाङ्क्षी छन् । 

एमालेले उम्मेदवार चयनमा सम्भव भए सर्वसम्मत नभए एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न भनेको छ । तर सर्वसम्मत उम्मेदवार चयन न्यून ठाउँमा भएको छ । अघिल्लो चुनाव जितेको र बलियो जनमत भएका वडा तथा पालिकामा उम्मेदवारका आकाङ्क्षी बढी छन् । 

यस्तै सत्ता गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र)ले पनि अहिलेसम्म उम्मेदवार छान्न सकेको छैन । सो पार्टीका जिल्ला इञ्चार्ज बलावती शर्माले सोमबारसम्ममा पालिका तहबाट उम्मेदवारको सूची आइसक्ने बताए । `उम्मेदवार सर्वसम्मत हुने त कतै देखिएको छैन, दाबी गर्ने धेरै छन्`, उनले भने, `आएका नामलाई सुझावसहित जिल्लाले प्रदेशमा पठाउँछ, प्रदेशको निर्णय केन्द्रबाट अनुमोदन हुन्छ ।`

पाँच दलीय गठबन्धनबीच चुनावी तालमेलको स्पष्ट ढाँचा र टिकट बाँडफाट नटुङ्गिएकाले पनि उम्मेदवार चयनमा ढिलाइ भइरहेको छ । गठबन्धनबाहिर रहेका एमालेलगायत दल पनि विपक्षीका उम्मेदवार हेरेर त्यहीअनुसार आफ्नोलाई उभ्याउने रणनीतिमा छन् । गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले   केही वडामा बाहेक उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन ।

कांग्रेस जिल्ला सचिव हरिहर शर्माले पालिकास्तरमा आकाङ्कीको सूची तयार भए पनि सिफारिसको प्रक्रियामा नगएको बताए । `गठबन्धन गर्ने भनेपछि अहिले नै उम्मेदवार चुन्दापछि समायोजन गर्न कठिन हुने भएकाले थप प्रकृया अगाडि बढेको छैन`, उनले भने, `गठबन्धनमा सहमति भएपछि उम्मेदवार पनि टुङ्गिन्छ ।` कांग्रेसले नगरपालिकाको प्रमुख÷उपप्रमुखमा उम्मेदवारको टुङ्गो प्रदेश संसदीय समितिमार्फत लगाउने सचिव शर्माको भनाइ छ । गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष जिल्ला र वडाको तहको निर्णय क्षेत्रीय संसदीय समितिले अनुमोदन गर्ने बताइएको छ ।  

गलकोट नगरपालिकाको प्रमुखमा १४, बागलुङमा १२ र जैमिनीमा ११ जनाले दाबी गरेको छन् । विसं २०७४ को स्थानीय तह चुनावमा गलकोट र जैमिनीमा कांग्रेसले जितेको थियो । एकातिर आकाङ्की बढी हुनु र अर्कोतर्फ गठबन्धनभित्र टिकट बाँडफाट समयमै नमिल्दा उम्मेदवार चयनमा दलहरुबीच अलमल देखिएको छ । 

गठबन्धन भित्रका राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीमा पनि उम्मेदवार चयनको विषय थाती छ । गठबन्धन दलबीच टिकट बाँडफाटमा कुरा मिलेपछि मात्र उम्मेदवार खडा गर्ने तयारीमा ती दल छन् । गठबन्धनमा भने भागबण्डाको विषय पेचिलो बन्दै गएको छ ।

लगातारजसो बैठक भइरहेको भए पनि सहमति जुट्न नसकेको गठबन्धनमा आबद्ध दलका नेताले बताएका छन् । कांग्रेसले अघिल्लो चुनावमा जितेका सबै पालिकामा दाबी गरेको छ । अन्य दल पनि आआफ्नो अडानमा छन् । प्रचार प्रसारमा होमिनुपर्ने दलहरु उम्मेदवार छनोटको सकसमा परेका छन् । 
रासस


Author

थप समाचार
x