लुम्बिनी

नक्कली भुटानी शरणार्थी प्रकरण :

टोपबहादुरबारे लुम्बिनी प्रदेश प्रहरी प्रमुख जोशी भन्छन्- प्रहरीले छिट्टै रिजल्ट दिन्छ

इकागज |
बैशाख ३१, २०८० आइतबार १३:५ बजे

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उमेशराज जोशीले नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्तहरूलाई कानुनको दायरामा ल्याउन प्रहरीले सबै शक्ति लगाएको बताएका छन् । केही दिन अघि पक्राउ पुर्जी जारी भएर पनि रुपन्देहीबाट फरार रहेका पूर्वमन्त्रीसमेत रहेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ नपरेको विषयमा जोशीले नागकिरहरूले पनि प्रहरीलाई सहयोग गर्नुपर्ने बताए ।

उनले कतिपय भ्रामक हल्ला पनि फैलाइएको भन्दै यो ठाउँमा भएको अथवा त्यो ठाउँमा लुकेर बसेको भन्‍ने मात्र होइन अभियुक्तहरूलाई नियन्त्रणमा लिन नागरिकहरूले पनि सहयोग गर्नुपर्ने बताए । उनले रायमाझीलगायत जतिपनि पुर्जी जारी भएका अभियुक्तहरू छन् उनीहरूलाई नियन्त्रणमा लिन प्रहरी सबै हिसाबले लागेको बताए । उनले भने भारतमै पुगेका भएपनि त्यहाँको सुरक्षा निकायको सहयोगमा हामीले समात्ने छौँ । उनै प्रहरी नायब महानिरीक्षक उमेश राज जोशीसँग इकागज गरेको छोटो कुराकानीको अंश : 


नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका कतिपय फरार अभियुक्तहरू यसै क्षेत्रमा छन् भन्ने व्यापक हल्ला छ तर पक्राउ किन नपरेका होलान ? 
होइन हेर्नुस् हामीले यो घटनामा जोडिएका या अरू पनि घटनामा जोडिएका अभियुक्तहरूको खोजी गरिरहेका छौँ । यो विषयमा पनि प्रहरीको सबै शक्ति खोजबिनमा लागेको छ । अनुसन्धान अधिकृतहरूको निकै ठूलो मिहिनेत छ । तर कतिपय कुराहरू र्‍युमरहरू पनि फैलाउने काम भएको हुन सक्छ । यहाँ लुकेको छ भनेर मात्र भएर छ भने प्रहरीलाई पनि खबर गरेर सहयोग गरे त भयो नि होइन र ? 

पूर्वमन्त्रीसमेत रहेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ पुर्जी जारी गर्दादेखि नै सुरक्षाकर्मीहरूकै बीचमा हुनुहुन्थ्यो तर पछि फरार भनियो यो कसरी भयो ? 
अब अुनसन्धानमा भइरहेको धेरै कुरा बताउन मिल्दैन , यसमा तपाईंहरू पनि जानकार नै हुनुहुन्छ । उहाँलाई पनि पक्राउ गर्नका लागि अनुसन्धानमा खटिएको टोली लागिरहेको छ । यसमा प्रहरीले छिट्टै रिजल्ट दिनेछ । कहाँ कसरी फरार हुनु भयो भन्ने कुरा त थाहा भएन । प्रहरीले उहाँलाई खोजिरहेको छ । कुरा यति नै हो । 

अभियुक्तहरू भारत पुगेको हल्ला पनि छ, यस्तो बेला पक्राउको सम्भावना कसरी हुन्छ ? 
अब हेर्नुस् अनुसन्धानको केसमा प्रहरीले सबै कुराको प्रयोग गर्छ । कानुन अनुसार मिल्ने सबै अस्त्रको प्रयोग भएको हुन्छ । भारतमा पनि प्रहरीले खोजबिन गर्छ नि । छिमेकी देशको सुरक्षा निकायको सहयोग पनि त लिन सकिन्छ । 

यस क्षेत्रमै धेरै पीडित र भिआईपी अभियुक्तहरू रहेछन् नि ?
यो त अब अनुसन्धान सकिएपछि भन्ने कुरा भयो । को-को कहाँका भन्ने कुरा । जो जहाँका भएपनि प्रहरीले कानुनको शासन र विधिमा टेकेर आफ्नो काम गर्ने हो । यसमा तपाईंहरू जस्तो नागरिक समाज सबैको सहयोग चाहिन्छ । ईभिडेक्स अनुसार प्रहरी अघि बढ्ने हो कोही कसैसँगै आग्रह पुर्वाग्रकै आधारमा प्रहरीले त केही गर्दैन । अर्को कुरा कोही निर्दोष फस्न नहुनेमा प्रहरी सधै सजग नै रहन्छ । 
 


Author

थप समाचार
x