लुम्बिनी

आजदेखि बेलहियासहितको सीमा नाका बन्द हुँदै

इकागज |
बैशाख १९, २०८० मंगलबार १०:५७ बजे

भैरहवा- मंगलबारदेखि बेलहियासहित रुपन्देहीसँग जोडिएको नेपाल भारत सीमा बन्द हुने भएको छ । भारतको उत्तरप्रदेश महराजगंजमा बिहीबार मे ४ मा हुन गइरहेको चुनावलाई लक्षित गरी नेपाल–भारत सीमानाका ४८ घण्टा अगाडिबाट बन्द गर्न लागिएको हो । 

१२ वैशाख बिहानदेखि हुने महराजगंज जिल्लाको नगर निकाय निर्वाचन (स्थानीय निर्वाचन)लाई मध्यनजर गर्दै रुपन्देहीको बेलहियासहितको नाका मंगलबार साँझ ६ बजेबाट बन्द गरिने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।


निर्वाचनमा सुरक्षा संवेदनशीलताको कारणले गर्दा दुवै देशका सुरक्षा निकायको समन्वय तथा सहमतिमा नाकाहरू बन्द गर्न लागिएको हो । चुनावलाई लक्षित गरी मतदान समाप्त नभएसम्मका लागि (बिहीबार साँझ ६ बजे सम्म) सीमानाका बन्द गरिने सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए । दुवै देशको प्रशासनका अधिकारीहरूको बैठकले १९ गते देखि २१ गते साझ ६ बजे सम्मका लागि पूर्ण रुपमा सीमानाका शिल गर्ने निर्णय भएको हो ।

सीमा बन्द भए पनि अति आावश्यक कामका लागि आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ । पेट्रोलियम पदार्थ, एम्बुलेन्स, शववाहन, दुध, हरियो तरकारी, भारत हुँदै तेस्रो मुलुकबाट आउने पर्यटक बाहेकअन्यको हकमा आवतजावत बन्दसमेत रहने जिल्ला प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचनलाई नै लक्षित गरि नेपाल भारत सीमामा सुरक्षा व्यवस्था बढाइएको छ । निर्वाचनका समय अपराधिक गतिविधि गर्ने सक्रिय हुने सम्भावना हुने भएकोले सुरक्षा व्यवस्था कडा बनाउन सुरक्षाकर्मीलाई निर्देशन दिएको छ । सीमा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीहरूले पनि संयुक्त गस्ती गर्ने छन् ।
 


Author

थप समाचार
x