लुम्बिनी

शुक्रबार भित्रै लुम्बिनी सरकारले पूर्णता पाउँछ : प्रवक्ता पाण्डे

इकागज |
बैशाख २६, २०८० मंगलबार १४:५३ बजे

काठमाडौँ- लुम्बिनी प्रदेश सरकारका प्रवक्ता सन्तोष पाण्डेले शुक्रबार भित्रै सरकारले पूर्णता पाउने बताएका छन् ।​

रिपोर्टस् क्लब नेपाल लम्बिनी प्रदेश कार्यालय बुटवलले कानुन दिवसको अवसरमा  आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पाण्डेले जनताले अनुभव गर्ने गरी काम गर्ने टिमसहितको सरकार विस्तार गर्ने बताए । उनले दिगो विकासको अवधारणासहित सरकार अघि बढ्ने जिकिर गर्दै संघीयतालाई पूर्ण रूपमा कार्यान्वयन गर्न प्रदेश सरकारलाई पूर्ण अधिकार दिनुपर्नेमा जोड दिए ।


नीति नियमलाई पालना गरी आम नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउने गरी मुख्यमन्त्री डिल्लीबहादुर चौधरी नेतृत्वको सरकार लाग्ने उनको भनाइ छ ।

त्यस्तै नेकपा एमालेका लुम्बिनी प्रदेशसभा प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले नेकपा एमाले कानुनी राज्यको पूर्ण पालना र सुशासनको पक्षमा रहेको जिकिर गर्दै जुनसुकै भ्रष्टाचारीलाई संरक्षण गरेर नबस्ने जिकिर गरे । उनले एमाले भागबण्डाको राजनीति स्वीकार नगर्ने भन्दै आर्थिक संकटको अवस्थामा पनि मन्त्रालय थप्नु सुशासन विरोधी काम भएको दाबी गरे ।

त्यस्तै कांग्रेसका नेतृ निर्मला क्षेत्रीले प्रदेश सरकारले जनताको हकहितका लागी काम गर्नुपर्ने बताइन् । उनले प्रदेश सरकार नीति नियम र कानुनको अभावका कारण अपूर्ण रहेको उल्लेख गर्दै संघीयता कार्यान्वयनका लागि प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिइन् ।


Author

थप समाचार
x