शपथ खुवाउन प्रदेश प्रमुख नै मुख्यमन्त्रीकहाँ !
फाइल तस्बिर
बुटवल - लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन्। एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता गिरी बुधबार मुख्यमन्त्री नियुक्त भएका हुन्।
प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई बुटवलमा रहेको आफ्नै कार्यालयबाट नियुक्ति दिए पनि शपथ खुवाउन भने स्थायी राजधानी देउखुरी पुगेका छन्। मुख्यमन्त्री र मन्त्रीहरूलाई शपथ खुवाउने कार्यक्रम प्रदेश प्रमुखको कार्यालयले आयोजना गर्ने गर्छ। शपथ खुवाउनेले नै आफ्नो कार्यालयमा समारोह आयोजना गर्ने चलन छ।
तर लुम्बिनीमा दोस्रोपटक शपथ खुवाउन प्रदेश प्रमुख नै मुख्यमन्त्रीकहाँ पुगेका छन् ।
यसअघि २०७८ वैशाखमा शंकर पोखरेल दोस्रोपटक मुख्यमन्त्री बन्दा प्रदेश प्रमुखलाई आफ्नै कार्यालयमा ल्याएर शपथ खुवाउन लगाएका थिए। विपक्षी दलहरूले अविश्वासको प्रस्ताव ल्याएपछि पोखरेलले पदबाट राजीनामा दिएर पुनः मुख्यमन्त्री पदमा दाबी गरेका थिए।
अर्कातर्फ माओवादी केन्द्रका कुलप्रसाद केसीले बहुमत देखाएर दाबी पेस गरेका थिए। दुई पक्षबीच सांसद तानातानको खेल पनि भएको थियो।
कांग्रेस, माओवादी केन्द्रले प्रदेश प्रमुख कार्यालयमा धर्ना दिएपछि शंकर पोखरेलले तत्कालीन प्रदेश प्रमुख धर्मनाथ यादवलाई मुख्यमन्त्री कार्यालयमा बोलाएर शपथ खाएका थिए। तर यसपटक परिबन्दमा परेर प्रदेश प्रमुख मुख्यमन्त्री कार्यालय भएको ठाउँमा पुगेका भने होइनन्।
प्रदेश राजधानीका संरचना देउखुरीमा स्थापना भइसकेको छ। मुख्यमन्त्री कार्यालय तथा मन्त्रालय त्यहीँ राखिएका छन्।
मुख्यमन्त्री र मन्त्रीहरूको सुविधाका लागि प्रदेश प्रमुख शेरचन आफैँ देउखुरी पुगेका हुन् । प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव चिरञ्जीवी पौडेलले प्रदेश प्रमुख कार्यालयमै शपथ समारोह आयोजना गर्ने प्रचलन भए पनि केही अपायकका कारण देउखुरीमा आयोजना गरिएको बताए।
सबैलाई अपायक पर्ने भएकोले देउखुरीमा प्रदेशसभाको प्रांगणमा पाल टाँगेर शपथ समारोह आयोजना गरेको उनको भनाइ छ । आज दिउँसो १ बजे हुने समारोहमा मुख्यमन्त्री लीला गिरी र केही मन्त्रीले शपथ खाँदै छन्।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया