लुम्बिनी

लुम्बिनी प्रदेश सभाको बैठक आह्‍वान

बिक्रम खड्का |
चैत १६, २०७७ सोमबार ११:१३ बजे

बुटवल : संसद स्थगित भएको छ महिना पुग्न एक दिन बाँकी रहदा लुम्बिनी प्रदेश सभाको बैैठक आह्वान गरिएको छ । संसद अधिवेशन अन्त्य भएको छ महिनाभित्रै  अर्को बैठक बस्नु पर्ने बाध्यकारी व्यवस्थाका कारण सरकारले चैत्र १८ गते बैठक आह्वान गरेको हो । लुम्बिनी प्रदेश सभा स्थगित भएको चैत्र १९ गते छ महिना पुग्दै छ ।

प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले चैत्र १८ गते दिउँसो १ बजे बैैठक बोलाइएको जानकारी दिए । उनकाअनुसार सरकारको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ शाहले बैठक आह्वान गरेका हुन् ।  


सरकारले केही विधेहरूमा औपचारिक छलफलबाहेक अन्य विजनेस भने नभएको जनाएको छ । सरकारले बनाउने बजेटमाथि प्रि बजेट छलफललगायतका विषय भए पनि नेकपा एमाले र माओवादी ब्युँतिएको अवस्थामा प्रदेश सभा लामो समय नचल्ने अनुमान गरिएको छ । 

प्रदेश सभामा दल विभाजनसम्बन्धी सूचना प्रस्तुत गरिने जानकारी दिइएको छ । यसअघि एमाले र माओवादी केन्द्रको एकतापछि एउटै दल भए पनि अदालतको आदेशसंगै दुईवटा  दल बनेका छन् । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण सो दल सत्ता पक्षकै बेन्चमा बस्ने देखिएको छ । 

दुई सांसदले दलको जवाफ पढाएनन्
माओवादी केन्द्रले आफ्ना दुई जना प्रदेश सभा सदस्यलाई अन्य दलको सदस्यता लिएको भन्ने सूचना आएको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर सो समय अवधीमा उनीहरूले दललाई कुनै जवाफ पढाएका छैनन् । माओवादी केन्द्रबाट निर्वाचित सांसदहरू दधिराम शर्मा न्यौपाने र दिनेश पन्थीले स्पष्टिकरणको पत्र पाएर पनि कुनै जवाफ नपढाएको माओवादीका प्रमुख सचेतक तुलबहादुर घर्तीले जानकारी दिए । 

‘उहाँहरूले कुनै जवाफ पढाउनु भएन,’ उनले भने, ‘अब उहाँहरूलाई के गर्ने भन्ने विषयमा २/४ दिनमा निर्णय हुने छ । स्रोतकाअनुसार माओवादी केन्द्रका मन्त्रीहरू पनि प्रदेश सरकारमा भएका कारण उनीहरू तत्काल कुनै निर्णय नलिने पक्षमा देखिएका छन् । 

तर सकारले माओवादीका मन्त्रीहरू हटाएको खण्डमा एमालेतिर लागेका आफ्ना सांसदहरूलाई कारबाही गर्नेदेखि सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा माओवादी छ । लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकार रहेको छ । माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा उसलाई सरकार टिकाई राख्न जनता समाजवादी अथवा कांग्रेसको साथ आवश्यक देखिन्छ ।


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x