लुम्बिनी

एमालेमै फर्किए लुम्‍बिनीका दुई 'स्‍वतन्‍त्र' सांसद

इकागज |
बैशाख २०, २०७८ सोमवार १३:२ बजे

बुटवल : आइतबार अविश्वासको प्रस्तावको पक्षमा कुलप्रसाद केसीलाई समर्थन गर्दै हस्ताक्षर गरेका स्वतन्त्र समूहका दुई सांसदले आज आफूहरू नेकपा एमालेकै साथमा रहेको स्‍पष्‍टीकरण दिएका छन् । आइतबार विपक्षी दलका नेता कुलप्रसाद केसीको समर्थनमा लागेका सांसदद्वयले सोमबार आफूहरू  निर्वाचनमा साथ दिएको एमालेकै पक्षमा रहेको भन्‍दै संयुक्‍त विज्ञप्‍ति जारी गरेका छन् । 

'हिजो भुलबस केसीको समर्थनमा लागेका थियौँ, आज त्यसलाई सच्याएर निर्वाचनमा साथ दिएको एमालेकै पक्षमा लागेका छौँ,' प्रदेशसभा सदस्य अजय शाहीले भने । कपिलबस्तुका धर्म बहादुर लाल श्रीवास्तव र नवलपरासीका अजय बहादुर शाहीले नेकपा माओवादी केन्द्रका नेता कुल प्रसाद केसीको पक्षमा हस्ताक्षर गरेका थिए ।


दुवै प्रदेशसभा सदस्यहरू सूर्य चुनाव चिन्ह लिएर प्रदेशसभामा निर्वाचित भएका थिए । उनीहरूले आफूहरू स्वतन्त्र सांसद भएको दाबी गर्दै आएका छन् । उनीहरू प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासीको निर्वाचन क्षेत्र नं १ को २ बाट र अजय बहादुर शाही र कपिलबस्तुको निर्वाचन क्षेत्र नं २ को १ बाट निर्वाचित भएका थिए ।


सूर्य चुनाव चिन्ह लिएर निर्वाचित भएका दृग नारायण पाण्डेयले भने प्रदेशसभा सचिवालयमा राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भइसकेको छ ।


Author

थप समाचार
x