गण्डकी

संविधान बचाउन गठबन्धन : श्रममन्त्री श्रेष्ठ

इकागज |
बैशाख २४, २०७९ शनिबार १०:१७ बजे

फाइल तस्बिर

दमौली- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संविधान र लोकतन्त्र बचाउनका लागि गठबन्धन गरिएको बताएका छन् । तनहुँको भिमाद नगरपालिका–२ मा सत्ता गठबन्धनले शुक्रबार राति आयोजना गरेको सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले लोकतन्त्र र संविधान रक्षाका लागि सदैव लड्दै आएका दलहरू गठबन्धन गरेर चुनावमा गएकाले गठबन्धनप्रति प्रतिबद्ध रहन आग्रह गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय सदस्यसमेत रहेका मन्त्री श्रेष्ठले आफूहरूलाई कमजोर नठान्न आग्रह गर्दै उनले भने, “हामी गठबन्धनप्रति प्रतिबद्ध छौँ, तर हामीलाई कमजोर ठानिएको छ ।” मन्त्री श्रेष्ठले समृद्ध भिमाद नगरपालिका निर्माणका लागि गठबन्धनका उम्मेदवारहरूले जित्नुपर्ने धारणा राखे ।


नेपाली कांग्रेसका जिल्ला सभापति जितप्रकाश आलेले गठबन्धनप्रति इमान्दार हुन आग्रह गरे । कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष शङ्करनारायण श्रेष्ठ, नेपाली कांग्रेसका उपसभापति देवकुमार श्रेष्ठलगायतले बोलेका थिए ।

कार्यक्रममा गठबन्धनका तर्फबाट भिमाद नगरपालिकाका काजीमान श्रेष्ठले जनताका हरेक समस्या समाधानका लागि पूर्ण ऊर्जाका साथ लागिपर्ने बताए । प्रमुखमा निर्वाचित भएको खण्डमा सामाजिक विकास निर्माणको हकमा स्वास्थ्य, शिक्षा, खेलकुद, खानेपानी, मोटरमार्गलगायतका कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेर कार्ययोजना बनाउने श्रेष्ठले बताए ।

उपप्रमुखका उम्मेदवार मिलन आलेले जनता कोष कार्यक्रमअन्तर्गत ‘मेरो एक रुपैयाँ’ कार्यक्रम सञ्चालन गरिने बताए । यस कार्यक्रमका लागि नगरका सबै नागरिकले स्वेच्छाले दिनको एक रुपैयाँ’ दान गर्न सक्ने बताउँदै आलेले उक्त रकम योगदान गर्ने नागरिककै शिक्षा र स्वास्थ्यमा लगानी गरिने प्रतिबद्धता व्यक्त गरे । भिमाद नगरपालिकामा एकीकृत समाजवादीका तर्फबाट प्रमुख र नेपाली कांग्रेसका तर्फबाट उपप्रमुखको उम्मेदवार छन् । रासस


Author

थप समाचार
x