Ekagaj Logo
२३ कात्तिक २०८१, शुक्रबार
(Friday, 08 November, 2024)

लुम्बिनी

आमनागरिक र समाजप्रति प्रहरी बढी जिम्मेवार : प्रहरी महानिरीक्षक कुँवर

इकागज |
बैशाख २१, २०८० बिहीबार १३:१४ बजे

बुटवल- नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले आमनागरिक र समाजप्रति प्रहरी बढी जिम्मेवार भएको बताएका छन् । ईलाका प्रहरी कार्यालय बुटवलको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै महानिरीक्षक कुँवरले निजि स्वार्थभन्दा माथि उठेर संस्थागत हितमा काम गर्न मातहात निकायलाई निर्देशन दिएका छन् ।

निस्वार्थ गरिएको सेवाले मात्र नागरिकलाई शान्ति सुरक्षाको अनुभुति हुने बताउँदै महानिरीक्षक कुँवरले सुरक्षा व्यवस्थामा कुनै कसर बाँकी नराख्ने अडान लिए । समाजमा हुने अपराधिक गतिविधिलाई नियन्त्रण गर्नेदेखि कानुनी कारबाहीमा ल्याउनसम्म प्रहरी अति नै संवेदनशील भएको र नागरिकलाई न्यायको प्रत्याभुति हुने तरिकाले कार्य सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे ।


प्रशासनिक कामका लागि नेपाल प्रहरीले करिव ४ सय वटा भवन भाडामा लिएर सेवा सञ्चालन गरिरहेको जानकारी गराउँदै महानिरीक्षक कुँवरले नागरिकको सेवालाई सहज र गुणस्तर बनाउन बुटवलमा भवनलाई विधिवत् सुचारु गरिएको उल्लेख गरे । उच्च मनोबल र सकारात्मक सोँचले मात्र नागरिकमैत्री सेवा दिन सकिने भन्दै महानिरीक्षक कुँवरले कुशल कार्यशैली प्रभावले मात्र प्रहरीप्रतिको जनविश्वास बढ्दै जाने बताए ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले आन्तरिक सुरक्षा बलियो बनाउने खम्बा नेपाल प्रहरी भएको बताएका छन् । आमजनता संग प्रत्यक्ष सरोकार गर्ने निकाय नै प्रहरी भएका कारण शान्ति,सुरक्षा दिने सन्र्दभमा नागरिकमैत्री हुन जरुरी रहेको बताउँदै रुपन्देहीको शान्ति सुरक्षा सन्तोषजनक रहेको विश्वास दिलाए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले आमनागरिकको सुरक्षाको अभिन्न अंग प्रहरी भएको बताएका छन् ।विनावर्दीका नागरिक पनि प्रहरी भएका कारण समाजमा हुने विकृति,विसंगतिको विरुद्धमा नेपाल प्रहरी संग हातेमालो गर्नुपर्ने मेयर पाण्डेले औँल्याए ।


Author

थप समाचार
x