लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका चौधरीको दाबी पेस
लुम्बिनी- नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आज दाबी पेस गरेका छन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
नेकपा एमाले नेतृत्वको सरकारका मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट गत सोमबार विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुखले मङ्गलबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् ।
प्रदेश प्रमुख शेरचनले आज अपराह्न ४ बजेसम्म उपधारा २ बमोजिम सरकार गठन हुने विश्वासिलो आधारसहित आउन दललाई आह्वान गरेका छन् । कांग्रेस र माओवादी केन्द्रसहित आठ दल र एक स्वतन्त्र गरी ५३ सांसदले चौधरीलाई संविधान बमोजिम मुख्यमन्त्री नियुक्त गर्न निवेदन दिएका थिए ।
प्रदेश प्रमुखले तोकेको समय सीमाबमोजिम नेपाली कांग्रेस संसदीय दलका नेता चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न नेपाली कांग्रेससहित गठबन्धन दलका सदस्यले सरकारको दाबी प्रस्तुत गरेका हुन् ।
उनलाई मुख्यमन्त्री नियुक्ति गर्न नेकपा (माओवादी केन्द्र), जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेकपा (एकीकृत समाजवादी)को समर्थन छ ।
कूल ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११ सदस्य छन् । साथै राप्रपा र नागरिक उन्मुक्ति पार्टीका चार/चार, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन/तीन, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक/एक र एक स्वतन्त्र सदस्य छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया