लुम्बिनी

सम्राटलाई आरुको रुखमै झम्टेर लगेको थियो चितुवाले

इकागज |
जेठ १६, २०७९ सोमबार १२:१३ बजे

नेपालीले आरू भरेर राखेको प्लास्टिक ।

अर्घाखाँची- सन्धिखर्क-४ अमलडाँडामा रहेको मावली घर बसेर पढ्दै गरेका सम्राट नेपाली बिहीबार स्कुलबाट घर आउनासाथ आरू टिप्न बारीतर्फ लागे । आरू टिपेर प्लास्टिक भरे । घर लगेर आरू खाने तयारीका साथ फर्कने सुर गरेका उनी आरुको रुखमै चितुवाको सिकार बने । आरुको रुखबाटै चितुवाले झम्टिएर लगेका नेपालीको शव सोही राति करिब ८ बजे क्षतविक्षत अवस्थामा फेला परेको छ ।

नेपालीले आरू भरेर राखेको प्लास्टिक अझै पनि बोटमा झुन्डिएको छ । आरू प्लास्टिकमा झुन्डिएको  दृश्यले जोकोहीको पनि आँखा रसाउँछन् । गुल्मी रेसुंगा नगरपालिका  घर भएका सम्राट दुई वर्षदेखि आमा र दिदीसँग मावली घर बस्दै आएका थिए । आठ वर्षीय बालक स्थानीय भगवती आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययनरत थिए ।


तीन महिनाअघि बालक नेपालीका बुबाको जीवन नेपालीको भिरबाट लडेर ज्यान गएको थियो । बुबालाई गुमाएको तीन महिनामै आठ वर्षको छोरालाई गुमाउनुपर्दा नेपाली परिवार यतिवेला विक्षिप्त बनेका छन् । दिउँसै बालक चितुवाको सिकार बनेपछि यस क्षेत्रका बालबालिकामा मनोवैज्ञानिक त्राससमेत बढेको छ । विद्यार्थीहरू विद्यालय जानसमेत डराउन थालेका छन् । 

अर्घाखाँचीमा चितुवाले बालबालिका खाएको यो नौलो घटना भने होइन । विगतका वर्षहरूमा अर्घाखाँची जिल्लाको सन्धिखर्क, किमडाँडा, ढिकुरालगायतका स्थानमा चितुवाको आक्रमणबाट दर्जनौं बालबालिकाको ज्यान गइसकेको छ । चितुवा बुढो भएपछि वनमा सिकार खेल्न नसक्ने भएकाले सजिलो बाटोमा लागेको विज्ञहरू बताउँछन् । चितुवाको आक्रमणबाट बच्नका लागि घर नजिकका झाडी बुट्यान सफा गर्न र साँझ परेपछि बालबालिकालाई एक्लै नछाड्न विज्ञहरूको सुझाव छ ।


Author

थप समाचार
x