लुम्बिनी

उपचारमा खटिएका स्वास्थ्यकर्मी नै संक्रमित

बुटवलस्‍थित प्रादेशिक अस्पतालमा मात्र चिकित्सकसहित ६४ जना स्वास्थ्यकर्मी संक्रमित

बिक्रम खड्का |
बैशाख ३०, २०७८ बिहीबार १३:३७ बजे

बुटवल : बिरामीको ज्यान बचाउन खटिएका स्वास्थ्यकर्मी नै धमाधम कोभिड-१९ बाट संक्रमित हुन थालेका छन् । स्वास्थ्यकर्मी नै संक्रमित हुन थालेपछि अक्सिजनको चरम अभाव झेल्दै आएका अस्पतालहरूमा जनशक्तिसमेत अभाव हुन थालेको छ । स्वास्थ्कर्मीहरू स्वयं संक्रमित हुन थालेपछि लुम्बिनी प्रादेशिक अस्पतालको सेवामा असर देखिन थालेको छ । आफै संक्रमित भएपछि कतिपय स्वास्थ्यकर्मी अस्पतालकै क्वाटरलाई आइसोलेसन बनाएर बसेका छन् भने कतिपय अस्पतालमै भर्ना भएर उपचार गराइरहेका छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालमा मात्र ६४ जना स्वास्थ्यकर्मी संक्रमित छन् । अस्पतालमा कार्यरत मेडिकल अफिससरदेखि ठूलो संख्यामा नर्सिङ स्टाफहरू संक्रमित भएपछि अस्पतालको सेवामा सामान्य असर देखिएको अस्पतालले जनाएको छ । रातदिन संक्रमितकै उपचारका खटिने क्रममा उनीहरूलाई संक्रमितहरूबाटै संक्रमण सरेको हो । 


अस्पतालका सूचना अधिकारी डा. बिष्णु गौतमले दिएको जानकारीअनुसार ५ जना मेडिकल अफिसर, ८ जना पारामेडिक, २३ जना नर्सिङ स्टाफ, १५ जना सपोर्टिङ स्टाफ, एनेस्टेसिया २ जना, गाइनोक्लोजिष्ट २ जना, प्रशासन तर्फबाट १ जना र फर्मासिस्ट तर्फका ८ जनालाई संक्रमण पुष्टि भएको छ । लक्षणसहितका १७ जनाको अस्पतालमै उपचार चलिरहेको छ भने लक्षण नदेखिएका संक्रमितहरू निवासमै आइसोलेट भएका छन् ।

अस्पतालले कोरोनासँग सरोकार नरहेका बाहेक सबै कन्सल्टेण्ट, मेडिकल अफिसर र कोरोना करारका चिकित्सकहरूलाई संक्रमितको उपचारमा परिचालन गरेको प्रवक्ता डा. गौतमले जानकारी दिए । एकै पटक ६४ बढी स्वास्थ्यकर्मीहरू संक्रमित हुन पुग्दा सेवामामा असर पुग्नु स्वाभाविक भएको उनको भनाइ छ ।

 डा. गौतमकाअनुसार अस्पतालमा मेडिकल अफिसर लेबलका १८ जना, विकास समितिबाट १५ जना, कोरोना करारमा नियुक्त भएका ८ जना तथा कन्सल्टेण्ट चिकित्सकहरू करिब ३५ जना कार्यरत छन् । संक्रमितको उपचारका लागि मात्र १०० बढी स्टाफ नर्सहरू करारमा भर्ना गरिएको छ ।

जनशक्तिमा कमी नहोस् भनेर वार्डहरू मर्ज गरेर संक्रमतिको उपचारको ब्यवस्था मिलाइएको डा. गौतमले बताए । जनशक्तिको अभाव हुन नदिन अन्य वार्डहरूबाट दक्ष जनशक्ति सिफ्ट गरेर भए पनि उपचारमा कमी आउन नदिने गरि तयारी भइरहेको लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकलपर्शन डा. नन्दु पाठकले बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको कोरोना विशेष अस्पतालसहित इमर्जेन्सी र फिभर क्लिनिकमागरी ३५८ जना कोरोना संक्रमितको प्रादेशिक अस्पतालमा उपचार चलिरहेको छ । यस्तै बुटवलका निजी अस्पताहरू पनि यो समस्याबाट ग्रसित भएका छन् । उपचारमा खटिने स्वास्थ्यकर्मी नै अस्पतनलमा भर्ना गर्नु परेपछि निकै समस्या आएको बुटवलको साझा हस्पिटलका निर्देशक गोविन्द खनालले बताए ।


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x