लुम्बिनी

मुलुकमा बलियो राष्ट्रिय शक्तिको आवश्यकता छ : नेता पोखरेल

इकागज |
जेठ १०, २०७९ मंगलबार १९:३६ बजे

फाइल फोटो

रुपन्देही - नेकपा (एमाले) लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता शंकर पोखरेलले मुलुकमा बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका छन् । 

लुम्बिनी प्रदेश सभाको दशौँ अधिवेशनअन्तर्गत आज सम्पन्न दोस्रो बैठकमा उनले भविष्यलाई सुनिश्चितता प्रदान गर्न बलियो राष्ट्रिय शक्ति निर्माण गर्नतर्फ दलहरुको ध्यान जानुपर्ने उल्लेख गरे । `आज मुलुकमा बलियो राष्ट्रिय शक्ति निर्माण गर्नेभन्दा गठबन्धनका माध्यमबाट सत्ता प्राप्त गर्ने कुरातर्फ अगाडि बढ्ने प्रयास भइरहेको छ यो नेपालको राष्ट्रिय राजनीतिका सन्दर्भमा दुःखद् पक्ष हो`, नेता पोखरेलले भने । 


बलियो राष्ट्रिय शक्तिबिना राष्ट्रको निर्माण हुन नसक्ने उनले बताए । जनताको जीवनमा परिवर्तन ल्याउने र मुलुकको विकास र समृद्धिको नेतृत्व गर्नसक्ने राष्ट्रिय शक्तिको आवश्यकता भएकाले दलहरु यसमा गम्भीर हुनुपर्ने उनले उल्लेख गरे । `प्रदेशलाई संघीयताको महत्वपूर्ण आधारका रुपमा लिइएको छ`, उनले भने।  

विगतको संसदीय अभ्यासअनुरुप यसअघि सरकारको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भए पनि बजेटमा समावेश नगराइनुले नीति तथा कार्यक्रम एकातिर र बजेट अर्कोतिर देखिएकाले यस प्रकारको अभ्यास गलत भएको पोखरेलले टिप्पणी गरे । 

अघिल्लो सरकारले झण्डै ८० पुल निर्माणका लागि क्रमागत आयोजनाका रुपमा अघि बढाएको उल्लेख गर्दै पूर्वमुख्यमन्त्री पोखरेलले रकम अभावमा ती योजना पूरा हुन नसकेको गुनासो गरे । प्रदेशको स्थायी राजधानी तय भए पनि गुरुयोजना निर्माण र राजधानीको पूर्वाधार निर्माणका कामलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाउन नसकेको भन्दै उनले सभामुखमार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराए ।  रासस

    


Author

थप समाचार
x