लुम्बिनी

अंग्रेज हराएको स्मरणमा जितगढी उत्सव

इकागज |
बैशाख ७, २०८० बिहीबार १२:४४ बजे

बुटवल । नेपाली फौजले अंग्रेज सेनालाई हराएको दिनको स्मरणमा आज रुपन्देहीको बुटवलस्थित जितगढीमा भव्य रुपमा जितगढीमा उत्सव मनाइँदैछ ।

१८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको थियो । सोही खुशीयालीमा बुटवल उपमहानगरपालिकाले प्रत्येक वर्ष वैैशाख ७ गते जितगढी उत्सव मनाउँदै आएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १ स्थित जितगढीमा हुने उत्सवलाई लक्षित गरी नेपाली सेनाले गोरखादेखि शुरु गरेको पैदलयात्रा बुटवल आइपुगेको छ । उत्सव भव्यरुपमै कार्यक्रम गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बताए ।


नेपाली सेनाको टोलीलाई बुटवल उपमहानगरले स्वागत गरेसँगै यात्रा समापन भएको हो । गोरखाबाट गत चैत २९ गते नेपालको राष्ट्रिय झण्डासँगै नेपाली सेनाको श्रीनाथ गण, कालिबक्स गण, बर्दवाणी गण, सबुज गण, पुरानो गोरख गण र जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डा बोकेर ४८ जना नेपाली सेनाको टोली जितगढीको लागि पैदलयात्रा सुरू गरेको थियो । उक्त टोलीले दैनिक ४० किलोमिटर पैदलयात्रा गर्दै आएको थियो । जितगढीसम्म आइपुग्दा ३ सय ७० किलोमिटर पैदलयात्रा पूरा भएको नेपाली सेनाले जनाएको छ ।

वि.सं. १८७१ पुस २१ देखि १८७२ वैशाख ७ सम्म नेपाल–अंग्रेज बीच विभिन्न स्थानमा युद्ध भएको थियो । अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा नेतृत्वको नेपाली फौजले कुमाउ–गढवाल (नाहान), मकवानपुरगढी, कोशी–टिस्टामा अंग्रेज फौजसँग लडाइँ हारेको थियो । तर बुटवलको जीतगढीमा कर्णेल उजिरसिंह थापाको नेतृत्वको फौजले अंग्रेज फौजलाई हराएको थियो ।

चिटिक्क पारिएको जितगढी किल्ला

पाँच सय वर्गफिट इलाकामा फैलिएको जितगढी पूर्वपश्चिम लम्बाइ २०५ फिट छ र चौडाइ करिब ५५ फिट छ । गढीको जग निकै फराकिलो छ । गढीको गाह्रो क्रमशः माथितिर साँगुरो हुँदै गएको छ । गढीको भित्री भागबाट पर्खालको उचाइ ४ फुट ३ इन्च छ । १० इन्च चौडा रहेको भित्ताको मोटाइ ८ फुट ४ इन्च रहेको र गढीको भित्री भाग खुल्ला रहेको छ । त्यहाँ करिब बाह्र लाखदेखि पन्ध्र लाख ईंटा प्रयोग भएको अनुमान छ । ईंटाहरुका कोही १० इन्च वर्गाकारका तथा केही ईंटाहरुको लम्बाइ चौडाइ क्रमशः ८.६ इन्च, ६ इन्च बाई २ इन्च रहेको छ । गढीको निर्माण शैली भने अन्य प्राचीन गढीहरु जस्तै छ । गढीको वरिपरि युद्धको सुविधाको लागि विभिन्न किसिमका प्वालहरु निर्माण गरिएको छ ।

पुरातात्विक र ऐतिहासिक महत्व बोकेको यो गढी १६ औं शताब्दीतिर सेनकालमा निर्माण भएको मानिएको छ । यो गढी तिनाउ नदीको किनारमा अवस्थित छ ।


Author

थप समाचार
x