लुम्बिनी

लुम्बिनीका मुख्यमन्त्रीले मंगलबार विश्वासको मत लिने

इकागज |
बैशाख १७, २०८० आइतबार १८:२६ बजे

लुम्बिनी- लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आगामी मंगलबार विश्वासको मत लिने भएका छन् ।

यसअघि सोमबार विश्वासको मत लिने टुङ्गोमा पुगेका मुख्यमन्त्री चौधरी उक्त दिन अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्वजनिक बिदा परेकाले मंगलबार विश्वास लिन लागेको प्रदेश सरकारका मन्त्री सन्तोष पाण्डेले जानकारी दिए । 


प्रदेश सभामा रहेका आठ दलको समर्थनमा वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका चौधरीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डललाई पूर्णता दिने योजना बनाएका छन् । गठबन्धन दलमा मन्त्रालयको भागबण्डा नटुङ्गिएका कारण चार सदस्यीय मन्त्रिमण्डल गठन गरिएको छ ।

मुख्यमन्त्रीसँगै नियुक्त भएका तीन जना मन्त्री पनि बिनाविभागीय छन् । 

मुख्यमन्त्री चौधरीले मंगलबार विश्वासको मत लिने कार्यक्रम तय भएर प्रदेश सभालाई जानकारी गराएको मन्त्री पाण्डेले जानकारी दिए । मुख्यमन्त्रीले विश्वासको मत लिने भएपछि प्रदेश सभाको अधिवेशन मंगलबारका लागि बोलाइएको छ ।

प्रदेश सभाको पहिलो अधिवेशनको दशौँ बैठक वैशाख १९ गते मंगलबार बिहान ११ बजे बस्ने गरी तय भएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जारी गरेकाे सूचनामा जनाइएको छ ।


Author

थप समाचार
x