धवलागिरि गाउँपालिका १ को महिला वडा सदस्यमा माओवादीकी छन्त्याल निर्विरोध
म्याग्दी- धवलागिरि गाउँपालिका–१ गुर्जाको वडा सदस्यमा नेकपा (माओवादी केन्द्र)का एक वडा सदस्य निर्विरोध भएकी छन् । माओवादी केन्द्रका वडा कमिटी अध्यक्षसमेत रहेकी सीताकुमारी छन्त्याल महिला वडा सदस्यमा निर्विरोध भएकी हुन् । धवलागिरी गाउँपालिकाको सहायक निर्वाचन अधिकृत पूर्णबहादुर खत्रीले १ नं वडाको महिला सदस्य पदमा छन्त्यालको मात्र एकल उम्मेदवारी परेकाले निर्विरोध भएको बताए ।
छन्त्याल निर्विरोध हुने जिल्लाको एक मात्र उम्मेदवार बनेकी छन् । धवलागिरिको स्थानीय तह निर्वाचनका लागि ३७ पदमा ८९ जनाको उम्मेदवारी परेको छ । मुनास्थित निर्वाचन अधिकृतको कार्यालयमा सोमबार राति ११ बजेसम्म मनोनयन दर्ता गरिएको थियो । गाउँपालिका अध्यक्षमा पाँच, उपाध्यक्षमा तीन, वडाध्यक्षमा २० र वडा सदस्यमा ५३ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत भोलाराज रेग्मीले बताए ।
गाउँपालिका अध्यक्षमा एमालेका थमसरा पुन, कांग्रेसका प्रेमप्रसाद पुन, नेकपा (एकीकृत समाजवादी)का बमबहादुर पाइजा, राप्रपाका होमबहादुर थापा र नेशनल मङ्गोल अर्गनाइजेशनका सकबहादुर पुन मगरले मनोनयन दर्ता गरेका छन् । उपाध्यक्षमा एमालेका प्रगति कार्की, नेकपा (माओवादी केन्द्र)का रेशम पुन र मङ्गोल नेशनल अर्गनाइजेशनका खममाया रोकाको मनोनयन दर्ता भएको छ । थमसरा पुन एमालेबाट दोस्रोपटक धवलागिरिको अध्यक्षमा उम्मेदवार बनेकी छन् । एमालेका जिल्ला उपसचिवसमेत रहेकी पुन गत स्थानीय तह चुनावमा पनि एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित थिइन् ।
धवलागिरिमा कांग्रेस र माओवादीले वडा तहसम्मनै तालमेल गरेका छन् । गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका प्रेमप्रसाद पुन कांग्रेसको धवलागिरि गाउँपालिका सभापति हुन् । गाउँपालिका अध्यक्षमा एमालेबाट आकाङ्क्षी रहेका होमबहादुर थापाले राप्रपाबाट टिकट लिएर अध्यक्षमा उम्मेदवारी दर्ता गराएकी छन् । थापा गत पुसमा भएको एमालेको पालिका अधिवेशनबाट धवलागिरि गाउँपालिका कमिटीको अध्यक्षमा निर्वाचित भएका थिए । एमालेले धवलागिरिको अध्यक्षमा पुन र उपाध्यक्षमा कार्कीलाई सोमबार बिहान मात्र उम्मेदवार छनोट गरेको थियो । उम्मेदवार छनोटमा असन्तुष्टि जनाउँदै थापा राप्रपा प्रवेश गरेर अध्यक्षको उम्मेदवार बनेका हुन् । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया