लुम्बिनी

जनमोर्चा संसदीय दलका नेता भन्छन्, अविश्‍वास प्रस्तावको पक्षमा लाग्‍ने निर्णय थाहा छैन

इकागज |
बैशाख १, २०७८ बुधबार १४:३३ बजे

पोखरा : राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश संसदीय दलका नेता कृष्ण थापाले अविश्वासको प्रस्तावको पक्षमा लाग्ने निर्णय बारे आफूलाई थाहा नभएको प्रतिक्रया दिएका छन् । गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्दै राजमो अध्यक्ष चित्रबहादुर केसीले वक्तव्य जारी गरेका थिए । केसीले वक्तव्यमा प्रतिगमनको मतिआर बनेको गण्डकी प्रदेश सरकारलाई सहयोग गर्न नसकिने बताएका थिए । 

तर पार्टीका केन्द्रीय सदस्य समेत रहेको सांसद थापाले पार्टीले त्यस्तो निर्णय गरेको थाहा नभएको बताएका छन् । ‘खै, मलाई त्यस्तो कुनै जानकारी भएन, म केन्द्रमा छलफल गर्छु,’ उनले भने । अविश्वासको प्रस्ताव ल्याउन उनले कांग्रेस एक्लै सक्षम रहेकाले आफूहरूको कुनै हात नरहने उनले बताए । आफूहरुको निर्णय अब सिधै संसदमा देखाउने उनको योजना छ । 


‘संसदमै आउँछ हाम्रो निर्णय, कांग्रेस एक्लैले पनि अविश्वासको प्रस्ताव ल्याउन सक्छ, के गर्ने के नगर्ने पछि थाहा हुन्छ,’ थापाले भने । 
 
यता कांग्रेसले भने पार्टीभित्र हस्ताक्षर संकलन गरिरहेको छ । कुनै पनि समयमा पार्टी सदस्यको हस्ताक्षर चाहिन सक्ने हुनाले आफूहरुले हस्ताक्षर संकलन गरिरहेको एक सांसदले बताए । ‘अविश्वासकै प्रस्तावमा पनि प्रयोग हुन सक्छ, हामीले हस्ताक्षर संकलन गरिरहेका छौं,’ती सांसदले भने । 

कांग्रेस, जनता समाजवादी र माओवादी केन्द्र अहिले सरकार ढलाउने रणनीतिका साथ छलफलमा छन् । ३ दलबीच सहमति भइसके पनि उनीहरु राष्ट्रिय जनमोर्चाको पर्खाइमा छन् । यी दलबीच मोर्चाबन्दी हुँदा २९ सांसद हुन्छन् । सरकारविरुद्ध अविश्वासको प्रस्ताव पास गराउन ३१ सांसदको चाहिन्छ । राजमोले स्पष्ट निर्णय दिएपछि सरकारइतर समूहको स्टेप अगाडि बढ्छ ।

यो पनि

गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने जनमोर्चाको निर्णय


Author

थप समाचार
x