लुम्बिनी

'लकडाउन'को मौकामा व्यापारीको चौका

इकागज |
बैशाख ११, २०७८ शनिबार १४:४३ बजे

बाँके : नेपालगञ्जमा 'लकडाउन'को मौका छोपेर व्यापारीले मनोमानीरुपमा दैनिक उपभोग्य सामग्रीको मूल्यवृद्धि गरेका छन् । कोभिड-१९ सङ्क्रमण तीव्ररुपमा बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा यही वैशाख ९ गतेदेखि १५ गतेसम्मका लागि बन्दाबन्दी जारी गरेको छ । बन्दाबन्दीमा सहज र सरलरुपले उपलब्ध गराउनुपर्नेमा व्यापारीले कालोबजारी गरी मूल्यवृद्धि गरेको पाइएको छ । 

नेपालगञ्जस्थित रानी तलाउ तरकारी बजारमा बन्दाबन्दीको हल्लासँगै प्रत्येक तरकारीमा किलोमा २० देखि ३० रुपैयाँ वृद्धि गरेको पाइएको छ । बन्दाबन्दीअघि प्रतिपाँच केजी रु १२० मा बिक्री भएको आलु अहिले रु २०० तिरेर किन्न बाध्य भएको नेपालगञ्ज १० निवासी उपभोक्ता मङ्गलीमाया श्रेष्ठले बताए । उनका अनुसार आलु मात्र नभई, सिमला खुर्सानी, गोलभेँडा, भिण्डी, करेला, बोडी, बन्दालगायतका तरकारीमा पनि बन्दाबन्दीभन्दा चर्को मूल्य तिर्न बाध्य भएका छन् ।


नेपालगञ्जको बिपी चोकस्थित तरकारी बजारमा पनि तरकारी खरीद गर्न पुगेका उपभोक्ताले पनि यस्तै समस्या झेल्नु परेको छ । बन्दाबन्दीको मौका छोपेर अत्यधिक महङ्गो भएपछि तरकारी नै खरीद नगरेर घर फर्किएको नेपालगञ्ज– ६ निवासी गृहणी सिर्जना रानाले गुनासो गरिन् । 'लकडाउन भनेर किन्नै नसकिने गरी जथाभावी महङ्गो मूल्य लगाउने गरेका छन्', उनले भने,'महामारीका बेला जनतालाई ठग्ने र दुःख दिने काम भएको छ ।'

तरकार मात्र नभई खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य सामग्रीमा पनि नेपालगञ्जमा  कालोबजारी ह्वात्तै बढेको छ । ग्यास, नून लगायतका अत्यावश्वकीय वस्तुको कालोबजारी गरी महङ्गो दरमा बिक्री भइरहेको रानाले बताए ।  विहान ६ बजेदेखि ९ बजे सम्म दैनिक उपभोग्य सामाग्री खरिदका लागि तोकिएको समयमा पनि उस्तै मनपरी भएको पाइएको छ । सामान्य अवस्थामा भन्दा बन्दाबन्दीको समयमा कालोबजारी हुँदा निम्न वर्गिय, मजदुर र गरिखाने सर्वसाधारण झनै समस्यामा परेका छन् ।

एकै दिनमा मूल्य वृद्धि गर्न नपाइने र स्टक सामाग्रीलाई पनि मुल्य बढाएर बिक्री गर्न नपाइने कानुनी व्यवस्था रहेको भएपनि बन्दाबन्दीमा आँखा छलेर मुल्य मेटेर सामाग्री बेच्ने गरेको पाईएको उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष वसन्त गौतमले बताए । उपभोक्ता हित संरक्षण समितिकी संयोजक समेत रहेकी नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले बन्दाबन्दीमा कालोबजारी र मूल्य वृद्धि गरेको गुनासो आएपछि बजार अनुगमन थालिएको बताए । 

उपप्रमुख मगरका अनुसार शुक्रबार गरिएको अनुगमनको क्रममा अनुचित ब्यापारिक क्रियाकलाप गर्ने दुईवटा तरकारी पसल क्रमशः त्रिभुवनचोकस्थित अकरम तरकारी पसल र रानीतलाउस्थित सान अर्डर सप्लायर्सलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३९ १ (क)बमोजिम चेतावनी स्वरुप तस्काल जनही रु. २० हजार जरिवानासमेत गरिएको छ । रासस


Author

थप समाचार
x