मतदान गर्न घर फर्कंदै मनाङका मतदाता
फाइल फोटो
मनाङ - वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा मतदान गर्नका लागि मनाङका मतदाता घर फर्कन थालेका छन् । यहाँका अधिकांश मतदाता जिल्ला बाहिर बसोबास गर्ने भएकाले मतदानका लागि उनीहरु गाउँ फर्कन लागेका हुन् ।
मनाङका मतदाता काठमाडौँ, पोखरालगायत ठूला सहरी क्षेत्रमा बसोबास गर्ने भएकाले मतदानका लागि हाल जिल्ला फर्किन थालेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार अधिकांश मनाङवासी बाहिरी जिल्लामा बसोबास गरे पनि उनीहरुको मतदाता नामावली मनाङमै रहेको छ ।
“`बासिन्दा व्यापार, व्यवसाय र कामकाजका लागि बाहिरी जिल्लामा बसोबास गर्नुहुन्छ, उहाँहरुको मतदाता नामावाली यतै भएकाले फर्कन थाल्नुभएको हो, विभिन्न सरकारी कामकाजका लागि पनि उहाँहरु मनाङमा नै फर्किनुपर्ने हुन्छ,` प्रजिअ आचार्यले भने, `अहिले मतदानकै लागि गाउँघर फर्किने क्रम चलिरहेको छ ।` अहिले विशेषगरी माथिल्लो मनाङस्थित मनाङ ङिस्याङ, नार्पाभूमि र चामे गाउँपालिकाका मतदाता फर्किरहनुभएको उनले बताए ।
सदरमुकामस्थित चामे गाउँपालिका–४ र ५ वडाका अधिकांश स्थानीय काठमाडौँमा बसोबास गर्ने गरेका छन् । चामे गाउँपालिका–४ को सरस्वती तामाङ मतदानका लागि जिल्ला फर्केको बताउँछन् । `लामो समयपछि मतदान गर्न पाइने भो, त्यसैले हामी गाउँ फर्केका हौँ`, तामाङले भने ।
पाँच बर्षपछि जनप्रतिनिधि छनोट गर्ने निर्वाचनमा मतदान गर्नकै लागि अहिले गाउँ फर्केको उनको तर्क छ । `हामी पाँच वर्षमा मतदान गरेर जनप्रतिनिधि छनोट गर्ने अधिकार पाउछौ`, मनाङको विकासका लागि सही जनप्रतिनिधि छनोट गर्न भनेर मतदान गर्न फर्किएको हुँ,` तामाङले भने ।
जिल्ला बाहिर बसोबास गर्ने छिमेकी गाउँका स्थानीय पनि मतदानका लागि आउने क्रम रहेको उहाँले बताए । तामाङजस्तै मतदानका लागि नार्पाभूमि गाउँपालिका–४ का सोनाम तेन्जिङ लामा र मनाङ ङिस्याङ गाउँपालिका–६ का सागर गुरुङले पनि मतदान गर्न जिल्ला फर्किएको बताए । `गाउँ आइपुगियो, अब आफ्नो मनपरेको उम्मेदवारलाई भोट हाल्नुपर्छ`, लामाले खुसी व्यक्त गरे ।
लामाले मनाङको विकास र सहज आवातजावतका लागि सहज सडक निर्माणका लागि उपयुक्त जनप्रतिनिधि छनोट गर्नु आवश्यक रहेको बताउँछन् । उनी भन्छन्, `विगतको विकासलाई अझ सहज बनाउने प्रयत्नशील जनप्रनितिधि छनोटका लागि नै गाउँ फर्किएको हुँ ।`
नार्पाभूमि गाउँपालिकाको नार, फु, मेता, च्याखुलगायतका गाउँ र ङिस्याङ गाउँपालिकाका पिसाङ, खाङ्सार, भ्राका, ङावल लगायतका क्षेत्रका स्थानीयवासी फर्किने क्रम चलिरहेको हो । मनाङ ङिस्याङ गाउँपालिकाको मतदाता सङ्ख्या तीन हजार ५३५ रहेको छ भने नार्पाभूमि गाउँपालिकामा ४४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मनाङले जनाएको छ । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया