गण्डकी

तनहुँको रिस्तीमा पुन मतदानको माग, नभए मतगणनामा सहभागी नहुने

इकागज |
बैशाख ३०, २०७९ शुक्रबार २२:३३ बजे

फाइल फोटो

तनहुँ - तनहुँको व्यास नगरपालिका–८ रिस्तीको मतदान केन्द्रमा पुन मतदानको माग गरिएको छ । साविकको रिस्ती गाविसको भवन फेदीको मतदान केन्द्र ‘क’ र ‘ख’ मा पुन मतदान नभए मतगणनामा सहभागी नहुने चेतावनी दिईएको छ ।

नेपाली कांग्रेसको साधारण सदस्य समेत नरहने गरेर कारबाहीमा परेका पुर्व सहमहामन्त्री गोविन्दराज जोशी र नेकपा एमालेले तालमेल गरेर व्यास नगरपालिकामा स्थानीय तहको निर्वाचन लडेका छन् । नेकपा एमालेको जिल्ला सचिव राजेश्वर ढकाल र जोशी समुहका हरिशरण पण्डितले संयुक्त विज्ञप्ति निकाल्दै  पुनः मतदान हुने स्थिती नहुँदासम्म अन्य मतदान केन्द्रको मतपेटिकाको मतगणनामा समेत सहभागि नहुने चेतावनी दिएका छन् ।


मतदान निरीक्षणको क्रममा रिस्ती पुगेका मेयरका स्वतन्त्र उम्मेद्वार गोविन्दराज जोशीपुत्र दिपकराजलाई कांग्रेस कार्यकर्ताले आक्रमण गरेर घाइते बनाएका छन् । उनको टाउको चोट लागेको छ । जिल्ला अस्पताल दमौलीमा सामान्य उपचारपश्चत पोखरास्थित फिस्टेल अस्पतालमा लगेर थप उपचार भइरहेको छ ।

नेपाली कांग्रेसका मेयरका उम्मेद्वार बैकुण्ठ न्यौपानेको  निर्देशनमा अराजक गुण्डाहरुले जोशीको ज्यान लिने गरेर धारिलो हतियारले प्रहार गरेको एमाले र जोशी समूहको आरोप छ ।

मेयरका उम्मेद्वार जोशीले आवेगमा आएर मतपत्र च्यातेपछि कांग्रेस कार्यकर्ताले आक्रमण गरेको मतदान अधिकृत दामोदर कार्कीले बताए ।

जोशीले आफ्नो एजेन्ट नभइकन किन मतदान सुरु गरेको भन्दै विवाद निकालेको कार्कीले जानकारी दिए । जोशीलाई आक्रमण भएपछि मतदानस्थलमा करिब एक घण्टा १५ मिनेट तनावपुर्ण स्थिती सिर्जना भएको थियो ।

दिउँसो ३ बजेको समयमा घटना भएको उनले जानकारी दिए । स्थिती सामान्य भएपछि फेरी मतदान सुरु गरेर साढे ६ बजे मतदान सम्पन्न गरेको कार्कीले जानकारी दिए । साँझ ५ बजेसम्म मतदानस्थल प्रवेश गरेकालाई मतदान गर्न दिएको उनले जानकारी दिए ।

उनका अनुसार रिस्ती गाविस भवन फेदीको मतदानस्थलको ‘क’ र ‘ख’ मा गरेर एक हजार ५६६ मतदाता रहेकोमा ९२२ मत खसेको छ ।
 


Author

थप समाचार
x