भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेपछि नेपाली कृषक मारमा
भैरहवा- खुला सीमा नाकाले सस्तो भारतीय उत्पादनका तरकारी सहज रूपमा नेपाल भित्रिएपछि नेपाली किसान मारमा परेका छन् । सम्भावना देखेर कृषि पेसामा लागेका किसान भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेपछि समस्यामा परेको बताउँछन् । बैंकिङ लगानीमा कृषि पेसा अङ्गालेका कृषकले उत्पादन गरेको तरकारीलाई आयातीत उत्पादनले विस्थापित गरेको किसानको पीडा छ ।
सरकारी तहबाट सहयोग नहुनु र बजारीकरणमा समस्याले बाहिरबाट आएका उत्पादनले आफूहरुको तरकारी उत्पादनलाई विस्थापित गरेको गैडहवा गाउँपालिका-७ का किसान विजयसिंह केवट बताउँछन् । आर्थिक वर्ष २०७८/०७९ को जेठ मसान्तसम्ममा जिल्लाको भैरहवा भन्सार नाकाबाट १० हजार ५६९ मेट्रिक टन हरियो तरकारी नेपाली बजारमा भित्रिएको देखिन्छ । यसको अलावा खुला सीमाको फाइदा उठाउँदै मोटरसाइकल र साइकलमा तरकारी दैनिक नेपाल भित्रिने गरेको छ ।
भारतमा कृषि उत्पादनमा सरकारले बीउ, मल, प्रविधि, विद्युत् लगायतमा सहयोग पुर्याउँदा कृषि उत्पादन लागत नेपालभन्दा निकै सस्तो हुने गर्दछ । नेपालमा मल, बीउ, प्राविधिक सहयोग, बजारीकरणको अभाव हुँदा बाहिरबाट आउने उत्पादनसँग प्रतिस्पर्धा गर्न समस्या परेको जिल्लाको तिलोत्तमा नगरपालिका-१४ का किसान पन्नेलाल केवट गुनासो गर्छन् । नेपालमा तरकारी बजारमा विचौलियाको समेत बढी प्रभाव हुने गरेको छ । यसले नेपाली किसान विस्थापित हुने गरेको सिद्धार्थनगर नगरपालिका-१२ का किसान राधेश्याम लोध बताउँछन् ।
सङ्घ र प्रदेश हुँदै स्थानीय सरकारले नेपाली किसानलाई कृषि उत्पादनमा सहयोग र उत्पादन भएको वस्तु बजारीकरणमा व्यवस्थापन गर्नुपर्ने रुपन्देही कृषि उद्यमी बताउँछन् । सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खाँले नगर क्षेत्रमा तरकारी खेती उत्पादन गर्ने किसानका लागि अब विशेष प्याकेज ल्याउने भन्दै भारतीय तरकारीको विकल्प खोज्ने बताएका छन् । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया