गण्डकी

कांग्रेस गण्डकीको संकल्प : वार्षिक ३० लाख पर्यटकदेखि कृषिमा आत्मनिर्भरसम्म

इकागज |
बैशाख २३, २०७९ शुक्रबार १८:३८ बजे

पोखरा- नेपाली कांग्रेस गण्डकीले स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर संकल्प पत्र तयार गरेको छ । कांंग्रेस गण्डकीका महामन्त्री बिष्णुप्रसाद लामिछानेको संयोजकत्वमा तयार पारिएको संकल्प प्रस्ताव शुक्रबार सार्वजनिक गरेको हो ।

‘शान्ति, स्थिरता र समृद्धिका लागि नेपाली कांग्रेस, नेपाली कांग्रेसको जित, प्रदेशवासीको हित’ भन्ने नारा रहेको संकल्प प्रस्तावमा भएका ३० प्रतिवद्धताका बुँदाहरु ५ वर्षमा पुरा गर्ने संकल्प गरिएको छ । लुम्बिनी, मुक्तिनाथ हुदै कैलाश पर्वत जोड्ने छोटो दुरीको सुविधायुक्त सडक बनाउने, प्रतिवर्ष ३० लाख पर्यटक गण्डकीमा भित्राउने, पोखरालाई शिक्षा, स्वास्थ्य र साहसिक खेलको हबको रुपमा विकास गर्ने र विधुत उत्पादन ७ हजार मेगावट पुर्या‍इने संकल्प गरिएको छ ।


गण्डकीमा भएको ५ सय ६९ मेगावाट बिजुलीलाई बढाएर ४ हजार मेगावाट बिजुली उत्पादन गर्ने, मुख्य फाटमा बाह्रै महिना सिंचाइको सुविधा पुर्याउने र कृषिमा प्रदेशलाई आत्म निर्भर बनाउने संकल्प गरिएको छ । कांग्रेसले जितेका पालिकाहरुमा प्रदेशको संकल्प कार्यान्वयन गरिने कांग्रेसले जनाएको छ । यस्तै संकल्प प्रस्तावमा १० वर्षमा १० प्रतिवद्धता पनि समावेश गरिएको छ ।

कांग्रेस गण्डकीले प्रदेशलाई पूर्ण साक्षरा बनाउने, सबै स्थानीय तहमा कम्तीमा एक प्राविधिक शिक्षालय स्थापना गर्ने, प्रत्येक पालिकामा कम्तीमा २५ शैयाको एउटा अस्पताल बनाउने जिल्ला अस्पताललाई आवश्यकता अनुसार एक सय शैयासम्मको बनाउने संकल्प गरिएको छ । त्यस्तै बार्षिक ५० हजारलाई रोजगार सिर्जना गर्ने, प्रतिव्यक्ति आए एक हजार एक सय ९२ बाट ३ हजार डलर पुर्‍याउने, प्रदेशको अन्तराष्ट्रिय व्यापारलाई दोब्बर बनाउने, निजी लगानीलाई प्रवद्धन गर्ने, विपन्न परिवारलाई परिचयपत्र उपलब्ध गराउने र सुलभ आवास, निशुल्क पानी, बिजुली, शिक्षा, स्वास्थ्य उपलब्ध गराउने कांग्रेस गण्डकीको संकल्प रहेको कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले जानकारी दिए ।


Author

थप समाचार
x