लुम्बिनीका कोभिड अस्पतालहरूमा अक्सिजनको अभाव
बुटवल : संक्रमितको उपचार भइरहेका अस्पतालहरूमा अक्सिजनको अभाव भएको छ । केही समयअघि भारतमा अक्सिजनको चरम अभाव भएपछि नेपालबाट सप्लाई भएको थियो । तर संक्रमितको संख्या तीव्र रुपले बढेपछि लुम्बिनी प्रदेशका अस्पतालमा अक्सिजन अप्रयाप्त भएको छ ।
बुटवल, भैरहवा,दाङ र बाँकेका अस्पतालहरूमा अहिले अक्सिजनको अभाव भएको अस्पताल प्रशासनले बताएका छन् ।
रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा तरल अक्सिजनको अभाव भएको छ । दैनिक आवश्यकताभन्दा ३० वटा अक्सिजन सिलिण्डर कम आपूर्ति भइरहेकाले अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत संक्रमितहरूको उपचारमा असहजस्थिति आएको अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल स्टोर इन्चार्ज रुपलाल पन्थीका अनुसार अस्पतालमा ‘अक्सिजन व्यवस्थापन गर्न गाह्रो हुँदा एकदमै क्रिटिकल समस्यामा पुगिएको छ ।’
उनका अनुसार अस्पतालको दैनिक आवश्यकता अहिले प्रतिदिन एक सय ५० सिलिण्डर हो तर एक सय २० सिलिण्डर अक्सिजन मात्रै आपूर्ति भइरहेको छ । आवश्यकता अनुसार अक्सिजन नहुँदा कोरोना संक्रमणको गम्भीर लक्षणसहित आइसीयू/एचडियूमा उपचार गराइरहेका १३ जना र भेन्टिलेटरमा राखिएका दुई जनाको उपचारमा समस्या देखिएको छ ।
संक्रामक रोग विशेषज्ञले कोरोना भाइरसले फोक्सोमा क्षति पुर्याएर रगतमा अक्सिजन प्रवाह घटाउने भएकाले लक्षण देखिएका बिरामीहरूलाई अक्सिजन आपूर्ति गर्न सकेमा मात्रै पनि मृत्युदर निकै कम गर्न सकिने बताइरहेका छन् ।
प्रादेशिक अस्पतालमा एक महिनाअघिसम्म २५ सिलिन्डर अक्सिजन उत्पादन गरिरहेको अक्सिजन जेनेरेशन प्लान्ट(अक्सिजन उत्पादन गर्ने मेसिन)ले काम गर्न छाडेपछि समस्या झन् टड्कारो बनेको हो ।
प्लान्टको कम्प्रेशर वालमा चुहावट भएर कम शुद्धता भएको अक्सिजन उत्पादन हुन थालेपछि प्लान्ट बन्द गरिएको छ ।
रोटरी क्लब अफ बुटवलको सहयोगमा काठमाडौँको मेडिअक्सी प्रालिले जडान गरिदिएको अक्सिजन प्लान्ट अहिले बिग्रिएपछि कम्पनीले पुनः निर्माणका लागि ध्यान नदिएको अस्पतालको आरोप छ ।
प्लान्टले फेरि अक्सिजन ‘जेनेरेशन’ गर्न सुरु गरेपनि अभाव भने पूर्ति हुन तत्काल अझै दैनिक पाँच सिलिन्डरको आवश्यक पर्नेछ । हाललाई अस्पताललाई नेपालगञ्जको एचओ अक्सिजन कम्पनीले तरल अक्सिजनका सिलिन्डरहरू आपूर्ति गरिरहेको छ । कम्पनीले अस्पतालले माग गरेजति अक्सिजन सप्लाई गर्न नसक्ने बताइसकेको छ ।
बुटवल, भैरहवा, दाङ र बाँकेका अस्पतालहरूमा अक्सिजनको अभाव भएको छ । अक्सिजन प्रदायक कम्पनीहरूले सप्लाईमा कमी गरेपछि समस्या भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीको भनाई ।
यता प्रदेश सरकारले अक्सिजनको जोहो गरिदिन प्रदेशमा सञ्चालित चार वटा अक्सिजन उत्पादक उद्योगसँग अनुरोध गरेको छ । प्रदेशका अस्पतालहरूमा अक्सिजनको अभाव हुन थालेपछि उद्योगहरूको क्षमता बढाई अक्सिजन उत्पादन बढाउन आग्रह गरिएको प्रदेशका स्वास्थ्य मन्त्री लिला गिरीले बताएका छन् ।
प्रदेशमा रहेका चार वटा अक्सिजन उत्पादक उद्योगहरूको क्षमता बढाउन अक्सिजन उत्पादक उद्योगका लागि चौबिसै घण्टा विद्युत आपूर्ति गर्ने र सिलिन्डर खरिदमा सरकारले सहयोग गर्ने सहमति भएको मन्त्री गिरीले जानकारी दिए ।
कोरोना संक्रमणको दोस्रो लहरको रुपमा संक्रमणदर उकालो लागेपछि अस्पतालहरूमा स्वासप्रश्वासका विरामी बढिरहेका छन् । हाल रुपन्देहीमा सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ७० पुगेको छ । रुपन्देहीमा मृत्यु हुनेको संख्या १ सय ७४ पुगेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया