लुम्बिनी

मन्त्रीको घरमा डेढ महिनामै दुई पटक चोरी

इकागज |
फागुन २५, २०७९ बिहीबार ८:४१ बजे

बुटवल - लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा खानेपानी मन्त्री चेतनारायण आचार्यको घरमा चोरी भएको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका हटारीनेटामा रहेको उनको निजी निवासमा गएराति चोरी भएको प्रहरीले जनाएको छ ।

डेढ महिनाभित्र उनको घरमा दुई पटक चोरी भएको छ । बुटवलमा बस्दै आएका मन्त्री आचार्य यस पटक भने राष्ट्रपति निर्वाचनका लागि भन्दै सपरिवार काठमाडौंमा छन् । 


प्रदेशको खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री आचार्य परिवारसहित काठमाडौं गएको मौका छोपी चोरी भएको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए । घरका सबै कोठाको ताल्चा फुटाएर चोरी भएको छ । तर, घरका परिवार नभएकाले के कति चोरी भयो भन्ने नखुलेको प्रहरीले जनाएको छ ।

डेढ महिनाअघि पनि आचार्यको घरमा चोरी भएको थियो । त्यसबेला त्यति धेरै क्षति नभए पनि यसपालि सबै ताल्चा फोडेको र सामान लगेको मन्त्रीका निजी सचिव प्रदीप नेपालीले बताए ।
 


Author

थप समाचार
x