लुम्बिनी

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका गिरीको दाबी पेस

इकागज |
पुस २७, २०७९ बुधबार १३:४८ बजे

बुटवल - लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता गिला गिरीले दाबी पेस गरेका छन् । बहुमत सदस्यहरुको हस्ताक्षरसहित गिरीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीको दाबी पेस गरेका हुन् ।

उनको दाबीसंगै लुम्बिनी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ । यसअघि प्रदेश प्रमुख शेरचनले आज साँझ ४ बजेसम्म संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी पेस गर्न समय दिएका थिए ।


सोही समयाअवधिभित्रै एमालेसहित माओवादी केन्द्र, राप्रपा, जसपा, नागरिक उन्मुक्ति पार्टी र दुई जना स्वतन्त्र सांसदसहित ५५ जनाको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेको एमाले सासद भुमिश्वर ढकालले जानकारी दिए । प्रदेश प्रमुखले दिएको समयको एकदिन अगाडि मंगलबार नै दाबी पेस गर्ने तयारी गरे पनि सत्तारूढ दलका संसदीय दलका नेता सबै उपस्थित हुन नसकेपछि दाबी पेस हुन सकेको थिएन ।

माओवादीले केन्द्रले अन्तिम समयमा लुम्बिनीमा मुख्यमन्त्रीको कार्यकाल आधा/आधा हुनुपर्ने अडान राखेपछि दाबी पेस गर्ने कार्यक्रम एकदिन पछि धकेलिएको हो । असन्तुष्ट माओवादी संसदीय दलका नेता जोख वहादुर महरा काठमाडौंमा पुगेर शीर्ष नेतासँग भेटघाट गरेका थिए ।

दुई वर्षपछि एमालले मुख्यमन्त्री छाड्ने र त्यसपछि माओवादी केन्द्र नेतृत्वको सरकार आलोपालो गर्ने समझदारी भएको थियो । लुम्बिनीमा ८७ जना प्रदेश सांसद छन् । जसमा सरकार गठनका लागि ४४ जना सांसद आवश्यक्ता पर्छ ।

सत्तासाझेदार दलसँग एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, नागरिक उन्मिक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३ र स्वतन्त्र २ सांसद गरी सरकारमा ५५ जना सरकारमा सहभागी हुने तयारी छ ।

गिरी लुम्बनीको तेस्रो मुख्यमन्त्री बन्न लागेका हुन् । ०७४ को पहिलो प्रदेशसभा चुनाव पछि एमालेका महासचिव शंकर पोखरेल मुख्यमन्त्री भएका थिए । करिब दुई वर्षपछि उनको सरकार ढाल्दै माओवादी केन्द्रका नेता कुलप्रसाद केसी २८ साउन २०७८ मा मुख्यमन्त्री भएका थिए ।


Author

थप समाचार
x