लुम्बिनी

लुम्बिनी प्रदेश सरकारले बनायो रोजगार पोर्टल

बिक्रम खड्का |
कात्तिक २८, २०७७ शुक्रवार १७:३४ बजे

बुटवल : रोजगारीका लागि युवाहरू लस्कर लागेर भारततर्फ लाग्न थालेपछि लुम्बिनी प्रदेश सरकारले रोजगार पोर्टल बनाएको छ । रोजगारकर्ताहरूलाई रोजगारदातासम्म पु¥याउने उद्देश्यले अनलाइन प्रविधिको सुरुवात गरेको सरकारले जनाएको छ । प्रदेशभित्रै रोजगारीका अवसर सिर्जना गरी यस क्षेत्रका लागि आवश्यक जनशक्तिको प्रवन्ध गर्न रोजगार पोर्टल सञ्चालनमा ल्याएको आन्तरिक मामिला तथा कानून् मन्त्री कुलप्रसाद केसीले जानकारी दिए ।
 
प्रविधिको विकासँगै बेरोजगार रहेका कुनै पनि क्षमताका नागरिकले घरमै बसेर अनलाइन आवेदन भर्न सक्ने छन् भने रोजगारदाताहरूले आफ्ना लागि आवश्यक जनशक्ति यसै पोर्टलको माध्यमबाट आपूर्ति गर्न सक्ने छन् ।
बिहीबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रोजगार पोर्टलका बारेमा सञ्चारकर्मीहरूलाई जानकारी गराउँदै मन्त्री केसीले यसलाई नविन स्थापनाको सुरुवातको रूपमा लिइएको बताए । 

विश्वव्यापी कोभिड-१९ महामारीले स्वदेश फकिएका नागरिकहरूलाई रोजगार सिर्जनाका लागि सरकारले काम गरिरहेको बताउँदै उनले प्रदेशमा आवश्यक जनशक्तिहरू समेत स्वदेशी जनशक्तिबाटै पूर्ति गर्ने गरी काम गरिरहेको बताए ।


रोजगारदाता र रोजगारको खोजीमा रहेकाहरूलाई एकै ठाउँमा ल्याउने गरी ल्याइएको यो प्रविधिको माध्यमबाट रोजगार सिर्जना र जनशक्तिको आपूर्तिलाई एकद्वार प्रणालीमा लैजान सजिलो हुने लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. इश्वर गौतमले बताए । नागरिकहरूले यस पोर्टलमा गएर आफूले चाहेका रोगार क्षेत्र, आफ्नो क्षमता, सीप तथा ज्ञानका बारेमा खुलाएर आवेदन दिन पाउने छन् । यसैगरी रोजगारदाता कम्पनीहरूले आफ्ना लागि आवश्यक जनशक्ति, सेवा सुविधालगायतका विषय खुलाएर जनशक्ति माग गर्न सक्ने छन् ।

पोर्टलबाट कसरी भेटिन्छ जागिर ?
www.rojgarilumbini.gov.np मा लग इन गरीसकेपछि आफूलाई काम गर्न चाहेको क्षेत्रहरू छनोट गर्नु पर्ने छ । छनोट गरिएको क्षेत्रमा आफूले काम गर्न चाहेको काम, आफ्नो क्षमता तथा काम गरे बापत पाउने पारिश्रमिक समेत उल्लेख गरी आफ्ना सम्पूर्ण सम्पर्क विवरण भर्न सक्ने छन् । गोपनियताका लागि आवेदनकर्ताको मोवाइल नम्बरलगायतका केही जानकारीहरू भने गोप्य नै राखिनेछ ।

यसैगरी रोजगारदाताहरूले यो पोर्टलमा गएर आफ्ना लागि आवश्यक जनशक्तिका बारेमा विवरण खुलाएर राख्‍न सक्ने छन् । उनिहरूले विवरण खुलाउँदा आवश्यक पर्ने जनशक्तिको योग्यतासहितको विवरण खुलाउनुका साथै दिन सक्ने सेवा सुविधा समेत खुलाउनु पर्नेछ ।

यसरी दुबै पक्षबाट आएका आवेदनहरूलाई रोजगारदाता तथा रोजगारकर्ताहरूले छनोट गरी सम्पर्क स्थापित गर्न सक्ने छन् । यसरी रोजगारदाता तथा रोजगारकर्ताहरूबीच सम्पर्क स्थापित भएका रेकर्डहरू प्रदेशको रोजगार पार्टलले संकलन गरी राख्ने हुँदा रोजगार आपूर्ति तथा जनशक्ति आपूर्ति थप विश्वसनीय र व्यवस्थित रहने अपेक्षा गरिएको छ ।
 


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x