गण्डकी

समृद्धि र विकासका मुद्दासहित घरदैलोमा उम्मेदवार

इकागज |
बैशाख २०, २०७९ मंगलबार १४:१ बजे

गण्डकी- चुनावको मिति नजिकिँदै गर्दा यतिखेर समृद्धि र विकासका मुद्दासहित उम्मेदवारहरू घरदैलोमा व्यस्त छन् । भौगोलिक हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकामा छोटो समयमा घरदैलोमा पुगेर मतदातासँग भेट्ने विषय उम्मेदवारका लागि चुनौतीपूर्ण छ ।     
    
 महानगरपालिकाका प्रमुख तथा उपप्रमुखका उम्मेदवारका लागि कुना कुनाका वस्तीमा पुगेर मतदातासँग भोट माग्नुपर्ने बाध्यता र नजिकिँदै गरेको निर्वाचनको मितिका कारण यतिखेर महानगरका ग्रामीण वस्तीहरूमा चुनावी रौनकता छाएको छ । पोखरा महानगरपालिकामा पाँच दलीय गठबन्धनका तर्फबाट प्रमुख पदमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र उपप्रमुख पदमा नेपाली कांग्रेसका कोपिला रानाभाट उम्मेदवार बनेका छन् । महानगरपालिकामा नेकपा एमालेका तर्फबाट प्रमुख पदमा कृष्ण थापा र उपप्रमुख पदमा मञ्जुदेवी गुरुङ चुनावी प्रतिस्पर्धामा छन् । प्रमुख प्रतिस्पर्धा गठबन्धन र नेकपा एमालेबीच हुने अनुमान गरिएको महानगरपालिकामा अन्य दल तथा स्वतन्त्र उम्मेदवार प्रमुख, उपप्रमुख पदसहित ३३ वटै वडाका वडा अध्यक्ष तथा सदस्यमा प्रतिस्पर्धा गर्दै छन् ।    
    
पोखराको समृद्धि र विकासका योजनासहित आफ्नो घोषणापत्र तयार गरी निर्वाचनमा होमिएका दलहरूका चुनाव जित्ने आ आफ्ना तर्क छन् । पाँच दलीय गठबन्धनले महानगरस्तरीय पूर्वाधार विकासका विभिन्न योजना, पोखरा चक्रपथ, सौन्दर्यीकरणदेखि सुशासन र समृद्धिका मुद्दालाई अघि सारेको छ ।    
    
‘समुन्नत पोखराको आधार ः सबल अर्थतन्त्र र पूर्वाधार’ नाराका साथ अघि सारिएको घोषणापत्रमा शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुदलगायत विषयलाई प्राथमिकतामा राखिएको प्रमुख पदका उम्मेदवार आचार्यले बताए। पोखराको समुन्नतिका आधार विन्दुसहित आफूहरू मतदाता माझ पुगेको आचार्यको भनाइ छ । नेकपा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार थापा नेपालमा बहुदलीय व्यवस्था स्थापनापछि बितेको पाँच वर्षमा सबैभन्दा धेरै विकास र पूर्वाधार निर्माण भएको बताउँछन् । प्रमुख पदमा निर्वाचित भएसँगै समृद्ध पोखरा र जनतालाई सुशासनको अनुभूति हुने गरी पाँच वर्ष पूर्णरुपमा खटेर काम गर्ने प्रतिबद्धतासहित आँफूहरू मतदाता माझ पुगेको उनको भनाइ छ ।    
    
अटेरी अभियानका तर्फबाट पोखरा महानगरपालिकाको प्रमुख पदका उम्मेदवार गनेस पौडेल मतदाताको घरघरमा नभै सार्वजनिक चोक तथा वस्तीमा पुगी आफूहरू मत माग्ने योजनामा रहेको बताउँछन् । भोट माग्नका लागि व्यक्तिका घरघरमा पसेर उहाँहरूलाई दुःख नदिने आफूहरूको सोच रहेको बताउँदै उहाँले सार्वजनिक चोकबाट नै आफ्ना प्रतिबद्धता व्यक्त गर्ने बताए ।    
    
 ‘पोखरा लक्ष्य २०७९ कार्ययोजना’ नाम दिइएको अटेरी अभियानको घोषणपत्रमा पर्यटन, शिक्षा, स्वास्थ्य र सुशासनलाई मुख्य मुद्दा बनाइएको छ । ‘निधारमा पर्यटन, आँखामा शिक्षा र स्वास्थ्य, नाकमा सुशासन’ भन्ने नाराका साथ अघि बढेको अभियानले असम्भव झुटा आश्वासन नबाड्ने घोषणापत्रमा उल्लेख गरेको छ ।    
    
‘मेरो पोखरा’ मोबाइल एप सार्वजनिक गरेर महानगरका सबै सुविधा घरमै बसेर लिनसक्ने व्यवस्था गर्ने लगायतका विषयलाई आफूहरूले प्राथमिकतामा राखेको उम्मेदवार पौडेलले जानकारी दिए । चुनावी घोषणपत्रका अतिरिक्त उम्मेदवारहरूले घरदैलोका क्रममा स्थान विशेषका आवश्यकतालाई सम्बोधन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । महानगरका शहरी क्षेत्रमा खानेपानी, ढल, सरसफाइलगायत विषयलाई प्राथमिकता दिएका उम्मेदवार महानगरका कुना कुनाका ग्रामीण बस्तीमा भने महानगरको अनुभूति हुने किसिमका विकास योजना प्राथमिकतामा रहेको बताउँदै आएका छन् । रासस



Author

थप समाचार
x