लुम्बिनी

माओवादीले सोध्यो आफ्नो पार्टीबाट विजयी एक गाउँपालिका अध्यक्षलाई स्पष्टीकरण

चित्तबुझ्दो जवाफ नदिए कारबाही गर्ने चेतावनी

इकागज |
बैशाख १४, २०७८ मंगलबार ११:५३ बजे

बुटवल : पार्टी परिर्वतन गरेका दुई जना प्रदेश सभाका सदस्यलाई कारबाही गरेको नेकपा माओवादी केन्द्रले पार्टी परिवर्तन गर्ने आफ्‍ना स्थानीय तहका जनप्रतिनिधिलाई पनि कारबाही थालेको छ । माओवादी केन्द्रले केही दिन अघि आफ्नो पार्टीबाट निर्वाचन जितेका प्रदेश सभा सदस्य दघिराम न्यौपाने र दिनेश पन्थीलाई कारबाही गरेको थियो । 

केपी ओली नेतृत्वको एमालेमा प्रवेश गरेपछि उनीहरूलाई माओवादीले कारबाही गरेको हो । कारबाहीसँगै दुबै जनाको पद खारेज भएको छ । माओवादीले प्रदेश सभापछि स्थानीय तहमा कारबाही सुरु गरेको छ । सो क्रममा रुपन्देहीको ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवटलाई स्पष्टीकरण सोधेको छ । उनी केहीसयमदेखि नेकपा एमालेमा प्रवेश गरेको बताउदै आएका थिए । 


पार्टीका जिल्ला कमिटि सचिव नारायण जिसी निर्मलद्वारा जारी स्पष्टीकरणसम्‍बन्धी पत्रमा २४ घण्टा भित्र लिखित स्पष्टीकरण दिन निर्देशन दिएको छ । केवटमाथि आफू निर्वाचित पार्टी परिवर्तन गरेको, पार्टी कार्यकर्तालाई अन्य पार्टीमा प्रवेश गर्न दुरुत्साहित गरेको आरोप लगाइएको छ । चित्तवुझ्दो जवाफ नदिए राजनीतिक दल सम्‍बन्धी ऐन २०७३को दफा ३१ र ३२ बमोजिम कारबाही गरिने चेतावनी स्पष्टीकरणको पत्रमा  उल्लेख रहेको छ । 

उता पालिका अध्यक्ष केवटले आफूलाई व्यक्तिगत प्रतिशोधका आधारमा पत्र काटिएको बताए । उनले भने, 'म प्रदेश कमिटिको सदस्य हो । जिल्ला कमिटीको सचविले पत्र काट्न मिल्‍दैन ।' उनले दलहरू मन लागे मिल्ने मन नलागे फुट्ने गरेको भन्दै आफू कम्युनिष्टमा हिजोदेखि आजसम्‍म रहेको उनले बताए ।


Author

थप समाचार
x