लुम्बिनी

लुम्बिनी प्रदेशमा सरकार गठनका लागि आज दाबी पेस गरिँदै

इकागज |
पुस २६, २०७९ मंगलबार ११:५० बजे

रुपन्देही लुम्बिनी प्रदेशमा सरकार गठनका लागि गठबन्धन दलहरुले आज दाबी पेस गर्ने भएका छन् । प्रदेश प्रमुखले बहुमतीय सरकार गठनका लागि दिएको समयसीमाभन्दा एक दिनअघि नै दलहरूले दाबी पेस गर्न लागेका हुन् ।    
    
प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते ४ बजेसम्म सरकार गठनका लागि समय दिएका थिए । प्रदेशको भागवण्डा टुङ्गिएपछि लुम्बिनीमा नेकपा (एमाले)ले मुख्यमन्त्री पाउने सहमति भएको छ । लुम्बिनीमा एमाले संसदीय दलका नेता एवं पूर्वमन्त्री लीला गिरी मुख्यमन्त्री बन्ने सम्भावना छ ।    
    
सोमबार दाङको देउखुरीमा एमाले संसदीय दलका नेता गिरीसहित सत्तापक्षीय गठबन्धनका नेताहरूको बैठकले मङ्गलबार ४ बजे सरकार गठनका लागि बहुमतसहितको दाबी पेस गर्ने सहमति गरेका थिए ।    
    
बैठकमा ४९ सदस्यको समर्थनसहित सरकार गठनका लागि दाबी पेस गर्ने सहमति भएको एमालेका प्रदेशसभा सदस्य भूमिश्वर ढकालले जानकारी दिए ।    
    
लुम्बिनी प्रदेशमा एमालेका २९, नेकपा (माओवादी केन्द्र)का १०, राप्रपाका चार, जसपा र जनमतका तीन-तीन सदस्य छन् । कुल ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ । नागरिक उन्मुक्तिका चार र स्वतन्त्रबाट दुई सदस्य निर्वाचित छन् । कांग्रेसका २७, लोसपाका तीन र नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका एक-एक सदस्य छन् ।



Author

थप समाचार
x