लुम्बिनी

प्रदेश प्रमुख दबाब र प्रलोभनमा परेको आरोप

इकागज |
बैशाख २३, २०७८ बिहीबार १६:३३ बजे

लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादव । फाइल तस्‍बिर

बुटवल : लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले दबाब र प्रलोभनमा परेर अल्पमतमा परेको नेकपा एमालेका नेता शंकर पोखरेलाई मुख्यमन्त्रीमा नियुक्ति गरेको एक कार्यक्रमका सहभागीले आरोप लगाएका छन् । प्रदेश प्रमुखले अंसवैधानिक र अलोकतान्त्रिक कदम चालेर पोखरेललाई नियुक्ति र शपथ गराएको बुटवलमा आयोजित एक साक्षात्कार कार्यक्रमका सहभागीले लगाएका हुन् । 

कार्यक्रममा बोल्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले प्रदेश प्रमुखले अंसवैधानिक र अलोकतान्त्रिक कदम चालेर अल्पमतमा परेका शंकर पोखेरलाई मुख्यमन्त्रीमा नियुक्ति र शपथ गराएर लुम्बिनी प्रदेशमा ताण्डव मच्चाएको आरोप लगाए । अल्पमतमा परेका मुख्यमन्त्रीले सत्ता टिकाउनको लागि जम्बो मन्त्रिपरिषद् गठन गरेकोमा उनले आक्रोश पोखे । मुख्यमन्त्री पोखरेललाई जनतालाई कोरोबाट बचाउनभन्दा पनि सत्ता टिकाउन जोड दिएको आरोप लगाउँदै जम्बो मन्त्रिपरिषद् गठन गरेर अनावश्यक खर्च बढाएको टिप्पणी गरे ।


कोभिड महामारीको हटस्पट बनेको लुम्बिनी प्रदेशमा जनताको जीवन रक्षाको लागि सत्तापक्ष र प्रतिपक्ष लाग्नु पर्नेमा सत्ताको खिचातानीमा लागेको खनालले बताए । प्रदेश सरकार गम्भीर बन्न नसक्दा जनताले अक्सिजनको अभाव खेप्नु परेकोमा गुनासो पोखे ।

प्रदेश प्रमुखको कार्यालयमा महिला सांस माथि प्रदेश प्रहरी प्रमुख रविन्द्र धानुकले गरेको हातपातको विषयमा उच्च स्तरीय आयोग गठन गरेर तत्काल छानविन गर्नु पर्नेमा जोड दिए । महिला सांसदमाथि हातपात हुनु गम्भीर विषय भएको उनले बताउँदै छानविनगरी  दोषीलाई कारबाहीको माग राखे ।

संविधानसभा सदस्य तथा दलित पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विनोद पहाडीले प्रदेश प्रमुखको कार्यालयमा महिला सांसदमाथि पुरुष प्रहरीले हातापात गरेको घटनाको छानविनको माग राखे । घटनाको छानविन र दोषिमाथि काबारही हुनु पर्नेमा उनले जोड दिए । लुम्बिनी प्रदेशमा भएको असंवैधानिक र अलोकतान्त्रिक कदमको राजनीतिक दल, नागरिक समाजले खुलेर विरोध गर्न उनले आग्रह गरे ।  

उच्च अदालत बार एसोसियसन बुटवलका अध्यक्ष जोगबहादुर खत्रीले  प्रदेश प्रमुखले अल्पमतमा रहेका शंकर पोखरेलाई मुख्यमन्त्रीमा नियुक्ति र शपथ गराएर संविधानको धज्जी उडाएको बताए ।  अल्पमतमा परेको पोखरेलाई मुख्यमन्त्रीमा नियुक्ति गर्नु असंवैधानिक र अलोकतान्त्रिक कदम भएको उनले टिप्पणी गरे । प्रदेश प्रमुख र मुख्यमन्त्रीले संविधान, संसदीय मूल्यमान्यता, विधि, कानूनमाथि धाबा बोलेको आरोप लगाए । संसद्‍मा अविश्वासको प्रस्ताव जीवित रहेको बेला मुख्यमन्त्रीले चोरबाटोबाट राजीनामा दिएर पुनः मुख्यमन्त्री बन्नु लज्जास्पद भएको टिप्पणी गरे । आफ्नै प्रदेश प्रमुखको कार्यालयमा शपथ खुवाउनु पर्नेमा मुख्यमन्त्री कार्यालयमा पुगेर मुख्यमन्त्रीलाई शपथ खुवाएर संस्था कै गरिमा गिराउने काम प्रदेश प्रमुखबाटै भएको खत्रीले बताए । अल्पमतमा रहेका मुख्यमन्त्रीलाई प्रतिपक्षले विशेष अधिवेशनको माग राखेर संसदबाट जवाफ खोज्नु नै अहिलेको उत्तम बिकल्प हुने उनले शुझाव दिए । 


Author

थप समाचार
x