लुम्बिनी

अब लुम्बिनीमा रगत नि:शुल्क पाइने

इकागज |
असार ३१, २०७९ शुक्रबार १७:४७ बजे

बुटवल- सरकारी अस्पतालमा सेवा लिने बिरामीहरूका लागि अब रगत सम्बन्धी सबै सेवा नि:शुल्क हुने भएको छ । २०७९ साउन १ गतेदेखि लागु हुने गरी प्रदेश सरकारले बिरामीका लागि रगतमा लाग्‍ने सबै शुल्क नि:शुल्क गरेको हो ।

साे विषयमा लुम्बिनी प्रादेशिक अस्पताल र बुटवलमा रहेको रक्तसञ्चार केन्द्रका बीच सहमति भएको छ । अस्पतालका तर्फबाट मेडिकल सुपरिटेण्डेण्ट डा इन्द्र ढकाल र रक्तसञ्चार केन्द्रका तर्फबाट संयोजक कृष्ण पंगेनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।


साउन १ गतेदेखि अस्पतालको सिफारिसमा रक्तसञ्चार केन्द्रले कुनै पनि सेवा शुल्क नलिई रगत उपलब्ध गराउने भएको हो । लुम्बिनी प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट रगतमा लाग्‍ने सेवा शुल्क सरकारले दिने रक्तसञ्चार केन्द्र बुटवलका संयोजक तथा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका महामन्त्री कृष्ण पंगेनीले बताए । 

उनले प्रदेशभरि वार्षिक ६० हजार रगत संकलन र व्यवस्थापन रेडक्रसमार्फत भैरहेको भन्दै अब सरकारी अस्पतालमा रगतका लागि लाग्‍ने सेवा शुल्क पनि सरकारले दिने भएपछि लुम्बिनीमा रगत पुर्णरुपमा निशुल्क भएको उल्लेख गरे । अस्पतालमा आएका बिरामीलाई रगत आवश्यक पर्ने भए चिकित्सकहरूको सिफारिसमा रक्तसञ्चार केन्द्रले पूर्ण रूपमा नि:शुल्क उपलब्ध गराउने अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा ढकालले बताए ।

यसअघि रगतका लागि आवश्यक पर्ने कवर, ग्रुपिङ, स्टोर म्यापिङलगायत गरी ८ सय रुपैयाँसम्म शुल्क लाग्‍ने गर्दथ्यो ।
 


Author

थप समाचार
x